Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा ६० अर्ब तरलता प्रशोचन

राष्ट्र बैंकद्वारा ६० अर्ब तरलता प्रशोचन


काठमाडौँ । वित्तीय प्रणालीबाट चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा ६० अर्ब रुपैयाँ तरलता प्रशोचन भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड र निक्षेप संकलन उपकरणमार्फत ३१ अर्ब ६५ करोड गरी कुल ६० अर्ब तरलता प्रशोचन गरिएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत एक खर्ब नौ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत एक खर्ब ९३ अर्ब ७५ करोड गरी कुल तीन खर्ब तीन अर्ब २९ करोड तरलता प्रशोचन भएको राष्ट्र बैंकको भनाइ छ । समीक्षा अवधिमा रिपोमार्फत तीन खर्ब ९३ अर्ब ३७ करोड, सोझै खरिद उपकरणमार्फत ५५ अर्ब ९२ करोड र स्थायी तरलता सुविधामार्फत ४६ खर्ब २१ अर्ब ४८ करोड गरी कुल ५० खर्ब ७० अर्ब ७६ करोड तरलता प्रवाह गरिएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो आठ महिनामा विदेशी विनिमय बजार अर्थात् वाणिज्य बैंकहरुमा अमेरिकी डलर एक अर्ब २२ करोड खुद खरिद गरी एक खर्ब ४७ अर्ब १४ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ४३ करोड खुद खरिद गरी दुई खर्ब ८६ अर्ब ६८ करोड तरलता प्रवाह गरिएको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर तीन अर्ब १० करोड बिक्री गरी तीन खर्ब ७० अर्ब ६२ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर दुई अर्ब ८४ करोड बिक्री गरी तीन खर्ब ३४ अर्र्ब ६५ करोडबराबरको भारतीय रुपैयाँ खरिद भएको राष्ट्र बैंंकले जानकारी दिएको छ ।

कुल आन्तरिक कर्जा १० दशमलव पाँच प्रतिशतले वृद्धि
पछिल्लो समय कुल आन्तरिक कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा कुल आन्तरिक कर्जा १० दशमलव पाँच प्रतिशतले बढेको हो ।

अघिल्लो वर्र्षको सोही अवधिमा उक्त कर्जा १३ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ फागुन मसान्तमा यस्तो कर्जा २४ दशमलव तीन प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी १३ दशमलव नौ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १७ दशमलव पाँच प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ फागुन मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २२ दशमलव पाँच प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया