Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्वाचनस्थलमै निर्णय गर्न सक्ने अधिकारसहित आयोगले खटायो अनुगमन टोली

निर्वाचनस्थलमै निर्णय गर्न सक्ने अधिकारसहित आयोगले खटायो अनुगमन टोली


काठमाडौँ ।  यही ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि तुलनात्मक रुपमा बढी मतदाता भएका र सुरक्षालगायत दृष्टिले संवेदनशील मानिने विभिन्न जिल्लाका लागि निर्वाचन आयोगले केन्द्रीय अनुगमन टोली खटाएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ का दफा ५ प्रयोग गरी आयोगले नेपाल सरकारका विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न १७ जिल्लामा टोली खटाइएको हो । टोलीले उम्मेदवारको खर्चको सीमा, आचारसंहिताको पालना, मौन अवधिमा आचारसंहिताको पालना, पर्यवेक्षणका काम, निर्वाचनको विश्वसनीयता र स्वच्छता आदि विषयमा अनुगमनको जिम्मेवारी पाएको छ । उक्त दफामा आयोगले आयोगका पदाधिकारी वा कर्मचारी वा नेपाल सरकारका कर्मचारी वा प्रदेश सरकारका कर्मचारी वा विशेषज्ञसहितका टोली गठन गरी निर्वाचन प्रचारप्रसार, मतदान, मतगणना वा निर्वाचनसँग सम्बन्धित अन्य काम कारबाहीको अनुगमन गर्न वा गराउनसक्ने व्यवस्था गरिएको छ ।

खटाइएका टोलीलाई शनिबार कान्तिपथस्थित आयोगमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको व्यवस्थापकीय तयारी भइसकेकाले समग्र पक्ष र आचारसंहिताको कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नुपरेमा स्थलबाटै निर्णय गर्न सक्ने अख्तियारी टोलीलाई दिइएकाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय रुपमा सम्पन्न गर्ने सन्दर्भमा कुनै आग्रह—पूर्वाग्रह नराखी ऐन, कानुनबमोजिम प्रभावकारी अनुगमन गर्न निर्देशन दिए ।

प्रमुख आयुक्त थपलियाले आचारसंहिताविपरीत दल र उम्मेदवारले झण्डा, गाडी प्रयोग गरेमा, अनधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा कब्जामा लिएर तत्काल कारबाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउन पनि आग्रह गरे । स्वतन्त्र उम्मेदवारले अमुक दलको झण्डा प्रदर्शन गर्ने, एक उम्मेदवारलाई प्रयोग गर्न दिइएको गाडी अर्काे उम्मेदवारले प्रयोग गर्ने, मतदातालाई धम्की वा आश्वासनको प्रभावमा पार्ने काम पनि भइरहेकाले निर्ममतापूर्वक कारबाही गर्न पनि उनले निर्देशन दिए ।

जेठ ५ गतेभित्र गणना सकाइनुपर्ने
प्रमुख आयुक्त थपलियाले मतदाताको निर्बाध मत खसाल्न पाउने अधिकारलाई सुनिश्चित गर्नु आयोगको दायित्व भएकाले मतदान वा मतगणना बिथोल्ने प्रवृत्ति देखिएमा जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयलगायत निकायसँग समन्वय गरी स्थितिलाई सम्हाल्न टोलीलाई आग्रह गरे । उनले सबै पालिकाका जनप्रतिनिधिको कार्यकाल आउँदो जेठ ५ गते सम्पन्न हुने भएकाले सो अवधिभित्र मतगणना सम्पन्न गर्ने गरी आवश्यक जनशक्ति खटाइएकाले आयोगका कारणले गणनामा ढिलाइ हुन नहुने पनि स्पष्ट गरे ।

आयोगका आयुक्त एवं केन्द्रीय अनुगमन
समितिका संयोजक ईश्वरप्रसाद पौड्यालले ‘सानो तर स्मार्ट’ अनुगमन टोली खटाइएको बताउँदै कुनै दलले जित्ने वा हार्ने बहानामा गणना कार्य रोकाउन नहुने र तोकिएको समयमा कुनै दल र उम्मेदवारका प्रतिनिधि बस्न नआए पनि गणना प्रक्रिया सुरु गराउन आग्रह गरे । आयोगका योजना, अनुगमन तथा वैदेशिक समन्वय शाखाका उपसचिव कमल भट्टराईले खटाइएका टोलीका लागि तोकिएका जनशक्ति र आवश्यक स्रोत सामग्री उपलब्ध गराइएको र टोलीले तत्कालै स्थलमा पुगेर कार्य प्रारम्भ गर्ने जनाए ।

एक लाख ४५ हजार उम्मेदवार
निर्वाचन कार्यतालिकाअनुसार यही वैशाख ११ र १२ गते भएको मनोनयनपत्र दर्तामाथि जाँचबुझ, फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा भएपछि १७ गते निर्वाचन चिह्न प्रदान गरिएको थियो । कुल सात सय ५३ स्थानीय तहका ३५ हजार दुई सय २१ पदका लागि लागि एक लाख ४५ हजार १३ को उम्मेदवारी परेको छ । निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता छन् भने २१ हजार नौ सय ५५ मतदान केन्द्र र १० हजार सात सय ४३ मतदानस्थल तोकिएको छ ।

आचारसंहितामा कडाइ राजनीतिक दल तथा उम्मेदवारले निर्वाचनका बेला गर्न पाउने र नपाउने कार्य स्पष्टरूपमा निर्वाचन आयोगको आचारसंहितामा उल्लेख गरिएका छन् । आचारसंहिताविपरीत हुने गरी कुनै स्थानमा कुनै दलको झन्डा वा चिह्न राखिएको भए सम्बन्धित दलले तत्काल हटाउन, राजनीतिक दल वा उम्मेदवारबाट हुने कुनै पनि आमसभा, जुलुस, ¥याली भेला, बैठक, घरदैलो, उम्मेदवारी दर्ता कार्यक्रम आदिमा र निर्वाचन अधिकृतको अनुमतिमा उम्मेदवारले प्रयोग गर्ने सवारी साधनमा ३ बाइ ३ फिट साइजको दलको एउटा झन्डा र एउटा चुनाव चिह्न तथा उम्मेदवारको पहिचान खुलेको एफोर साइजको एक रङ्गमा छापिएको विवरणबाहेक अन्य कुनै सामग्री प्रयोग नगर्न÷नगराउन स्मरण गराउँदै उम्मेदवारी दर्ता भएपछि यस्ता चिह्न भेटिएमा उम्मेदवारले राखेको ठानी आचारसंहिताको उल्लंघन भएको कसुरमा दलको उम्मेदवारलाई कारबाही हुने भएकाले सचेत रहन आयोगले भनेको छ ।

जुलुस, आमसभा, ¥याली, बैठक आदिमा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले आचारसंहिताले तोकेकोभन्दा विपरीत हुने गरी सम्बन्धित दलको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाएमा वा झोला बोकेमा सम्बन्धित व्यक्ति नै कारबाहीको भागिदार हुने भएको हुँदा यस्तो कार्यबाट सजग रहन आयोगले सबै मतदातामा अनुरोध गरेको छ । रासस


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x