Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनयाँपन दिन देउवा सरकार असफल

नयाँपन दिन देउवा सरकार असफल


काठमाडौं । केपी ओली नेतृत्वको सरकारलाई सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासको परमादेशबाट विस्थापित गरेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको छ । यो एक वर्षमा देउवा नेतृत्वको सरकारले कुनै पनि नयाँपन दिनसकेको छैन । ओलीले संवैधानिक संरचना भत्काउन खोजेको जुन आरोप तत्कालीन पाँच दल र नागरिक समाजले लगाएको थियो त्यो संरचना भत्काउन ओलीभन्दा देउवा नेतृत्वको सरकार झनै अग्रसर देखिएको छ ।

एक वर्षका अवधिमा नयाँपन देखाउन देउवा नेतृत्वको सरकार पूर्णतः असफल देखिएको छ । अघिल्लो वर्षको तुलनामा देशमा वैदेशिक मुद्राको सञ्चिति घटेको मात्र छैन अर्थतन्त्रका सबै सूचकांक नकारात्मक दिशातर्फ केन्द्रित भएको छ । महंगी अत्यधिक वृद्धि हुँदा आमसर्वसाधारणको दैनिकी झनै कष्टकर बन्न पुगेको छ । किसानहरुले रासायनिक मलको चरम अभाव भोगिरहेका छन् । हिउँदे मात्र होइन वर्षेबालीका लागि पनि रासायनिक मलको चरम अभव हुन पुगेको छ । जनताले जति पैसा तिर्छु भन्दा पनि समयमा रासायनिक मल पाउनसकेका छैनन् । यसले सरकार देशमा छ वा छैन कसैले अनुभूत गर्न पाएका छैनन् ।

एक वर्षको अवधिमा जनजीविकाका विविध सवाल र विकास निर्माणमा आशातित सफलता हासिल हुन नसकेको कारण सरकारप्रति निराशा बढ्दो रुपमा छ । संविधान, संसद् र लोकतन्त्र जोगाउनभन्दा देउवा सरकार टिकाउनका लागि मात्र सक्रिय छन् । दुई–दुई पटक संसद् विघटन गरी संविधानको व्यवस्थामाथि नै खलल पुग्ने गरी तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गतिविधि गरेको भन्दै विभिन्न राजनीतिक दलहरू नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न तयार भएका थिए । सोही परिवेशमा गत असार २९ गते गठन भएको वर्तमान सरकारले एक वर्षमा कुनै महत्वपूर्ण काम गर्न सकेन ।

वर्तमान सरकारको गठनसँगै पूर्ववर्ती सरकारले निम्त्याएको राजनीतिक अस्थिरता झनै बढेको छ । सरकारको काम सत्ता टिकाउने बैठक र छलफल गर्नमै बढी खर्च भएको छ । कमिसन र राजस्वमा लुट देखिने गरी बजेटमार्फत नै यही देउवा नेतृत्वको सरकारको पालामा भएको छ ।

वर्तमान सरकार गठनसँगै सबै मुलुकसँग प्रगाढ सम्बन्ध बनाउन राष्ट्रिय हितमा आधारित परराष्ट्र नीति अवलम्बन गरिने घोषणा गरिए पनि यो बेला विदेशी चलखेल देशमा बढेको छ । एमसीसीको विषयलाई लिएर चीनले जसरी खुला रुपमा बोल्ने काम ग¥यो त्यसमा वर्तमान सरकार मौन बसेको छ भने चिनियाँ लगानी बढ्न दिएको छैन । चीन र भारतसँगको सम्बन्धलाई समदूरीमा अगाडि बढाउने काम वर्तमान सरकारले गर्न सकेको छैन ।

गरिबीको रेखामुनि रहेका जनतालाई अत्यावश्यक वस्तुहरू सुपथ मूल्यमा वितरण गर्न देउवा नेतृत्वको सरकार पूर्णतः असफल भएको छ । सङ्कटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात जस्ता क्षेत्र र श्रमजीवी, विपन्न, बेरोजगारलगायतको उत्थानका लागि वर्तमान सरकारले कुनै पहल गर्न सकेको छैन । यद्यपि क्यान्सर, मिर्र्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक पाँच हजार भत्ता प्रदान गर्ने निर्णय भने गरेर सरकारले जनभावनालाई सम्बोधन गर्ने प्रयास गरेको छ । यद्यपि यसका लागि पनि ओली सरकारले नै जग हालिदिएको थियो । यो सरकारले अतिविपन्न गरिब घरपरिवारलाई प्रतिघर परिवार १० हजारका दरले राहत दिने घोषणा गरे पनि त्यसको कार्यान्वयको पक्षमा कुनै वैज्ञानिक आधार छैन ।

देउवा सरकारको एक वर्षको अवधिमा राष्ट्रिय गौरवका आयोजनाहरूको गति सन्तोषजनक हुनसकेको छैन । काम भएका आयोजनाहरुमा पनि भुक्तानीको समस्या देखिएको छ । सम्भावित लगानीका क्षेत्रहरु पहिचान गरी निर्यातलाई बढाउने गरी परियोजनाहरू अघि बढाउने रणनीति तय गर्ने भनिए पनि निर्यातको अवस्था थप दयनीय बनेको छ । एक वर्षको अवधिमा वर्तमान सरकारले स्वदेशी र विदेशी लगानीकर्तालाई लगानीमा प्रोत्साहन गर्न स्वागत र सम्मानको कार्यक्रमबाहेक ठोस कुनै काम गरेको छेन । जलविद्युत् र पर्यटनजस्ता क्षेत्रमा लगानी बढाउने गरी नीति तथा कार्यक्रम अघि बढाउन कुनै काम गर्न सकेन ।

लगानीमैत्री वातावरणको सिर्जना गरी निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम गर्ने भने पनि त्यसमा कुनै प्रगति हुन सकेन । कोभिडको मारमा परेका उद्योगी–व्यवसायीलाई राहत प्याकेज प्रदान गर्न सरकार पूर्णतः असफल भएको छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x