Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारगुठीयारकै मिलेमतोमा दुई सय वर्ष पुरानो ऐतिहासिक हनुमान घर बेचियो

गुठीयारकै मिलेमतोमा दुई सय वर्ष पुरानो ऐतिहासिक हनुमान घर बेचियो

ठेकेदारले केही लाख रुपैयाँमा नै हत्याए तीन करोड बढीको सम्पत्ति


ललितपुर, प्राचीन र ऐतिहासिक वस्तुहरु भनेको राज्यको पहिचानहरु हुन् । यी पहिचानहरु कुनै पनि हालतमा कहीँ कतै, कसैबाट पनि बेचिनुहुँदैन, यसलाई नष्ट गरिनुहुुँदैन । किनकि यस्ता प्राचीन धरोहरलाई नष्ट गर्नु भनेको एउटा सिंगो इतिहास नामेट पार्नु हो ।

तर ललितपुरको कुपण्डोलमा भने झण्डै दुई सय वर्ष पुरानो ऐतिहासिक हनुमान घर बेचिएको छ । केही गुठीयारहरुले ऐतिहासिक महत्वको उक्त हनुमान घर बेचेको आरोप पीडितहरुले लगाएका छन् ।

उक्त हनुमान घरको कथा निकै पुरानो छ । राजधानीको प्रमुख केन्द्र काठमाडौं र ललितपुरबीचको सिमाना जोड्ने वाग्मती पुलको किनारामा दुई सय वर्षअगाडि अर्थात् नेपालमा पृथ्वीनारायण शाहले विजय झण्डा गाडेर बृहत् नेपाल एकीकरण गरेको वि.सं. १८२५ मा पाटनको मल्ल राजा इन्द्रजीत मल्लले देवीदास अमात्य नामको अमात्य परिवारलाई चार सय रोपनी जग्गा बिर्ता बक्सिस दिएर स्थापित गरेका थिए ।

यिनै देवीदासमा चार छोराहरु मिलेर बाग्मतीको किनारामा श्री हुनमन्तेश्वर महादेवको वैदिक रीतिअनुसार अनुष्ठान गरी शिवालयको स्थापना गरेका थिए, जहाँ पूर्वी मोहोडामा एक हनुमानको मूर्ति पनि स्थापना गरियो । यो हनुमानको हनुमन्तेश्वर महादेवको नामकरण गरी विधिवत् वैदिक नियमअनुसार पूजापर्वहरु सञ्चालन गरे ।

हनुमानको बगलमा मल्लकालीन समयको काष्ठकलाको कृतिहरुबाट कोरिएका कलात्मक झ्याल ढोकाहरु समेत राखेर एक पक्की घर निर्माण गरियो । करिब आधा रोपनी जग्गामा बनाइएको शिवालय मन्दिर र दुई आना तीन पैसामा निर्मित उक्त हनुमान गुठीघरमा यही मन्दिरको पूजापाठ र वर्षभरिका पर्वहरु मनाइँदै आएका थिए ।

घरको सम्पत्तिमा आँखा गाडेर देवीदासका माइला छोरा भाजुधनका सन्तानहरुले अहिले विभिन्न षड्यन्त्र गरी जिल्ला प्रशासन समेतको सहयोग लिएर पुरानो गुठीघर भत्काई नयाँ सपिङ मल बनाइयो । यसको पुरानो ऐतिहासिक सम्पत्ति सबै वि.सं. २०७१ देखि नै केही गुठीयारहरुले बेचेर खाएको आशंका गरिएको छ ।

न्यायको खोजीमा पीडित जनता
ललितपुर, पछिल्लो समय न्याय क्षेत्र निकै विवादित बनिरहेको छ । न्याय आम नागरिकको पहुँचभन्दा निकै टाढा पुगेको अनुभूति आम नागरिकहरुमा हुने गरेको छ । न्याय क्षेत्रमा पछिल्लो समय देखिएको बेथितिले त यसलाई झनै उजागर गरेको छ ।

न्याय क्षेत्रमा यस्ता बेथिति देखिँदा केही सामाजिक दायित्व बोकेका पेशाकर्मीहरुले न्यायाधीशहरुविरुद्ध प्रधानन्यायाधीशलाई महाअभियोग लगाएर संसदीय समितिमा राष्ट्रिय मुद्दाको विषय समेत बनाइएको छ । छानबिन समिति गठन गरेर प्रधानन्यायाधीशविरुद्ध गम्भीर प्रश्नहरु उठाइयो । न्यायमूर्तिहरुले भ्रष्टाचारलाई बढावा दिएको, संविधानविपरीत न्याय प्रशासन सञ्चालन गरेको, न्यायाधीश एवं प्रधानन्यायधीशले आफ्ना पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको कुरा स्पष्ट पारेको छ ।

यस प्रकारको न्याय प्रणालीमा आएको विकृतिले सामाजिक क्षेत्रमा के कस्तो प्रभाव परिरहेको छ, यसको एक ज्वलन्त उदाहरण पनि पाटन जिल्ला अदालतमा चलिरहेको धर्मलोप एवं करार भंग मुद्दा हो । गुठीयार वाशुदेव अमात्यले नरेशलाल अमात्य, देवेशचन्द्र अमात्य, अमरनाथ अमात्य र किशोरनाथ अमात्य समेतलाई प्रतिपक्षी बनाएर हालेको उक्त मुद्दा अहिले पनि अदालतमा चलिरहेको छ । पाटन अदालतको मेलमिलाप केन्द्रमा यस विषयमा छलफल चलिरहेको छ ।

करार भंग एवं धर्म लोपसम्बन्धी उक्त मुद्दामा यस्तो छ लिखित बहस नोट

No description available.
ललितपुर जिल्ला अदालतमा ललितपुर महानगरपालिका वडा नं १० बस्ने वासुदेव अमात्यले सरिता राजभण्डारी समेतको नाउँमा करार भंग एवं धर्मलोपसम्बन्धी मुद्दा दायर गरेका छन् । सोही मुद्दाको लिखित बहस नोटमा यस्तो भनिएको छ,

१) उपर्युक्त पक्ष÷विपक्ष भएको उक्त मुद्दा यस सम्मानित अदालतमा दायर भई हाल विचाराधीन रहेकोमा अमात्य निजी गुठीयारको धर्मलोपसम्बन्धी मुद्दामा म यसै गुठीको जीवित एवं ज्येष्ठ सदस्यको हैसियतले यहाँ धर्मलोप कार्यमा जघन्य आपराधिक कार्य भइरहेको छ । जुन स्पष्ट उजागर भएर अगाडि आउनसकेको छैन ।

सोको संक्षित जानकारी गराउन यहाँ उपस्थित भएको छु । यो धर्मलोप मुद्दा यही पाँच, सात वर्षको मुद्दा होइन । यो मुुद्दा यसै अदालतमा २०३२ सालदेखि निरन्तर चलिरहेको छ । यो अदालतको महान् यात्रामा निरन्तरता दिने एक मात्र वरिष्ठ अधिवक्ता श्री कृष्ण भण्डारीले विगत ४० वर्षदेखि यो धर्मलोपमा बहस गर्दै आउनुभएको छ । यो बहस उहाँकै प्रतिनिधि अधिवक्ताज्यूहरुबाट गरिरहनुभएको छ ।

२) धर्मलोपको प्रथम सुरुबाट हाम्रा प्रथम पुर्खा देवीदास अमात्यको ज्येष्ठ पुत्र हनुमन्त सिंहका पुत्रबाट भयो । हनुमन्त सिंहका पाँचौँ पुस्ताका नाति सुचेत अमात्यका छोरो वंशमान अमात्य र मुनका छोराहरुबाट भएको हो । वंशमान अमात्यले यो गुठीयारलाई निजी घरको रुपमा उपयोग गर्दै आउनुभएको थियो ।

वि.सं. २०३५ सालतिर यो गुठीघर तीन भागमा बाँडी तीन जना बुहारीको नाउँमा फार्छे गरिदिनुभयो । यसरी हनुमन्त सिंहको परिवारले निजी प्रयोजनको लागि घर भोग गरेको हुँदा हनुमन्त सिंहको माहिला छोरा भाजुधन र साहिल सदासिव अमात्यका सन्तानहरुले विरोध गरे ।

वि.सं. २०३६ सालमा लिखित बदरमा यो मुद्दा यसै अदालतमा दायर भयो । मुद्दा दायर गर्नेहरु भाजुधन र सदाशिवदासका परिवारका थिए । यो मुद्दाको पहिलो बहस वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीले गर्नुभएको थियो ।

३) उहाँले यो मुद्दामा उक्त घर निजीको घर हो कि कहीँ कतैबाट छुटेको छैन । त्यसकारण लिखित बदर गर्नुपर्ने होइन । यो निजी घरको वंशमान अमात्यले स्व. विवेकले भोगचलन गर्न पाउँछ भन्ने थियो ।

४) उहाँको विपक्षमा विद्वान् अधिवक्ता हरिहर दाहालज्यूले यो चार दाजुभाइहरुले संयुक्तरुपमा स्थापना गरेर सम्पत्ति भएकोेले यो एक्लैले एकलौटी दाबी गरेर भोग गर्न पाउँदैन भनी बहस गर्नुभयो र हरिहर दाहालले गुठी घर हो भनी जिकिर गर्नुभयो ।

प्रस्तुत मुद्दा हरिहर दाहालकै जिकिरमा आधारित भई फैसला भयो । वंशमानको परिवारले मुद्दा हारे । त्यतिबेलादेखि एकपछि अर्को हुँदै सो गुठीयारको मुद्दा आजसम्म पनि चलिरहेको छ । यो बहस आजसम्म पनि टुंगो लाग्नसकेको छैन ।

५) अमात्य निजी गुठी घर साझा सम्पत्ति हो । अदालतले नै ठहर गरी लालपुर्जा संयुक्त सदस्यहरुको नाउँमा दिए पनि यो मुद्दा टुंगो लागिसकेकै अवस्था छ तर पनि गुठीयारका बदनियत भएका केही सदस्यहरुको संकुचित मन भएको कारण यो गुठीघर सदैव मुद्दामा फसिरहेको छ ।

६) हाल उक्त गुठी घर भवनमा परिवर्तन भइसकेको छ । महिनामा चार, पाँच लाख बहाल उठिरहेको छ तर पनि संकुचित मन भएका गुठीयारहरुका कारण दाजुभाइ आपसमा टाउको फुटाएर लडिरहेका छन् । यसको फाइदा ठेकेदारले उठाइरहेको छ ।

७) वि.सं. २०६९ सालमा यो घर भवन निर्माण गर्ने कार्यमा गुठीयारहरु लागे । एउटा ठेकेदारलाई समातेर २५ वर्षको लिज करार गरे । ठेकेदारले महिनामा ३३ हजार रुपैयाँ बहाल बुझाउने गरी २५ वर्षसम्म भोगचलन गर्न पाउने गरी करार पत्र बनाइदिए ।

आज यो मुद्दाको कारण त्यही करार पत्र भएको छ । धर्म लोपको कारण पनि त्यही करार पत्र भएको छ । पाँच, छ लाख बहाल उठ्ने घरलाई महिनामा ३३ हजार लिएर २५ वर्षसम्मको लागि लिजमा दिनु नै सुस्त मनस्थितिको परिचय हो तर देखाइने करार मात्र थियो । नदेखिने करार प्रत्यक्ष सदस्यहरुले महिनामा १०, १० हजार पाउने गरी देखावटी निरन्तरता दिने नाटक गरिएको हो ।

८) यसले साझा सम्पत्तिको नोक्सान र व्यक्तिगत फाइदा उठाइरहेको छ । यो गुठी घर शोषण र अन्य हो । गुठी घरका गुठीयारहरुले पैसामुनि दबेको हुनाले गुठीयारहरुबाट संकलित भईरहनु पर्ने मिटिङ, वार्षिक पर्वपूजाहरु केही पनि भएको छैन ।

यो कार्यले वि.सं. २०७१ साल यतादेखि पूजापाठ नहुँदा धर्मलोपकै अवस्थामा आइपुगेको छ । गुठीयारहरु सबै यसमा मौन छन् । ठेकेदारले वर्तमान गुठीयारहरुलाई २५ वर्षभित्र लाखापाखा पारी दुई आना तीन पैसामा बनेको गुठीघर प्रत्येक गुठीयारलाई ५० हजार रुपैयाँ दिएर करार पत्रमा घर निर्माण गराउने सम्झौता गरी पाँच लाख रुपैयाँमा तीन करोडको सम्पत्ति आफ्नै नाउँमा लिइसकेको अवस्था छ ।

९) तसर्थ म बहस नोट प्रस्तुतकर्ता निम्नबमोजिमको जिकिर प्रस्तुत गर्दछु ।

क) यी बदनियत भएका केही गुठीयारहरु गुठीघरबाट निष्काशन गरिपाऊँ ।
ख) बदनियत गराइएको करारपत्र रद्द गरिपाऊँ ।
ग) ठेकेदारले गुठीयार मिटिङ गर्न र अन्य कार्य गर्न कोठा दिने करार गर्नुभएको हो । ठेकेदारले त्यो कोठा नदिएकोले वि.सं. २०७१ सालदेखि गुठीको नियमित पर्व पूजा र बैठक बस्ने कार्य स्थगित छ ।

अन्य, म ज्येष्ठ संस्थापक गुठीयार हुँ । विधानअनुरुप म नै गुठीको प्रत्यक्ष हकदार हुँ । अरु छैन । गुठीयारको निर्वतमान अध्यक्ष विक्रमलाल अमात्यले वि.सं. २०७१ सालमा मलाई गुठी सञ्चालन गर्न आदेश पत्र दिएर जानुभएको छ । सो गुठीयारहरुले कार्यान्वयनमा बाधा पु¥याइरहेको छ । मिति २०७१ सालदेखि गुठीको परम्परागत पूजा प्रार्थनाको निरन्तरता दिनुपर्छ भनी सो कार्य सञ्चालन गर्न एक पुजारी गुरुलाई अनुरोध गरी गुठीघरको नित्य कार्य मैले गराइरहेको छु । गुरुको पारिश्रमिकस्वरुप नित्य कार्य गरिरहनुभएकोले गुठीबाट केही पारिश्रमिक व्यवस्था गर्नुपर्नेछ ।

त्यो गुठीबाट हुनसकेको छैन । यस विषयमा तथ्य सत्य बुझ्न साक्षी झिकाई प्रमाण पुर्पक्ष गरिपाऊँ । मैले गर्दै आएको पर्व पूजा आदि भिडियो टेप प्रस्तुत गर्दछु ।
१०) यसमा लेखिएको व्यहोरा ठीक साँचो हो, फरक ठहरे कानुनबमोजिम सहुँला बुझाउँला ।
बहस नोट प्रस्तुतकर्ता
निज वासुदेव अमात्य
इति २०७९ साल भाद्र महिना १२ गते रोज १ शुभम्……………

यस्तो छ गुठी सञ्चालनका लागि विक्रमलाल अमात्यले दिएको पत्र

No description available.

लिखितम्, यसै सरहद ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिका वडा नं १० कुपण्डोलस्थित अमात्य निजी गुठीका सदस्य ए.ेऐ बस्ने वासुदेव अमात्यबाट मिति २०६९ साल वैशाखदेखि वि.सं. २०७० चैत मसान्तसम्मको अमात्य निजी गुठीघरबाट प्राप्त भएको आम्दानी र खर्चको हरहिसाब यस निजीका अध्यक्ष म श्री विक्रमलाल अमात्यले गुठीयारहरुको तर्फबाट हरहिसाब बुझिलिएँ र उक्त हिसाबकिताब यस गुठीको सञ्चालक समितिको बैठकमा पेस गरी अनुमोदन गराउने तथा आजका मिति उप्रान्त यसअघिका तपाईं वासुदेव अमात्यसँगको विवाद वा मनोमालिन्य र अन्य कुनै प्रकारको आपसी विवाद आजैको मितिबाट पूर्णरुपमा समाप्त भइसकेकोले यस गुठीको कुनै पनि सदस्यहरुले यसअघिको विवाद र कुराहरुलाई लिएर यस उप्रान्त तपाईं वासुदेव अमात्यलाई गुठीघर सम्बन्धमा ललितपुर उपमहानगरपालिकामा दिएका ललितपुर जिल्ला अदालतमा दिएका फिराज वा हरहिसाबको विषयमा कुनै पनि प्रकारको उजुरबाजुर वा रिस, राग, द्वेष तथा मुद्दा मामिला नगर्ने, गरे भएमा वा सो विषयलाई लिएर विवाद खडा गरेको खण्डमा यसै कागजातबाट बदर गरिलिनु भनी साथै यस गुठी व्यवस्थित र सुचारु रुपले सञ्चालन गर्न समय–समयमा गुठीयार सदस्यहरुको ज्येष्ठता र योग्यताको आधारमा अध्यक्षलगायतका पदाधिकारीसहितको कार्यसमिति गठन गरी मर्यादितरुपमा सञ्चालन गरिने कुरामा पूर्ण मञ्जुर गर्दछौँ भनी यस गुठीघरको अध्यक्षको हैसियतले साथै गुठीका सम्पूर्ण सदस्यहरुको तर्फबाट समेत यो कागज लेखी हरहिसाब समेत बुझिलिएँ भनी यो कागज लेखी लेखाई तपाईं वासुदेव अमात्यलाई दिएँ ।

इति सम्वत् २०७१ साल असार महिनाको ३ गते रोज ३ शुभम्……………
विक्रमलाल अमात्य


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x