Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारराष्ट्र बैंकद्वारा स्थायी तरलता सुविधाको भुक्तानी व्यवस्था संशोधन

राष्ट्र बैंकद्वारा स्थायी तरलता सुविधाको भुक्तानी व्यवस्था संशोधन

दशैंको पूर्वसन्ध्यामा तरलता अभाव नियन्त्रणमा राख्न ३० अर्बको रिपो


काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधाको भुक्तानीसम्बन्धी व्यवस्थामा संशोधन गरेको छ । राष्ट्र बैंकले बिहीबार सुरक्षणपत्र धितो कारोबारसम्बन्धी सम्झौता गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दै भुक्तानीसम्बन्धी व्यवस्थामा संशोधन गरेको जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार स्थायी तरलता सुविधाको अधिकतम भुक्तानी समयावधि सात दिन मात्र कायम छ । तर कथंकदाचित् सात दिन वा सोभन्दा बढी अवधिको सार्वजनिक विदा परेको अवस्थामा यस्तो अवधि विदापश्चात् कार्यालय खुल्ने दिनसम्म कायम गर्न बाधा पुगेको नमानिने संशोधित व्यवस्थामा भनिएको छ ।

नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि २०७८ को परिच्छेद –१५ स्थायी तरलता सुविधासम्बन्धी व्यवस्थाको बुँदा नं. ४९ (६) मा संशोधन गर्दै सुरक्षण धितोपत्र कारोबारसम्बन्धी सम्झौता गरी स्थायी तरलता सुविधा उपभोग गर्नयोग्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुको लागि कार्यान्वयनमा आउने गरी व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैबीच राष्ट्र बैंकले बिहीबार नै ३० अर्ब रुपैयाँबराबरको रिपो जारी गरेको छ । रिपो त्यस्तो मौद्रिक उपकरण हो, जुन बजारमा लगानीयोग्य रकमको अभाव देखिएको अवस्थामा राष्ट्र बैंकले यसअघि आफैँले बिक्री गरेका विभिन्न किसिमका मौद्रिक उपकरणहरु आफैँले खरिद गरेर बजारमा लगानीयोग्य रकम पठाउने गर्छ ।

विशेष गरी चाडपर्वको समयमा लामो अवधिको विदा हुने हुँदा बजारमा लगानीयोग्य रकमको अभाव नहोस्, भुक्तानी सन्तुलनमा समस्या नहोस् भनेर राष्ट्र बैंकले बिहीबार ३० अर्ब रुपैयाँको रिपो जारी गरी वित्तीय प्रणालीमा लगानीयोग्य रकम पठाएको हो ।

रिपो खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले बोलकबोल पेस गरेका थिए । परिपक्व हुने अवधि १४ दिन अर्थात् यही असोज २७ गते तोकिएको यो रिपो जारी गर्नुको मुख्य उद्देश्य नै तरलता अभावको समस्यालाई नियन्त्रणमा राखी वित्तीय सन्तुलन बिग्रिन नदिनु रहेको राष्ट्र बैंकको भनाइ छ । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया