Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघुस दिएको भौचर पेश गर्दा पनि इन्कारी बयानको आधारमा विशेष अदालतबाट सफाइ

घुस दिएको भौचर पेश गर्दा पनि इन्कारी बयानको आधारमा विशेष अदालतबाट सफाइ


काठमाडौँ । विशेष अदालत काठमाडौंले भ्रष्टाचारका मुद्दामा आरोपीको इन्कारी बयानलाई मात्र मुख्य आधार मान्दै धमाधम सफाइ दिएको सार्वजनिक भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मितिमा दर्ता गरेका भ्रष्टाचार मुद्दामा घुस दिएको भौचर पेश गरेको मात्र होइन घुस लिने/दिने काममा मोबाइलको एसएमएस म्यानेजहरु प्रमाणको रुपमा पेश गर्दा पनि आरोपीले इन्कारी बयान दिएको आधारमा मात्र सफाइ दिएको भन्दै केही सफाइका मुद्दाविरुद्ध अख्तियारले आइतबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

सेवाग्राहीबाट घुस/रिसवत लिई भ्रष्टाचार गरेको प्रमाणसहित अख्तियारले विशेष अदालत काठमाडौंमा दायर गरेको लालु गिरीको मुद्दामा विशेष अदालतले भ्रष्टाचार हुनका लागि अनुचित लाभ माग गरेको र स्वीकार गरेको पुष्टि हुनुपर्नेमा त्यो नभएको कारण सफाइ दिएको उल्लेख गरेको छ । सेवाग्राहीसँग १८ लाख ५० हजार घुस लिएको मुद्दामा इन्कारी बयानकै आधारमा विशेष अदालतले गिरीलाई गत जेठ २७ गते सफाइ दिएको थियो । देवजंग शाहीले नै लालु गिरीलाई घुस रिसवतबापतको उक्त १८ लाख ५० हजार रुपैयाँ दिएका हुन् भनी रकम दिएको भौचरहरु प्रमाणस्वरुप संलग्न गरी अख्तियारमा उजुरी निवेदन दिएका थिए । उनले उजुरी निवेदन सनाखत गर्नुको साथै मौकामा आयोगसमक्ष समेत उजुरी निवेदन र आरोप मागदाबी समर्थन हुने गरी बयान गरेका थिए । सो रकम जम्मा गरिदिनेहरुले समेत उजुरीको समर्थन गर्दै बकपत्र पनि गरेका थिए । त्यस्तो मुद्दामा समेत भ्रष्टाचारको मुद्दा हेर्ने विशेष अदालतले सफाइ दिएपछि अख्तियारले सर्वोच्चमा फैसला उपर पुनरावेदन गरेको हो ।

साथै विशेषले बेसरोकारका व्यक्तिहरुबीच भएको लेनदेन, कारोबार प्रतिवादी गिरीविरुद्ध प्रमाणमा ग्राह्य हुन नसक्ने, काम सम्पन्न भइसकेपछि घुस दिनुपर्ने प्रयोजन नहुने भएकाले आरोपदाबीमा भनेजस्तो भुक्तानी दिनको लागि अप्ठ्यारो पारिदिने, अनिष्ट गरिदिने भनी घुस माग गरेको र लिएको भन्ने अवस्था पत्यारलाग्दो देखिँदैन भन्दै उक्त घुस प्रकरणमा सफाइ दिएको थियो ।

त्यस्तै, विशेषले गिरीलाई घुस रकम दिने देवजंग शाहीलाई पनि सफाइ दिएको थियो । शाहीले सेवाग्राहीबाट रकम लिएर गिरीलाई उपलब्ध गराएका थिए । सो रकमको भौचरसमेत शाहीले अख्तियारलाई दिए पनि उनलाई पनि आरोपदाबीबाट विशेष अदालतले सफाइ दिएको थियो । जब घुस रकम आफूले गिरीको खातामा जम्मा गरिएको हो भनेर शाहीले भौचरसमेत अख्तियारलाई दिएको छ भने उसलाई आरोपदाबीबाट सफाइ दिनुपर्ने कुनै कारण नै नभएको अख्तियारले सर्वोच्चमा गरेको पुनरावेदनमा उल्लेख छ ।

सिकन्दर प्रसाद कानुलाई पनि विशेष अदालतले आरोपदाबीबाट सफाइ दिएको विषयमा पनि अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको छ । यस्तै, प्राडा राजकुमार रौनियार र रामहरि रौनियारको भ्रष्टाचार मुद्दामा पनि उनीहरुले इन्कारी बयान दिएकै कारण देखाई विशेषले उनीहरुलाई सफाइ दिएको थियो । सो सफाइविरुद्ध पनि अख्तियारले सर्वोच्चमा मुद्दा दायर गरेको छ ।

उनीहरुले लिएको आठ लाख रकम अख्तियारको टोलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको निवासबाट बरामद गरेको थियो । तर, विशेषले बरामद गरिएको रकम राजकुमार रौनियारको साथबाट बरामद गरिएको होइन भन्दै सफाइ दिएको थियो । यद्यपि बरामद गरिएको स्थान भने उनको निवास नै हो । अख्तियारले उक्त घुस प्रकरणमा सीडी रेकर्ड पनि पेश गरेकामा त्यसलाई प्रमाण मान्न सकिएन भनेर विशेषले भनेको छ । तर, उनीहरुले पटक–पटक गरी थप एक करोड २८ लाख पनि घुस लिएको अख्तियारको दाबी थियो । अख्तियारले विशेषमा पेश गरेको मुद्दामा प्रतिवादीले घुस लिएको स्वीकार गरेको सप्रमाण पेश गरेको थियो । तर, सो मुद्दामा पनि आफूलाई विशेषले हराइदिएपछि अख्तियार सर्वोच्चमा गएको हो ।

यस्तै, रामविश्वास राय यादव, सरोज कुमार यादव, धनबहादुर तामाङ्ग र रामान्द चौधरीको घुस/रिसवत मुद्दामा इन्कारी बयान दिएको तथा विस्ना कुमारी साउदले झुट्टा विवरण पेश गरी जागिर खाएको स्वीकार गरे पनि भ्रममा परेर त्यसरी जागिर खाएको भन्दै विशेषले सफाइ दिएको कारण ती मुद्दाविरुद्ध पनि अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया