Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकर्णाली प्रदेशदलित अधिकारसम्बन्धीको विधेयक पास गर्न दबाब

दलित अधिकारसम्बन्धीको विधेयक पास गर्न दबाब


सुर्खेत (भेरीगङ्गा) । अघिल्लो कर्णाली प्रदेशसभा बैठकमा पेस भएको दलित अधिकार प्रवर्द्धनसम्बन्धीको विधेयकलाई छिट्टै पास गरेर लागू गर्न दबाब दिइएको छ । प्रदेशसभामा दलित समुदायबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले उक्त विधेयक चाँडो पास गर्न दबाब दिएको हो ।

प्रदेश सरकारले यो विधेयक अहिलेसम्म थन्क्याएर राखेको भन्दै उनीहरुले छिटोभन्दा छिटो विधेयक प्रदेशसभाबाट पास गरी लागू गर्नुपर्नेमा जोड दिएको छ । हुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य रनसिंह परियारले सरकारले विधेयकलाई थप परिमार्जन गरी ल्याए पनि विधेयकमा थुप्रै बुँदा छुटेका भन्दै कर्णालीका दलित समुदायको मागअनुसार विधेयक आउनुपर्ने बताए ।

कर्णालीमा जम्मा जनसङ्ख्याको २५ प्रतिशतभन्दा धेरै दलित समुदायको जनसङ्ख्या छ । उनले भने, “दलित अधिकारका लागि यो विधेयक महत्वपूर्ण छ, तथापि केही विषय थप गर्नुपर्ने मैले देखेको छु ।” विधेयकका थुप्रै बुँदा काँटछाँट गरिएको भन्दै विधेयक मात्रै ल्याएर नहुने उनीहरुको भनाइ छ ।

दैलेखबाट निर्वाचित प्रदेशसभा सदस्य गमता विकले पनि आफूले दलित विधेयक कार्यान्वयनका लागि सभामा सशक्त भूमीका निर्वाह गर्ने राससलाई बताए । “विगतको सभाले टेबुल गरेको दलित अधिकारसम्बन्धी विधेयक पास हुन सकेको थिएन, यो सभामा मैले त्यसमा छुटेका कुरा थप गर्न आवाज उठाउने छु”, उनले भने ।

यस्तै सल्यानबाट निर्वाचित प्रदेशसभा सदस्य लक्ष्मी सुनारले आफूले विधेयकमार्फत दलित समुदायको विकास, समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितताका लागि सभामा पहल गर्ने बताए । कर्णालीमा जातीय विभेद र छुवाछूत नियन्त्रण गर्दै प्रदेशमा बसोबास गर्ने दलित समुदायलाई निःशुल्क शिक्षा, स्वास्थ्योपचार र अधिकार दिन आवश्यक भएकाले विधेयक त्यो ल्याइएको छ ।

छुवाछूत तथा जातीय भेदभावले सिर्जना गरेका अन्याय, अत्याचार, जातीय हिंसा र असमानताको अन्त्य गर्दै दलितको मौलिक हक र सामाजिक न्यायको सुनिश्चितता गर्ने उद्देश्यले प्रदेश सरकारले विधेयक ल्याएको हो । दलित सशक्तीकरणसम्बन्धी विधेयक अघिल्लो प्रदेशसभामा पेस भए पनि पारित हुन सकेको थिएन ।


क्याटेगोरी : प्रदेश समाचार, कर्णाली प्रदेश, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x