Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२५ लाखको छात्रवृत्ति अक्षय कोष स्थापना

२५ लाखको छात्रवृत्ति अक्षय कोष स्थापना


काठमाडौं । भक्तविर सिंह तुलाधर फाउन्डेसनले २५ लाख रुपैयाँबराबरको ‘नेपाल प्रहरी–भक्तविर सिंह तुलाधर फाउन्डेसन छात्रवृत्ति अक्षय कोष’ स्थापना गरेको छ । नेपाल प्रहरी र फाउन्डेसनबीच छात्रवृत्ति अक्षय कोष स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी सम्झौता भएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले यो सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको कार्यदक्षता र मनोबलमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । आगामी दिनमा समेत नेपाल प्रहरी र फाउन्डेसनबीच आपसी सहयोग आदानप्रदान हुने उनले उल्लेख गरे । कार्यक्रममा फाउन्डेसनका अध्यक्ष तुलाधरले आगामी दिनमा समेत नेपाल प्रहरीसँगको सहकार्यलाई निरन्तरता दिन बताए ।

सम्झौताअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले तोकेको नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने प्रहरी कर्मचारीका सन्ततीहरूमध्ये कम्तीमा २ जनालाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेसनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध हुनेछ । छात्रवृत्ति प्रदान गर्नको लागि कम्तीमा २५ लाख रुपैयाँ भक्तविर सिंह तुलाधर फाउन्डेसनले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी– भक्तविर सिंह तुलाधर फाउन्डेसन छात्रवृत्ति अक्षय कोष’को स्थापना गर्ने र उक्त खाता सञ्चालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ ।

आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुनेछ । यस्तै पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई वृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतिमा समस्या समाधान गरिने सम्झौतापत्रमा उल्लेख गरिएको छ । उक्त समझदारीपत्रमा प्रहरीप्रधान कार्यालय कल्याण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र फाउन्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले हस्ताक्षर गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #page 13

तपाईको प्रतिक्रिया