१८ गतेदेखि रसुवागढी–केरुङ नाकाबाट दुईतर्फी व्यापार र मानव आवतजावत खुल्ने
काठमाडौं । नेपाल र चीनबीच द्विदेशीय प्रमुख नाका रसुवागढी–केरुङ पूर्णरुपमा खोल्ने सहमति भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा बुधबार भएको सचिवस्तरीय नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्र बैठकमा रसुवागढी/केरुङ नाकाबाट दुईतर्फी व्यापार र जनताको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको हो ।
नेपाल–चीन संयन्त्रको यो पहिलो बैठक हो । ल्हासामा रहेको नेपाली महावाणिज्य दूतावासका अनुसार उक्त नाका चैत १८ बाट पूर्णरुपमा सञ्चालन गरिनेछ ।
यसैगरी तातोपानी/झाङ्मु हुँदै दुईतर्फी व्यापार र यारी–पुलाङबाट मानव आवागमन सन् २०२३ मे १ (२०८० वैशाख १८ गते) देखि सुचारु गर्ने सहमति पनि भएको छ ।
संयन्त्रको बैठकमा नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।
बैठकमा सीमापार व्यापार र जनताबीचको आवतजावतलाई अधिकतमस्तरमा सुचारु गर्ने र भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधार, सीमा व्यापार र सहकार्यमा सहयोगको नयाँ बाटो खोज्नेलगायत विषयमा छलफल भएको थियो ।
नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपाल–चीन सीमामा बहुआयामिक प्रयोगशाला स्थापना गर्न विचार गर्न सहमत भएको छ । नेपालले सीमापार विशेष आर्थिक क्षेत्र निर्माण गर्ने र नेचुङ–लिजी सीमा बन्दरगाहमा नेपाल क्षेत्रमा पूर्वाधार निर्माण गर्न प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रस्तावलाई पनि चीनले स्वागत गरेको छ । चिनियाँ पक्षले नेपाल–चीन सीमामा मौसमी सीमा व्यापार नाका खोल्ने आश्वासनसमेत दिएको महावाणिज्यदूतावासले जनाएको छ ।
दुई देशबीचको घनिष्ठ आर्थिक र व्यापारिक सम्बन्धको महत्त्वलाई स्वीकार गर्दै दुवै प्रतिनिधिमण्डलले चीनमा ‘सिट्रस’ फलफूल, ‘ड्राइ मिट’ र औषधिजन्य जडीबुटीजस्ता कृषि तथा पशुजन्य उत्पादनको निर्यातलगायतका क्षेत्रमा सम्भावित सहयोगबारे विचार आदानप्रदान गरेका थिए ।
सचिव मरासिनीले काठमाडौँ–ल्हासा सिधा उडानको आवश्यकतामा जोड दिँदै चिनियाँ पक्षलाई चाँडै नै सिधा उडान सुचारु गर्न आग्रह गरेका थिए । दुवै पक्षले नेपालको उत्तरी हिमाली क्षेत्रका सीमावर्ती जिल्लामा बसोबास गर्ने मानिसको जीवनस्तरमा सुधार ल्याउन सहयोगको स्तर अभिवृद्धि गर्नुपर्ने आवश्यकतालाई पनि जोड दिएका छन् । चिनियाँ पक्षले नेपालमा उत्पादन, कृषि र तयारी पोसाकजस्ता विभिन्न क्षेत्रमा लगानी गर्न आफ्ना व्यवसायी समुदायलाई प्रोत्साहन गर्न पनि सहमत भएको छ ।
कोभिड–१९ को प्रतिक्रियामा दुवै देशले हालै अपनाएका नीतिलाई मध्यनजर गर्दै दुवै पक्षले नेपाल–चीन संयुक्त महामारी रोकथाम तथा नियन्त्रण संयन्त्रको नाम परिवर्तन गरी सीमा व्यापार तथा सहयोगसम्बन्धी नेपाल–चीन समन्वय संयन्त्र राख्ने सहमति गरेका छन् ।
नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, ल्हासास्थित नेपालको महावाणिज्य दूतावास, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी थिए । त्यसैगरी चिनियाँ प्रतिनिधिमण्डलमा चीनको तिब्बत स्वायत्त क्षेत्र, वाणिज्य विभाग, भन्सार, एक्जिट एन्ट्री र स्वास्थ्य विभागका विदेश मामिला कार्यालयका उच्च पदस्थ अधिकारी सहभागी थिए ।
बुधबार नै सचिव तथा नेपाली प्रतिनिधिमण्डलका प्रमुख मरासिनीले जनवादी गणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका अध्यक्ष यान जिङ्हाइसँग शिष्टाचार भेट गरेका थिए । भेटमा द्विपक्षीय आर्थिक सहयोग प्रवर्द्धन, पारस्परिक हितलगायत विषयमा विचारविमर्श भएको थियो । साँझ अध्यक्ष यानले नेपाली प्रतिनिधिमण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
- नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुन्छ : ओली
- रियलमीद्वारा नार्जो एन–५३ र नार्जो एन–५५ सार्वजनिक
- ‘भिभो ५जी टक’ कार्यक्रम
- टेलिकमको नयाँ सेवा
- छत्रपाटी निशुःल्क चिकित्सालयको सचेतना -याली
- बजेटले लगानी प्रोत्साहन र माग वृद्धि गर्नेमा शंका : परिसंघ
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया