Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्बपति चौधरीको अपार्टमेन्ट निर्माणको क्रममा व्यक्तिका घरहरू भासिए

अर्बपति चौधरीको अपार्टमेन्ट निर्माणको क्रममा व्यक्तिका घरहरू भासिए


काठमाडौं । ललितपुर बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्ट वरपरका घरहरु भासिएका छन् । समिट अपार्टमेन्ट निर्माणको क्रममा सावधानी नअपनाउँदा शुक्रबार राति त्यसवरपरका दुईवटा घरहरु भासिएका हुन् ।

एउटा निर्माणाधीन आधुनिक भवन र अर्को पुरानो शैलीको घर भत्किएको हो । आधुनिक भवनको जग र दुईवटा तला तथा अर्को घर भत्किएको छ । घर भासिएसँगै त्यसभित्र रहेका मानिसहरुको भागदौड मच्चिएको छ । भागदौडको क्रममा कोही पनि घाइते नभएको ललितपुर प्रहरीले जनाएको छ । घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेको थियो ।

निर्माणाधीन समिट अपार्टमेन्टको अन्डर ग्राउन्ड निर्माणको क्रममा वरपर खनिएको छ । अपार्टमेन्टको अन्डर ग्राउन्ड निर्माणको लागि भने सिमेन्टको पर्खाल लगाएको छ र माटो झिक्ने काम भइरहेको छ । अपार्टमेन्ट नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले निर्माण गर्न लागेका हुन् ।

नेपाली कांग्रेसका सांसद समेत रहेका अर्बपति चौधरीको सो अपार्टमेन्ट विवादास्पद रहेको थियो । सुरुवाती चरणमा अपार्टमेन्ट सुहाउँदो मापदण्ड परिवर्तन गर्न लगाएको उनीमाथि आरोप लागेको थियो । सुरुवाती चरणमा चौधरीको अपार्टमेन्टको नक्साविपरीत निर्माण गरिएपछि विवाद निस्किएको थियो ।

अपार्टमेन्ट निर्माणको लागि नै ‘बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी मापदण्ड २०७८’ मा दोस्रो संशोधन गरिएको आरोप छ । जेठ १६ गते राजपत्रमा संशोधित सूचना प्रकाशित भएको थियो । जसअनुसार भवनको सेटब्याक (सँधियारतर्फ) र अधिकतम भुइँ क्षेत्रको अनुपात (बेसमेन्टतर्फ) व्यापक संशोधन गरिएको छ । काठमाडौं उपत्यकाको हकमा व्यापारिक तथा व्यावसायिक भवन तीन दशमलव पाँच, आवासीय भवन चार, मिश्रित आवासीय भवन चार दशमलव पाँच पाँच र संस्थागत भवनको दुई दशमलव पाँच कायम भएको छ ।

आधुनिक नेवारी आर्किटेक्चर’ डिजाइनमा निर्माण गरिने द समिट होटल एण्ड रेसिडेन्सी अपार्टमेन्टमा एक सय ३० वटा कोठासहितको पाँच तारे होटल निर्माण गर्न लागिएको हो । करिब ३० हजार वर्गमिटर रहने नयाँ संरचनाको ल्यान्डस्केप कन्सेप्टमा थिम्याटिक स्काई गार्डेन, होटल स्काइ सुविधाहरु, होटल रुफ गार्डेन र रेसिडेन्स रुफटपको सुविधाजनक अपार्टमेन्ट हुनेछ ।  यस्तै घटनापछि पनि ललितपुरका प्रमुख जिल्ला अधिकरी जयनारायण आचार्य, सांसद उदयशमशेर राणा, सांसद डा. तोसिमा कार्की, प्रहरीहरु घटनास्थल अवलोकन गर्नपुगेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1


तपाईको प्रतिक्रिया