Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार‘सरकार, निजी क्षेत्र र सहकारीबीचको सहकार्य र साझेदारी आवश्यक’

‘सरकार, निजी क्षेत्र र सहकारीबीचको सहकार्य र साझेदारी आवश्यक’


काठमाडौं । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार, निजी क्षेत्र र सहकारीबीच सहकार्यको खाँचो रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा भएको सहकारी महासम्मेलनमा उनले निजी क्षेत्रले सहकारीसँग सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

उद्योग वाणिज्य महासंघले कृषि उद्यम केन्द्र बनाएर सयभन्दा बढी सहकारीहरुसँग मिलेर काम गरिरहेको पनि उनले बताए । सहकारी र निजी क्षेत्र मिलेर जाँदा आर्थिक गतिविधि बढाउन सकिने उनको भनाइ छ । ‘निजी, सार्वजनिक र सहकारीबीचको साझेदारीका लागि साझा मञ्च’ विषयमा छलफल गर्दै उनले हाल बाधा अड्चनका रुपमा रहेका ऐन नियमहरुलाई फुकुवा गरेर लगानीमा पनि सहकार्य गर्न सकिने बताए । सहकारी क्षेत्रले रोजगारी सिर्जना, वित्तीय पुहँच, वित्तीय साक्षरता, बैंक तथा वित्तीय क्षेत्रमा तरलता सहज गर्न र उत्पादनलगायत अर्थतन्त्र निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो ।

यस्तै, कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सरकारले निजी सार्वजनिक साझेदारी मोडल अगाडि सारे पनि अब सहकारी क्षेत्रलाई पनि त्यसमा समावेश गरिनुपर्ने बताए । अहिले बाधकका रुपमा रहेका ऐन कानुनलाई फुकाउन सकियो भने काम गर्न धेरै सजिलो हुने र सहकारी क्षेत्रको विकास र विस्तार हुन पनि सघाउ पग्ने उनको धारणा छ । यसले समग्र देशको अर्थतन्त्रमा पनि सहयोग पुग्ने उनको भनाइ छ ।

यस्तै, सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले अर्थतन्त्रका तीन खम्बामध्ये एउटा खम्बा कमजोर भयो भने अर्थतन्त्र नै कमजोर हुने बताए । यी तिनवटै खम्बाले आ–आफ्नै जिम्मेवारीहरु पूरा गर्नुपर्ने उनको भनाइ छ । अब निजी र सार्वजनिकसँगै सहकारीलाई पनि सँगै संलग्न गराएर जानुपर्नेमा सरकार सकारात्मक भएको उनले बताए ।


क्याटेगोरी : समाचार, सहकारी–कृषि
ट्याग : #Page 8


तपाईको प्रतिक्रिया