Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउनको दोस्रो हप्तामा खाद्यान्नको कालोबजारी : नियामक निकाय मौन

लकडाउनको दोस्रो हप्तामा खाद्यान्नको कालोबजारी : नियामक निकाय मौन


विराटनगर,चैत १९

सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनको फाइदा उठाउँदै खाद्य सामग्री बेच्ने बिक्रेताले बजारमा कृत्रिम अभाव देखाउँदै कालोबजारी सुरु गरेका छन् । प्रदेश १ को राजधानी विराटनगरमा संघीय सरकारले लकडाउनको अवधि पुनः एक हप्ता थप्ने निर्णय गर्नेबित्तिकै स्थानीय व्यापारीहरूले दाल, तेल, पिठो र चामलमा १० प्रतिशतदेखि २० प्रतिशतसम्म मूल्यवृद्धि गरेको पाइएको छ । तर व्यवसायीहरूले लकडाउनका कारण स्थानीय उद्योगको उत्पादन ठप्प भएकोले सामान अभाव हुँदै आएको बताएका छन् । पछिल्लो समय सिमानाका भारतीय बजारबाट पनि दैनिक २ करोडभन्दा बढीको खाद्य सामग्री आउने गरेकोमा अहिले उक्त सामान नेपाल आउन नसकेपछि केही असहज भएको व्यापारीहरूको भनाइ छ । तर विराटनगरका करिब एक दर्जन उद्योगीहरूले खुल्ला सिमानाबाट हुने तस्करी नियन्त्रण हुन नसक्दा यो असहज परिस्थितिमा पनि आफूहरू घाटाको कारोबार गर्न बाध्य भएको गुनासो गरेका छन् ।विराटनगरका खाद्य सामग्रीका बिक्रेताले अहिले स्थानीय बजारमा लकडाउन हुनुभन्दा अगाडि सनफलावर तेलप्रति कार्टुन १५ सय ५० मा बिक्री गर्दै आएकोमा लकडाउनपछि उक्त तेल १६ सय ५० मा बिक्री गर्ने गरेका छन ।

त्यसैगरी हुलासको ५ केजी पिठो २ सय ७५ मा बिक्री गर्दै आएकोमा अहिले ३ सय ५ मा बिक्री गर्दै आएका छन् । मसुरो दाल प्रतिकेजी ८० रूपैयाँमा बिक्री गर्दै आएकोमा लकडाउनपछि मूल्यवृद्धि गरी १ सय १० रूपैयाँमा बिक्री गरेको कुरा दैनिक उपभोग्य सामान किन्दै आएका उपभोक्ताहरूले बताएका छन् । तर सरकारी अधीनमा रहेको नुनको मूल्य यथावत् रहेको जानकारी पनि ती उपभोक्ताहरूले दिएका छन । स्थानीय खुद्रा खाद्य सामग्री बिक्रेताको मिलेमतोमा लकडाउनको दोस्रो हप्ता सुरुमै तेल, चामल, चिनी, पिठो, बिस्कुट, चकलेटलगायत सामानको अभाव देखाउँदै कालोबजारी सुरु भएको कुरा स्थानीय उद्योगीहरूले आरोप लगाएका छन् । लकडाउनपछि भारतीय बजार जोगवनीमा घरायसी प्रयोजनको लागि साइकल, मोटरसाइकल तथा पैदलबाट दैनिक मालसामान आउने गरेकोमा पछिल्लो समय उक्त काम नहुँदा केही मांगको चापमात्र बढेको हो तर मूल्यवृद्धि नगरेको दाबी स्थानीय उद्योगीहरूले गरेका छन् । नाम नछाप्ने शर्तमा एक खाद्य उद्योगीले दिएको जानकारीअनुसार एउटा चामलको बोराको मूल्य १ हजार ३ सय ७५ रूपैयाँमात्र पर्छ, तर यहाँ उद्योगीको नाममा व्यापारीहरूले प्रतिबोरा १ हजार ५ सय लिएर बिक्री गरेको कुरा सुन्नमा आएकोले त्यस्ता कालोबजारीलाई सरकारले अविलम्ब कारबाही प्रक्रिया अगाडि बढाउन समेत अनुरोध गरेका छन । त्यसैगरी लकडाउनभन्दा अगाडि चिनी बजारमा ६२ रूपैयाँमा बिक्री भइरहेकोमा अहिले ७८ रूपैयाँमा बिक्री हुने गर्दा समेत सम्बन्धित निकाय मौन रहेकोप्रति ती उद्योगीले आश्चर्य समेत व्यक्त गरेका छन ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया