Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारलकडाउन उल्लंघन गर्नेलाई कोरोनासम्बन्धी सचेतना

लकडाउन उल्लंघन गर्नेलाई कोरोनासम्बन्धी सचेतना


दोलखा,चैत २६

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेको मंगलबार दुई साता बितेको छ। यो समय सरकारको नियमविपरीत बजार डुल्ने सयौं मानिसलाई प्रहरीले नियन्त्रणमा लिएर कोरोनासम्बन्धी पाठ सिकाएर छाडेको छ।

सरकारले सिंगो देशमा आह्वान गरेको लकडाउनको १५ दिनसम्म आइपुग्दा दोलखा सदरमुकाम चरीकोटमा करिब एक हजार तीन सय ९७ जना मानिसले लकडाउन उल्लंघन गरेको जिल्ला प्रहरी कार्यालय चरीकोटले जनाएको छ ।

सदरमुकाम चरीकोटमा लकडाउनको उल्लंघन गर्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्ने उपायहरुबारे सचेतना गराएर घर पठाएको जनाएको छ ।

त्यसैगरी नौ स्थानीयतहका चार हजार मानिसलाई गाउँमै पुगेर कोरोनासम्बन्धी जनचेतना दिएको जिल्ला प्रहरी कार्यालय दोलखा सूचना अधिकृत रेसम बोहराले जानकारी दिए ।

सदरमुकाम चरीकोटका सुरक्षाकर्मीले दैनिक तयार परेको तथ्यांकअनुसार मंगलबार दिउँसोसम्म दुई सय पाँचवटा सवारीसाधनले लकडाउनको उल्लंघन गरेको पाइएको छ ।

लकडाउन उल्लंघन गर्ने सवारीसाधनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही गरेर छाडेको प्रहरीले जनाएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालयले जारी गरेको पासको दुरुपयोग गर्ने पाँचवटा सवारीलाई भने प्रहरीले नियन्त्रणमा लिई राखेको जनाएको छ ।

तीनवटा बस, एक माइक्रोबस र एक बोलेरोले अत्यावश्यक कामको लागि दिएको पासको दुरुपयोग गरेर मानिस बोकेको पाइएको हुँदा नियन्त्रणमा लिएर राखेको सूचना अधिकृत प्रहरी बोहराले बताए ।

लकडाउन उल्लंघन गर्ने सर्वसाधारण तथा सवारीका चालकलाई कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम र बच्ने उपायबारे प्रशिक्षण दिएको दोलखाका ट्राफिक प्रहरी प्रमुख गोकर्ण नेपालले जानकारी दिए । प्रहरीले चरीकोटको सातदोबाटो चोकमा कोरोना परीक्षण कक्ष तथा हेल्थ डेस्क निर्माण गरेको छ ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया