Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसरकारसँग तीन महिनाको माग धान्ने खाद्यान्न

सरकारसँग तीन महिनाको माग धान्ने खाद्यान्न


काठमाडौ । सरकारले तीन महिनाको माग धान्ने खाद्यान्नको मौज्दात रहेको जनाएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सरकारसँग कुल एक लाख ७० हजार आठ सय दुई क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी दिए ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र निजी क्षेत्रसँग भएको मौज्दात खाद्यान्नले तीन महिनाको माग धान्न सक्ने उनको भनाइ थियो । आगामी दिनमा खाद्यान्नको अभाव नहोस् भनेर मन्त्रालयले नयाँ धान खरिद गर्ने प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए । बैठकमा उनले भारतबाट १० लाख मेट्रिक टन धान, एक लाख मेट्रिक टन चामल र ५० क्विन्टल चिनीको आयात खुला गरिदिन आग्रह गरेको पनि जानकारी दिए । छिट्टै नै ती खाद्यवस्तुको आपूर्तिको व्यवस्था मिल्ने उनको भनाइ थियो । यस्तै, सचिव मरासिनीले खाद्य सफ्ट टार्न हिमाली क्षेत्रमा उत्पादन भएका खाद्यान्नको बजारीकरणको व्यवस्था गरिएको बताए । ‘रैथानेमा गर्व गरौँ’ कार्यक्रमअन्तर्गत खाद्य व्यापार कम्पनीले कर्णाली र सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका सात स्थानीय तहसँग रैथाने बाली खरिदको सम्झौता गरिएको उनले जानकारी दिए ।

अहिले कम्पनीले हुम्लाको सर्केगाड, अदानचुली र सिमकोट गाउँपालिकाबाट एक हजार दुई सय ६३ किलो कागुनो, दुई हजार दुई सय २३ किलो चिनो, एक हजार नौ सय पाँच किलो फापर र एक हजार ८८ किलो सिमी खरिद गरी बिक्री गरिरहेको छ । सचिव मरासिनीले यही भदौ ४ गते काठमाडौंबाट केरुङ हुँदै हुम्लाको यलवाङ बिक्री केन्द्र र सिमकोटका लागि चार हजार क्विन्टल चामल ढुवानी भएको जानकारी दिए । कम्पनीका अनुसार सुगम जिल्लामा ४४ हजार छ सय ८२ क्विन्टल र दुर्गम जिल्लामा १४ हजार चार सय ८२ क्विन्टल चालम मौज्दात छ । बोलपत्रका माध्यमबाट ७२ हजार छ सय ८४ क्विन्टल चामल प्राप्त भइरहेको छ । कम्पनीसँग एक लाख ३१ हजार आठ सय ४९ किलो चामल मौज्दात छ । चार हजार छ सय ३२ क्विन्टल धान मौज्दात रहेको तथा भारतबाट आयात कोटाअन्तर्गत ३४ हजार तीन सय २० क्विन्टल गहुँ आयात भएको कम्पनीले जनाएको छ ।

यस्तै, डिजेल आठ दिन, पेट्रोल पाँच दिन, हवाई इन्धन १५ दिन र खाना पकाउने एलपी ग्यास १५ दिनको माग धान्ने गरी मौज्दात रहेको सचिव मरासिनीले जानकारी दिए । साल्ट ट्रेडिङ कर्पोरेसनसँग एक लाख ३९ हजार सात सय ९१ मेट्रिक टन आयोडिनयुक्त नुन र पाँच सय मेट्रिक टन चिनी मौज्दात रहेको उनको भनाइ छ । आयोडिनयुक्त नुनको मौज्दात परिमाणले नौ महिनाको माग धान्ने अनुमान गरिएको छ । रासस


क्याटेगोरी : बिबिध
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया