बुद्धसिंह मार्ग : १० किमी खण्डमा कालोपत्र हुने
दमौली (तनहुँ) । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंहमार्गको १० किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ । तनहुँको दमौलीबाट चितवनको घुमाउनेसम्म जोड्ने सो मार्गअन्तर्गत दमौलीबाट कालोपत्रका लागि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालनी गरेको हो ।
दमौलीबाट सुडेसम्मको उक्त खण्ड कालोपत्रका लागि निर्माण सम्झौता भएको एक वर्षपछि निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले राससलाई जानकारी दिए । उनका अनुसार उक्त खण्ड ‘आक्सफाल्ट प्रविधि’बाट सडक कालोपत्र गरिनेछ ।
पूर्वाधार विकास कार्यालयले मैनाचुली/सफल जेभी काठमाडौँसँग विसं २०७९ भदौ २७ गते सडक कालोपत्रका लागि सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि करसहित रु. ३४ करोड २७ लाख ५४ हजार पाँच सय ६० मा सम्झौता गरिएको उक्त खण्डको कालोपत्र विसं २०८२ जेठ ३० गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । सम्झौताअनुसार पर्खाल निर्माण, कटिङ, कल्भर्ट, कजवे निर्माण गरिनेछ ।
गण्डकी प्रदेश सरकारले यस मार्गलाई प्राथमिकतामा राखेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले शनिबार उक्त खण्डको अनुगमन गर्दै कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । सो अवसरमा मन्त्रालयका सचिव शङ्करप्रसाद पण्डित, पूर्वाधार विकास निर्देशनालयका प्रमुख लक्ष्मीप्रसाद भण्डारीसहितको टोलीले हालसम्मको कामका बारेमा जानकारी लिएको थियो ।
सो मार्गलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको छ । पृथ्वीराजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउने पुग्न भन्दा बुद्धसिंमार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्ने जनाइएको छ ।
गण्डकी प्रदेश सरकारले सो मार्गलाई प्राथमिकतामा राखेर यस वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ । चितवनको घुमाउनेमा पक्की पुल नहुँदा दमौलीबाट गएका सवारीसाधन पार गर्न मिल्दैन । घुमाउनेमा पुल निर्माणमा ढिलाइ भएकाले पनि वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिएको छैन ।
उक्त पुल निर्माणका लागि विसं २०७५ माघमा सम्झौता भएको थियो । एक सय पाँच मिटर लम्बाइ रहेको पुलको लागत रु नौ करोड ५६ लाख रहेको छ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुल सडक विभागअन्तर्गतको डिभिजन सडक कार्यालय तनहँुको प्राविधिक सहयोगमा निर्माण हुनेछ ।
उक्त पुलको निर्माण सम्पन्नपश्चात पोखरा र दमौलीलाई नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २५ किलोमिटरको दूरी छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ–नारायणगढ सडकखण्डसम्म ल्याउन सकिने जनाइएको छ ।
दमौलीबाट घुमाउनेघाटसम्म नियमितरूपमा साना बस तथा दुई पाङ्ग्रे सवारीसाधन आवतजावत गरे पनि अन्य ठूला सवारीसाधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने
- आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यको पूर्णपाठ
- बजेट वक्तव्य: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड
- बजेट वक्तव्य: एक लाख ‘रिटर्नी’ लाई स्वरोजगार बनाइने
- बजेट वक्तव्य: प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड
- सम्पूर्ण प्राणीको मोक्षको कामना गर्दै बुद्ध पूजा
- अर्थमन्त्री पुनद्वारा आव २०८१-८२ को बजेट प्रस्तुति सुरु
- विराटनगरमा श्रमाधान रोजगार मेलाको आयोजना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया