Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसञ्चय कोषका सञ्चयकर्ताले केएमसीमा स्वास्थ्य सेवा लिन पाउने

सञ्चय कोषका सञ्चयकर्ताले केएमसीमा स्वास्थ्य सेवा लिन पाउने


कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताहरूले काठमाडौं मेडिकल कलेजमा सामाजिक सुरक्षाअनुसारको स्वास्थ्य सेवा लिन पाउने भएका छन् । सञ्चयकर्तालाई कोषले साधारण तथा घातक रोगको उपचार गर्ने अस्पतालको सूचीमा काठमाडौं मेडिकल कलेजलाई पनि समावेश गरेको हो ।कोषले एक सूचना प्रकाशित गरी आगामी फागुन १ गतेदेखि लागू हुनेगरी विभिन्न अस्पतालहरूको छनौट गरेको छ । छनौट गरीएका अस्पतालहरूमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा अत्याधुनिक उपकरण र स्वास्थ्य सेवा भित्र्याएको काठमाडौं मेडिकल कलेज समेत परेको हो । केएमसीका जनरल मेनेजर नारायण दाहालले कर्मचारी सञ्चय कोषमा आबद्ध सञ्चयकर्ताहरूले केएमसीमा सहजरूपमा स्वास्थ्य सेवा लिन सक्ने बताए । कोषले जनाएअनुसारको कागजात लिएर केएमसीमा उपलब्ध जुनसुकै स्वास्थ्य सेवाको लाभ लिन सकिन्छ ।

कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण रोगको हकमा प्रत्येक वर्ष एक लाख रुपैयाँ तथा घातक रोगको हकमा सेवा अवधिभर १० लाख रुपैयाँसम्म स्वास्थ्य उपचार सुविधा उपलब्ध गराउँदै आएकोमा फागुन १ गतेदेखि लागू हुने गरी उपचार गराउने अस्पतालको सूची तयार पारेको छ । कोषले हाल साविकमा सञ्चयकर्तालाई मात्र स्वास्थ्य उपचार सुविधा दिएकोमा फागुन १ गतेदेखि लागू हुनेगरी पति÷पत्नीलाई समेत समावेश गरेको छ ।सूचीअनुसार कोषको स्वास्थ्य उपचार योजनाअन्तर्गतको सेवा पाउने अस्पतालहरूमा केएमसीसँगै बागमती प्रदेशमा ६० वटा, कोशी प्रदेशमा नोबेल मेडिकल कलेजसहित १६ वटा, मधेश प्रदेशमा नेसनल मेडिकल कलेजसहित नौवटा, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित १५ वटा, लुम्बिनी प्रदेशमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित आठ वटा कर्णाली प्रदेशमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रादेशिक अस्पताल सुर्खेत, सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पतालसहित तीन वटा रहेका छन् ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 7

तपाईको प्रतिक्रिया