Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘शिक्षा क्षेत्रमा अत्यधिक राजनीति भयो’

‘शिक्षा क्षेत्रमा अत्यधिक राजनीति भयो’


काठमाडौँ । समाजमा राजनीतिक दलमा आबद्ध नभएका व्यक्ति भेट्न मुस्किल पर्नुको कारण शिक्षा क्षेत्रमा अत्यधिक राजनीतिकरणको प्रभाव र परिणाम भएको विज्ञहरूले टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी शिक्षा क्षेत्रका विज्ञले समाजमा राजनीतिक दलमा आबद्ध नभएको मानिस भेटिन मुस्किल रहेको बताए ।

छलफलमा सहभागी प्राडा विद्यानाथ कोइरालाले विधेयकको उद्देश्य र कारणमा शिक्षा क्षेत्रलाई कुन ढङ्गबाट अघि बढाउन खोजिएको भन्ने दर्शन र सिद्धान्तबारे प्रस्ट उल्लेख गरिनुपर्नेमा जोड दिए । उनले भने, ‘अहिलेको शिक्षा र वातावरणले हामीलाई पक्षीय मानिस बनायो । विद्यार्थी र शिक्षक बनाउन सकेनौँ । विद्यालयमा पनि विद्यार्थीको राजनीतिक दल छ । शिक्षक र प्राध्यापकमा पनि राजनीतिक दल बनाइयो, अब त्यो गर्दैनौँ भनी वाचा गर्न आवश्यक छ ।’

विद्यालय र विश्वविद्यालयमा अत्यधिक राजनीतिकरण भएका कारण विद्यालयको पढाइ र विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्केको बताउँदै डा. कोइरालाले संघीय सरकारले ऐन बनाउने अधिकार नै नराख्ने धारणा राखे । उनले भने, ‘संघीय सरकारले मापदण्ड मात्रै बनाउने कि ऐन नै बनाउने हो, त्यसबारे सोचौँ । संविधानको अनुसूचीमा मापदण्ड मात्र बनाउने अधिकार दिएको छ । अहिले हामी ऐन बनाउन दौडिरहेका छौँ । ऐन नै बनाउने हो भने प्रस्तावनामा केही दर्शनका कुरा राख्नुपर्छ ।’ उनले कुन दर्शनबाट प्रेरित भएर काम गर्ने भन्ने ऐन व्यवस्था हुनुपर्नेमा बताए ।

ऐनमा विद्यार्थीले भोलि समाजलाई कसरी जोड्ला भन्ने विषयस्तुसँगै विद्यार्थीलाई पढाउन र सिकाउनका निम्ति शिक्षक कस्तो हुनुपर्छ भन्ने पाटो आउन जरुरी रहेको डा कोइरालाको भनाइ थियो । मुलुकमा आर्थिक विपन्नता भएकाले शिक्षकलाई अरु सुविधा दिन नसक्ने अवस्थामा बीमालगायतका समाजिक सुरक्षामा जोड्दै लैजान बुद्धिमानी हुने उनको सुझाव छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #page 2

तपाईको प्रतिक्रिया