Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधदोस्रो ठूलो खानेपानी सुदृढीकरण आयोजना ठप्प

दोस्रो ठूलो खानेपानी सुदृढीकरण आयोजना ठप्प


कृष्ण दवाडी
कास्की, जेठ १५
कोभिड–१९ को संक्रमण रोक्न देशव्यापी जारी बन्दाबन्दीले पोखरामा निर्माणाधीन देशकै दोस्रो ठूलो खानेपानी सुुदृढीकरण आयोजनाको काम रोकिएको छ । जापान सरकारको अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा पाँच अर्ब लागतमा पोखरामा लगानीका हिसाबले मेलम्चीपछिको दोस्रो ठूलो खानेपानी आयोजना सुदृढीकरणको काम धमाधम भइरहेकामा बन्दाबन्दीपछि आयोजनाको सम्पूर्ण काम ठप्प भएको हो ।

खानेपानी संस्थानबाट सञ्चालित र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)अन्तर्गत निर्माण भइरहेको सो परियोजनाबाट हाल पोखरामा खानेपानी आपूर्ति भइरहेको मर्दीखोलाको पानी प्रशोधन गर्ने तथा थप वितरणलाइन निर्माणको योजना छ । हाल अप्रशोधित पानी उपलब्ध भइरहेकामा सो आयोजना सम्पन्न भएपछि यसले समेटेको क्षेत्रमा चौबीसै घण्टा राष्ट्रिय खानेपानी गुणस्तरअनुसारको प्रशोधित पानी उपलब्ध हुने खानेपानी संस्थानले जनाएको छ । सो आयोजनाको गत वर्ष जेठमा संघीय सरकारका खानेपानीमन्त्री बिना मगरले पोखरा–१९ पुरुनचौरमा शिलान्यास गरेपछि कामले तीव्रता पाएको थियो । आयोजनाको निर्माणकार्य जापानी निर्माण कम्पनीले नै अघि बढाएको हो । खानेपानी संस्थानका इञ्जिनियर सन्तोषकुमार दासले लकडाउन आह्वानपछि निर्माणमा परिचालित सबै मजदुर घर फर्किएको र काम ठप्प भएको बताए । हालसम्म समग्रमा २४ प्रतिशत कार्य प्रगति भए पनि लकडाउनले गर्दा निर्धारित मितिभित्रमै आयोजना सम्पन्न गर्न बाधा पु-याएको उनको भनाइ छ ।

‘यसअघि हाम्रो लक्ष्यभन्दा पनि माथि काम भए पनि दुई महिनायता आयोजनाको सबै काम रोकिएको छ । लकडाउन नखुलेसम्म काम सुरु हुने अवस्था छैन । यसबाट हाम्रो लक्ष्य घट्ने भयो’, इन्जिनियर दासले भने । प्रशोधन केन्द्र र पाइपलाइन विस्तार गरी दुई खण्डमा आयोजनाको काम अघि बढेको थियो । उनका अनुसार पोखराबासीले पिउने पानीको प्रमुख स्रोत रहेको मर्दीखोलाको पानी शुद्धीकरणका लागि मुहाननजिक दैनिक चार करोड लिटर क्षमताका बालुवा हटाउने ट्यांकी निर्माण गरिनेछ । मुहान नजिक ग्रिड च्याम्बर र पानी थिग्र्यउने (सेडिमेन्टेसन ट्यांक)को काम सुरु भएलगत्तै काम रोकिएकाले यसमा खासै प्रगति हुन नसकेको बताइन्छ ।

ग्रिड च्याम्बरबाट शुद्धीकरण गरिएको पानीलाई पुरुनचौरमा थप शुद्धीकरणका र प्रशोधन गरिनेछ । चार करोड लिटरकै चार पानी थिग्र्याउने ट्यांकी तथा पानी छान्ने फिल्टर, दुई सफा पानी संकलन गर्ने ट्यांकी (स्लोस स्याण्ड फिल्टर) र क्लोरिनेसन प्लान्ट निर्माणको काम भइरहेको छ । स्लोस एण्ड फिल्टरको ६० प्रतिशत काम सम्पन्न भएको इन्जिनियर दासले जानकारी दिए । पोखरामा हाल आपूर्ति भइरहेको पानी विना प्रशोधन उपभोक्ताको घरसम्म पुग्ने गरेकामा आयोजना सम्पन्न भएपछि धारामा शुद्ध पिउने पानी आपूर्ति हुनेछ । वर्षायाममा नदीमा बाढी आउँदा पोखरामा आउने पानीसमेत दूषित हुने गरेको छ ।

बजारमा आपूर्ति हुने खानेपानी भण्डारण गर्न २० लाख लिटर क्षमता तीन पानीट्यांकी पोखराको फूलबारी, प्रस्याङ र कोलपाटनमा निर्माण गरी त्यसमार्फत बजारका विभिन्न भागमा वितरण गर्ने योजनाअनुसार काम भइरहेको छ । फूलबारीमा निर्माण गर्न लागिएको अन्डरग्राउन्ड ट्यांकीको हालसम्म ८० प्रतिशत तथा कोलपाटनको ओभरहेड ट्यांकीको २० प्रतिशत काम सकिएको छ । प्रस्याङमा फाउन्डेसनको काम सुरु भएसँगै रोकिएको थियो । बजारमा कुल ९६ किमि पाइपलाइन विस्तार योजनाअन्तर्गत एक वर्षको अवधिमा १४ किमि पाइप जडान गरिसकिएको बताइन्छ ।

जापान सरकारको चार अर्ब ८१ करोड ३० लाख रुपैयाँ अनुदान सहयोगमा सन् २०१७ को फेब्रुअरी १५ मा सो आयोजनासम्बन्धी सम्झौता भएको थियो । सन् २०२२ को अन्त्यसम्ममा निर्माण गरिसक्ने गरी खानेपानी सुधार आयोजना अघि बढेको हो । आयोजना निर्माणपछि पाइपलाइनमा पानीको चापमा सुधार भई पानी चुहावट नियन्त्रण भई आपूर्तिमा सुधार भएर महानगरको १ देखि १९ वडाका चार लाख पाँच हजार ८ सय ८९ जनसंख्या लाभान्वित हुने अपेक्षा गरिएको छ । संस्थानका अनुसार पोखरामा चौबीसै घण्टा सहज आपूर्तिका लागि दैनिक छ करोड ५० लाख लिटर पानी आवश्यक पर्ने गरेकामा हाल चार करोड हाराहारीमा मात्र आपूर्ति हुने गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x