Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचार दशकदेखि चर्चामै सेती परियोजना

चार दशकदेखि चर्चामै सेती परियोजना


आशिषबहादुर सिंह
बझाड., जेठ २२
सुदूरपश्चिम प्रदेशकै गौरवको आयोजना पश्चिम सेती परियोजनाको चर्चा फेरि सुरु हुन थालेको छ । सरकारले प्रस्तुत गरेको बजेट भाषणमा लामो समयदेखि चर्चामा रहेको सेती परियोजना समेटिएपछि यस परियोजनाको चर्चा चुलिएको छ । सुदूरपश्चिम प्रदेशको बझाङ, बैतडी र डोटीको सीमाक्षेत्र निर्माण हुने भनिएको सात सय ५० मेगावाटको जलाशययुक्त पश्चिम सेती परियोजना लामो समयदेखि चर्चामा रहे पनि बजेटको अभावमा बन्न सकेको छैन । यस परियोजना प्रदेशकै गौरवको आयोजना भएकाले चाँडै निर्माण हुनुपर्ने सुदूरपश्चिमबासीहरूको माग रहेको छ ।

केही समय पहिले थ्री गर्जेज कम्पनीले पश्चिम सेती नबनाउने भन्दै हात झिकेपछि निराश बनेका यस क्षेत्रका जनता सरकारले बजेट भाषणमार्फत सेती परियोजनाको कामलाई निरन्तरता दिने बताएपछि स्थानीयबासी खुशी भएका छन् । बजेट भाषणमार्फत पश्चिम सेती परियोजनाको निर्माणमा निरन्तरता दिने बताएपछि आफूहरू निकै हर्षित भएको सिगास गाउँपालिका बैतडीका हरिसिंह साउदले बताए । उनले भने, ‘सरकारले बजेट भाषणमा मात्र होइन अब निमार्णको काम पनि अघि बढाउनु पर्दछ ।’

‘हामी सानै हुँदा पश्चिम सेतीको चर्चा चलेको थियो । पश्चिम सेती बनाउने भन्नेहरू कति आए, कति गए तर कसैले निर्माण गर्न सकेनन्’, डोटीको आदर्श गाँउपालिकाका बर्णबहादुर सिंहले भने । आयोजना बन्ने हल्ला हल्लामै मात्र सीमित भएकाले पश्चिम सेती बन्छ भन्नेमा खासै विश्वास नभएको सिंहको भनाइ छ । उनले भने, ‘काम सुरु नहुन्जेल कसरी पत्याउनु । परियोजना बन्ने भनेर हल्ला चलेको चार दशक बितिसकेको छ ।’ पश्चिम सेती निर्माणका लागि उचित र उपयुक्त वातावरण सिर्जना गरी राजनीतिक नाफाघाटा नहेरिकन काम सुरु गर्नुपर्ने स्थानीयबासीको माग छ । नेपाल सरकारले आफ्नै लगानीमा जलाशययुक्त उक्त आयोजना निर्माण गर्ने बताए पनि पश्चिम सेती जलविद्युत् आयोजनाका नाममा वर्षेनी सुदूरपश्चिममा राजनीति हुन थालेको भन्दै यहाँका स्थानीयवासी नेताहरूप्रति आक्रोशित हुँदै आएका छन् ।

पश्चिम सेती परियोजना सुदूरपश्चिमको गौरवको योजना भएकाले यो परियोजना चाँडो निर्माण गर्नुपर्ने बझाङबाट प्रतिनिधित्व गरेकी प्रतिनिधिसभा सदस्य आशा कुमारी बिकको भनाइ छ । पश्चिम सेती परियोजना राज्यबाट उपेक्षित भएको भन्दै अब केन्द्र सरकारले नसके पनि प्रदेश सरकारले यस परियोजनाको विषयमा सोच्नु पर्ने अवस्था आएको छ । अहिले देशका विभिन्न क्षेत्रहरूमा निजी लगानीकर्ताहरूले विभिन्न क्षेत्रहरूमा परियोजना निर्माण गर्न लागेको परिस्थितिमा सरकारले आफूले नसके निजी क्षेत्रको लगानी सुरक्षित गरेर परियोजना निमार्ण गर्नुपर्ने उनको भनाइ छ । नेपालका निजी क्षेत्रका लगानीकर्ताहरू आफ्नो लगानी सुरक्षित नभएकोले लगानी गर्न डराएको भन्दै उनले अब सरकारले निजी क्षेत्रलाई ठूला परियोजना निमार्णमा प्रोत्साहन गर्नुपर्ने बताइन् ।

तीन कम्पनीका चार दशक पश्चिम सेती परियोजनाको निर्माण गर्ने भनेर तीन ठूला विदेशी बहुचर्चित कम्पनीसँग नेपाल सरकारले विभिन्न समयमा सम्झौता ग¥यो । ती कम्पनीहरूले झण्डै चार दशक बढी विताए पनि निर्माण कार्य भने कसैले पनि सुरु गर्न सकेनन । परियोजनाको सुरुवातमा फ्रान्सको सोग्रेह कम्पनी अध्ययन र निर्माण गर्ने मनसायले नेपाल आयो । सन् १९८१ तिर सोग्रेहले बैतडीको ढुङ्गाढभन्दा ८ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा पश्चिम सेती जलविद्युत् परियोजना बाँध बनाइरहन नपर्ने जलाशयरहित आयोजनाका रूपमा बिजुली निकाल्ने भनेपछि पश्चिम सेती आयोजना पहिलो पटक चर्चामा आएको थियोे । दोस्रो पटक सन् १९९१ तिर ढुङ्गाढमा बाँध बाँधी तीन सय ६० मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रतिवेदन सार्वजनिक गरे पनि काम भने सुरु गर्न सकेन ।

सन् १९९४ जुलाई ७ का दिन अष्ट्रेलियाको ‘स्नोइ माउन्टेन्स इन्जिनियरिङ कर्पोरेसन लिमिटेड’ (स्मेक)सँग पश्चिम सेती जलविद्युत् परियोजना अघि बढाउने भनेर नेपाल सरकारले सम्झौतापत्रमा हस्ताक्षर ग-यो । सरकारबाट अनुमति पाइसकेपछि स्मेकले सन् १९९४ देखि २००६ सम्म निर्माण कार्यसम्पन्न गर्ने नेपाल सरकारलाई लगानी जुटाउँदै गरेको आश्वासन दिँदै २० वर्ष बितायो । सम्झौता गरेको २० वर्षसम्म पनि स्मेकले अनेक बहानामा आयोजनाको काम अघि बढाएन । सरकारले सो कम्पनीसँग सम्झौता रद ग-यो । त्यसपछि सरकारले बहुराष्ट्रिय चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनसँग सम्झौता ग-यो ।

तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा थ्री गर्जेजसँग ५ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने भनेर ऊर्जा मन्त्रालयले सन् २०१२ फेब्रवरी २९ मा सम्झौता ग-यो । सम्झौतामा सन् २०१४ देखि निर्माण कार्य सुरु गरी २०१९ मा निर्माण कार्य सम्पन्न गर्ने उल्लेख गरिएको थियो । आयोजना क्षेत्रको मुआब्जा, पुनर्वास र पुनर्स्थापना कार्य महंगो भएकाले थ्री गर्जेजले पश्चिम सेती परियोजनाबाट हात झिकेको हो । सुरुवाती चरणमा आयोजनाको लागत एक खर्ब २० अर्ब अनुमान गरिएको भए पनि अहिले १ खर्ब ८० अर्ब पुग्ने भएपछि थ्री गर्जेजले परियोजना नबनाउने भएको हो । नेपालको राजनीतिक अवस्था देखेर थ्री गर्जेज बाहिरिन खोजेको कतिपयको भनाइ छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x