Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाललामो समयदेखि वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा हजारौं कन्टेनर होल्डमा

लामो समयदेखि वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा हजारौं कन्टेनर होल्डमा


सन्तोष पौडेल
बीरगञ्ज, जेठ २७
भारत तथा तेस्रो मुलुकबाट आयात भएका मालवस्तुको कन्टेनर वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा लामो समयदेखि होल्ड भएपछि विलम्ब शुल्कको चिन्ता सुरू भएको छ । एउटा कन्टेनर १४ दिनभन्दा बढी होल्ड भयो वा फिर्ता गएन भने प्रतिदिन १२ देखि १५ हजार रूपैयाँसम्म विलम्ब शुल्क लाग्ने भएकोले सो शुल्क माफ गराउन सिपिङलाइन कम्पनीसँग नेपाल सरकारले पहल गर्नुपर्ने सरोकारवालाहरूले माग राखेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले विज्ञप्ति निकाल्दै लकडाउनले मालसामान आयातमा समस्या उत्पन्न भई दुई महीनादेखि चार हजार कन्टेनर सुक्खा बन्दरगाहमा अड्केकाले विलम्ब शुल्कको समस्या समाधान गर्न नेपाल सरकार अघि बढ्नुपर्ने माग गरेको थियो । सुक्खा बन्दरगाहमा अहिले भारतको कोलकाता, हल्दिया, विशाखापट्टनम बन्दरगाहबाट रेलमार्ग हुँदै चार हजार कन्टेनर आएर होल्ड भएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाका अनुसार सिपिङलाइन कम्पनीले एउटा कन्टेनरको एक दिनको १३ हजार रूपैयाँको दरले विलम्ब शुल्क तोक्यो भने पाँच करोड २० लाख रूपैयाँ हुन आउँछ । यसरी एक महिनाको विलम्ब शुल्कबापत एक अर्ब ५६ करोड रूपैयाँ हुनेछ ।

कोरोना महामारीको कारण विभिन्न सिपिङलाइन कम्पनी र भारतीय कोन्करले विभिन्न समयमा विलम्ब शुल्कमा छुट पनि दिँदै आएकाले सही समयमा सरकारले पहल नगरे नेपाली व्यवसायी विलम्ब शुल्ककै कारण कंगाल हुने व्यवसायीहरूको तर्क छ । विश्वव्यापी महामारीका कारण नेपालको पनि जनजीवन, उद्योग, व्यापार, राष्ट्रिय अर्थतन्त्र धराशायी हुने संघारमा पुगेको अवस्थामा आईसीपी र ड्राइपोर्टमा थुप्रिएका कन्टेनरको विलम्ब शुल्कको समस्या हल गर्नु आवश्यक देखिएको वीरगञ्जका अर्का व्यवसायी प्रदीप केडिया बताउँछन् । कन्टेनरको पार्किङ शुल्क र विलम्ब शुल्क आदि लकडाउन अवधिसम्मका लागि केही सिपिङलाइन कम्पनीले छुट दिएका छन् । यस्तो छुट विश्वका सबै सिपिङलाइनले दिनुपर्ने व्यवसायीहरूको माग छ ।

भारत सरकारले एउटा निर्देशन जारी गरी भारतीय बन्दरगाह भएर भारतमा आयात हुने मालवस्तुको कन्टेनरको लकडाउनको सम्पूर्ण अवधिसम्ममा लाग्ने डिटेन्सन शुल्कसमेत सबै सिपिङ कम्पनीबाट छुट गराएको छ । तर नेपाल सरकारले यस विषयमा कदम चाल्न नसकेको व्यवसायीहरूको आरोप छ । विदेशबाट कन्टेनरमा मालसामान ढुवानीका लागि मक्र्सलाइन, एमएसी, बीपीएललगायत दजर्नौं सिपिङलाइन कम्पनीहरूले सेवा उपलब्ध गराउँदै आएका छन् ।


क्याटेगोरी : नेपाल, बिबिध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x