Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसात वर्षपछि आयो कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयमा

सात वर्षपछि आयो कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिम विश्वविद्यालयमा


कञ्चनपुर ।
सुदूरपश्चिम प्रदेशको उत्कृष्ट सामुदायिक क्याम्पस कैलाली बहुुमुखी क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा समायोजन भएको छ । विश्वविद्यालयको सिनेटले आंगिक क्याम्पसका लागि स्वीकृत गरेको सात वर्षपछि क्याम्पस समायोजन भएको हो । सात वर्षअघि कैलाली बहुुमुखी क्याम्पससहित १५ सामुदायिक क्याम्पसलाई सुप विश्वविद्यालयमा समायोजन गर्ने निर्णय भएको थियो । १५ मध्ये कैलाली बहुमुखी क्याम्पस मात्रै समायोजनमा आएको थिएन ।

सुप विश्वविद्यालय सभाको ३० भदौ ०७० को बैठकले एक पहाड एक तराईको क्याम्पस समायोजन गर्ने निर्णयअनुरूप कैलाली जिल्लाको धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस र बझाङ चैनपुरको जयपृथ्वी बहुमुखी क्याम्पसलाई समायोजन गर्ने निर्णय गरिएको थियो । तर, कैलाली बहुमुखी क्याम्पस समायोजनमा आएन् । फेरि २०७१ को सुप विश्वविद्यालय सभाको थप १३ सामुदायिक क्याम्पसलाई आंगिक क्याम्पस बनाउने अर्को निर्णय गरेको थियो । उक्त निर्णयसँगै १४ क्याम्पस मात्रै समायोजनमा आएका थिए ।

यसअघि टीकापुर बहुमखी क्याम्पस, दुर्गालक्ष्मी, जगन्नाथ, जनता, दार्चुला, गोकुलेश्वर, मणिलेक, पाटन, घण्टेश्वरसेती, सीताराम, त्रिवेणी, जयपृथ्वी, बाजुरा बडिमालिक बहुमुखी क्याम्पस समायोजनमा आइसकेका छन् । सुप विश्वविद्यालयका रजिष्टार डा. गोबिन्द विष्टका अनुसार अन्य १४ क्याम्पस समायोजनमा आए पनि कैलाली आएको बताए । उनले आइतबार कैलाली बहुमुखी क्याम्पस र सुप विश्वविद्यालयबीच भएको सहमतिअनुरूप समायोजनमा आउने भएको जानकारी दिए ।

सुप विश्वविद्यालयका तर्फबाट उपकुलपति डा. अमरराज जोशी, रजिष्टार डा. गोबिन्द विष्ट, कैलाली बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष एवं जिसस कैलालीका प्रमुख सुर्य थापा, सञ्चालक समितिका उपाध्यक्ष एव धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड, क्याम्पस प्रमुख पदमराज जोशीले सहमतिमा हस्ताक्षर गरेका छन् । सहमतिअनुरूप अगामी शैक्षिक सत्रदेखि सुप विश्वविद्यालयकै पाठ्यक्रम कार्यक्रम लागू हुनेछन् ।

‘कैलाली बहुमुखी क्याम्पस र विश्वविद्यालयबीच एक सय १० दरबन्दी स्वीकृत गर्ने सहमति भएको छ’, रजिष्ट्रार विष्टले भने, ‘यसअघि दरबन्दीलगायत विविध समस्या हुँदा कैलाली समायोजन हुन सकेन ।’ सम्झौता हुँदादेखिको बखतमा जो जे अवस्थामा छन्, त्यही अवस्थामा समायोजन हुने सम्झौता भएको उनले बताए । रजिष्ट्रार विष्टका अनुसार २४ असोज ०७४ मन्त्रीपरिषद्को निर्णयअनुरूप समायोजनमा आएका चार सय ४४ दरबन्दी स्वीकृत गरिएका थिए । अन्य १४ क्याम्पस १ साउन ०७५ सालमै समायोजनमा आइसकेका थिए ।

गत पुसमा सुप विश्वविद्यालय सभाले ऐन परिमार्जन गरेसँगै कैलाली बहुमुखी क्याम्पस समायोजनमा आएको बताउँदै रजिष्टार विष्टले समायोजन प्रक्रिया अघि बढिरहेको बताए । कैलाली बहुुमुखी क्याम्पसका प्रमुख पदमराज जोशीले ०७४ सालदेखि सुप विश्वविद्यालयको सभा बस्न नसक्दा केही नमिलेका विषय ०७७ को सभाले टुङ्गो लगाएकाले समायोजनमा गएको बताए । सुप विश्वविद्यालयमा कैलाली क्याम्पस समायोजन भएसँगै विश्वविद्यालयको उपलब्धि थपिएको प्राध्यापक कर्मचारीको भनाइ छ ।

सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसमा कार्यरत उपप्राध्यापक वीरबहादुर सिंह(ठकुरी)ले ढिलै भए पनि कैलाली बहुमुखी क्याम्पस विश्वविद्यालयमा समायोजन भएसँगै सुप प्रदेशकै शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव ल्याउने बताए । विश्वविद्यालय स्थापनाका लागि गरिएको आन्दोलनमा घाइते समेत भएका पूर्वनेपाल विद्यार्थी संघका नेता एवं विश्वविद्यालयका कर्मचारी मनोज चन्दले कुसल नेतृत्वका कारण कैलाली बहुमुखी क्याम्पस समायोजन भएको बताए ।


क्याटेगोरी : नेपाल, बिबिध

तपाईको प्रतिक्रिया