Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठराजनितिविप्लवलाई सरकारको नेतृत्व गर्ने हुटहुटी

विप्लवलाई सरकारको नेतृत्व गर्ने हुटहुटी


बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारको नेतृत्व गर्ने हुटहुटी चलेको बताएका छन् । उनले शनिबार बुटवलमा आयोजित अन्तरक्रिया कार्यक्रममा संविधान संशोधन, जनमत संग्रह वा निर्वाचन जुनसुकै विधिबाट आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताएको हुन् ।

साथै, उनले पाँच वर्ष सरकारको नेतृत्व गर्न पाए देशमा धेरै परिवर्तन गर्नसक्ने बताएका छन् । ‘जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट भएपनि जनताबाट चुनिएर सरकारको नेतृत्वमा जाने कुरामा हाम्रो विमति छैन तर त्यसो गर्दा स्थिरता हुनुपर्छ, किसान र मजदुर वर्गको प्रतिनिधित्व सुनिश्चित हुनुपर्छ’, विप्लवले भने, ‘एकपटक सरकारको नेतृत्वमा पुगेर गोरुझैं जोतिएर पाँच वर्ष काम गरी देशलाई परिवर्तन गर्ने असाध्यै हुटहुटी छ ।’

सो क्रममा उनले अन्य दलहरुसँग एकपटक आफूलाई सरकारको नेतृत्व दिन आग्रह गरे । २०औँ शताब्दीको वैज्ञानिक समाजवाद पूर्णरुपले सफल हुन नसकेकाले नेपाली विशेषताको समाजवादी व्यवस्थामा जानुपर्ने आफ्नो पार्टीको स्पष्ट लाइन रहेको खुलाउँदै उनले दलाल पुँजीवाद र साम्राज्यवादको हस्तक्षेपले मुलुकको राष्ट्रिय स्वाधीनता र अर्थतन्त्र परनिर्भर भएकाले देशलाई स्वाधीन र आत्मनिर्भर बनाउन नेपाली विशेषताको समाजवादमा सबै दल सहमत हुनुपर्ने आग्रह गरे ।

सबैजसो दलहरुले कुनै न कुनै समाजवाद भनिरहेका बेला देशलाई निकास दिने नेपाली विशेषताको समाजवाद नै भएको भन्दै उनले यसमा कांग्रेस लगायत लोकतान्त्रिक शक्ति र वामपन्थी दलहरुबीच वहस हुनुपर्नेमा जोड दिए । उनले भने, ‘हाम्रो दुश्मन शक्ति भनेको दलाल पुँजीवाद र साम्राज्यवाद हो जसले नेपालको प्राकृतिक स्रोत, राष्ट्रिय पुँजी र सम्पदामाथि हमला गरिरहेको छ, अरु शक्तिसंग मिलेर जान तयार छौं ।’

अहिलेको व्यवस्थामा अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षा निकाय समेत भ्रष्टाचारमा डुबेको थुप्रै उदाहरण देखिएको र यसको कारण दलाल पुँजीवाद नै भएको चन्दको तर्क छ । सबैजसो दलका नेता श्रम संस्कारबाट च्यूत भएको भन्दै उनले विदेशमा गएर गर्ने जस्तो मेहनत र श्रम देशमै गरे मात्रै मुलुक बन्ने बताए ।


क्याटेगोरी : राजनिति

तपाईको प्रतिक्रिया