फाप्लुको जंगलबीचमा बनेको वृद्धाश्रमको भवन अलपत्र
सोलुखुम्बु । सोलुखुम्बुको फाप्लु यार्मादिङको जंगलको बीचमा बनेको वृद्धाश्रम सेवा सदन १२ वर्षदेखि अलपत्र बनेको छ । सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लु यार्मादिङको जंगलबीचमा विसं २०६७ सालमा वृद्धाश्रम सेवा सदन निर्माण गरिएको थियो ।
बृद्धाश्रम भवनमा तीनवटा एटेजसहितका कोठा छन् भने बाँकी सामान्य किसिमका कोठाहरू छन् । कसले केका लागि जंगलको बीचमा यो संरचना निर्माण ग-यो भन्नेबारेमा स्थानीय बेखर छन् । स्थानीय छोङ्बा लामा शेर्पाले भने, ‘यसबारे हामीलाई केही थाहा छैन, वृद्धाश्रम खोलिए पनि सञ्चालनमा आएको छैन । यो जंगलमा के गरेको हो, वर्षैपिच्छे सरकारी बजेटचाहिँ आउँदोरहेछ, काम त्यति धेरै केही पनि भएको देखिँदैन । त्यो पैसा के गर्छ खै, यहाँ त मनपरी छ नि, भनेर साध्य नै छैन ।’ लामो समयदेखि अलपत्र बनेको यो आश्रमको विषयमा पटक–पटक गुनासो आइरहेका छन् ।
‘वृद्धाश्रमको नाममा लुटतन्त्र भइरहेको छ, अहिलेसम्म राज्यको करोडौँ खर्च भइसकेको सुन्नमा आएको छ, यहाँ हामी स्थानीय हो, हामी कसैलाई पनि थाहा नदिई रकम आउँछ, खर्च गर्छन् १२ वर्षदेखि नै यही क्रम चलिरहेको छ, वृद्धाश्रमको नाममा कमाइखाने धन्धाजस्तै बनेको छ’, स्थानीय कुल बहादुर घिमिरेले भने । वृद्धाश्रमको माथिल्लो भागबाट अहिले पहिरो गएको छ । वर्षेनी कुनै न कुनै बहानामा यस भवनमा सरकारी बजेट खर्च भइरहेको स्थानीय संगिता विकले बताइन् । १२ वर्षको अवधिमा यस वृद्धाश्रममा राज्यको करोडौँ रूपैयाँ लगानी भएको छ । तर विडम्बना खर्च भएको उक्त बजेटको कुनै लेखाजोखा भने छैन । बजेटको हिसाब किताबबारे वृद्धाश्रम सेवा सदनका समिति नै बेखबर छन् ।
वृद्धाश्रम सेवा सदन समितिका अध्यक्ष आङ ङिमा लामाले यसबारे केही बताउन चाहेनन् । उनले यो आश्रमका विषयमा अहिले आफूले केही नबोल्ने बताए । समितिका सचिव रमेशकुमार खड्काले भने अध्यक्षको एकलौटी निर्णयमा चल्ने भएकाले समितिसँग सल्लाह नै नहुने जानकारी दिए । ‘अहिलेसम्म ३÷४ करोड जति खर्च भएको छ रे, तर त्यो विषयमा मलाई केही जानकारी छैन । अध्यक्ष आङ ङिमा दाइसँग पनि मेरो बेलाबेला यही कुरामा डिस्कस भइरहन्छ, यत्रो रकम कहाँ कसरी खर्च भयो भनेर सोध्छु, तर उहाँ भन्नुहुन्न’, उनले भने, ‘आफ्नै हिसाबले चलेको छ, मलाई तिमी सचिव बस्दिनुप¥यो भने, मैले हुन्छ नि त भनेँ तर त्योभन्दा बाँकी सबै उनीहरूले नै गर्छन् । म यसमा बेखबर नै छु । कहाँबाट कति बजेट आयो कसरी खर्च हुन्छ मलाई नभनेपछि म कसरी जान्दछु र ? यसमा मेरो पनि बिमति छ ।’
वृद्धाश्रमका लागि सोलुदुधकुण्ड नगरपालिकाले समेत चालू आर्थिक वर्षमा २० लाख बजेट विनियोजन गरेको छ भने सहरी विकास कार्यालय ओखलढुंगाले १० लाख बजेट विनियोजन गरेको छ । नगरपालिकाको बजेटबाट शयनकक्ष, घेराबारको काम हुने जनाइएको छ तर अहिलेसम्म काम भएको छैन । सहरी विकासको बजेट भने टेन्डर भइसकेको छ । वृद्धाश्रमका लागि केही वर्षअघि पनि सोलुदुधकुण्ड नगरपालिकाले रकम विनियोजन गरेको थियो । यस्तै प्रदेश सरकारबाट समेत बजेट छुटिएको स्थानीय बताउँछन् । वडा नम्बर ४ फाप्लुका वडाध्यक्ष युवास तामाङ यस आश्रमबारे आफूलाई पनि पूर्ण जानकारी नभएको बताउँछन् ।
अपारदर्शी भएको जनगुनासो धेरै भएपछि आफू जिज्ञासा राख्दा विभिन्न क्षेत्रबाट बजेट आइरहेको बताए पनि अहिलेसम्म प्रगति नदेखिएको तामाङको भनाइ छ । वृद्धाश्रम सेवा सदन भनेको वृद्धवृद्धाको हेरचाह गर्ने ठाउँ हो । तर वृद्धवृद्धाको नाममा वर्षेनीजसो बजेट विनियोजन भई काम नहुनु र अपारदर्शिताको ट्याग भिरेर समिति नै पन्छिरहनुले गम्भीर आशंका उत्पन्न गरेको छ । जसका कारण सोझै अनियमिताको संकेत गरेको सरोकारवालाहरू बताउँछन् । १२ वर्षदेखि राज्यको करोडौं रकम खर्च भए पनि सीमित व्यक्ति एकलौटी हिसाबमा अघि बढ्दा राज्यको लगानी दुरूपयोग भएको स्थानीय बताउँछन् ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया