मुग्लिन–पोखरा सडक विस्तार: पूर्वी खण्डमा नौ किमी कालोपत्र
दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा सो प्रगति हासिल भएको हो ।
सडक फराकिलो बनाइएका ठाउँमा कालोपत्र गर्ने काम अगाडि बढेको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । ४१ दशमलव पाँच किलोमिटर खण्डमध्ये हालसम्म नौ किलोमिटर खण्ड एकतर्फी कालोपत्र सकिएको उनले जानकारी दिए ।
त्यस्तै, थप पाँच किलोमिटर कालोपत्र गर्ने काम बुधबारदेखि सुरु भएको छ । आँबुखैरेनी गाउँपालिका–३ गाउँपालिका चोकबाट मार्कीचोकसम्म जोड्ने गरी अल्स्फाट प्रविधिको कालोपत्र सुरु गरिएको उनले बताए । उनले भने, ‘गाउँपालिका चोकबाट सुरु गरेर गत असार महिनामा कालोपत्र गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी बुधबारदेखि कालोपत्रको काम अगाडि बढेको छ ।’
यसअघि आँबुखैरेनी–१ सत्रसयबाट सुरु गरेर मार्किचोकसम्म गरी तीन दशमलव पाँच किलोमिटर दूरीमा कालोपत्र सम्पन्न भइसकेको छ । अहिले १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ कालोपत्रको काम अघि बढेको आयोजनाले जनाएको छ । उनका अनुसार बन्दीपुर गाउँपालिका–१ नाहालाबाट छिर्कनेसम्म पाँच दशमलव पाँच किलोमिटर र आँबुखैरेनी–१ बरादीमा तीन दशमलव पाँच किलोमिटर खण्ड कालोपत्र सकिएको छ । उनले भने, ‘दुई ठाउँमा एकतर्फीरूपमा नौ किलोमिटर खण्ड कालोपत्र सकिएको छ । केही समयपश्चात् अर्कोतर्फ पनि कालोपत्रको काम हुनेछ ।’
पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा धमाधम काम भइरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा काम तीव्रगतिमा अगाडि बढेको उनको भनाइ छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणले पनि गति लिएको छ ।
राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम चलिरहेको छ । यो खण्डमा छ सय ३१ घरटहरा भत्काइने छ । त्यसका लागि २२ करोड ४५ लाख रुपैयाँ मुआब्जा वितरण गरिनेछ । पूर्वी खण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता भई २०७८ बैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ बैशाखसम्म रहेको छ ।
पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ भदौसम्म रहेको छ । पश्चिम खण्डको काम भने १२ प्रतिशतमात्रै सकिएको बताइएको छ ।
२०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपैयाँमा लागेको छ ।
चार लेनको बन्दा सडकसीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने जनाइएको छ । रासस
क्याटेगोरी : पूर्वाधार विकास / उर्जा
ताजा अपडेट
- पारदर्शी बन
- खानेपानीमा कर र विद्युत् महसुल पूर्ण छुट हुनुपर्ने माग
- ‘नेपाल–बङ्गलादेशबीच विद्युत् व्यापार गर्न आवश्यक पर्ने प्रक्रिया पूरा हुने प्रक्रियामा’
- लैङ्गिक हिंसाविरुद्धको प्रतिकार्य सुदृढीकरणका लागि विश्व बैंकको ४६ लाख अमेरिकी डलरको योजना
- धादिङमा मीटरव्याजीको प्रहरी आतंक
- कुन मन्त्रीसँग कति सम्पत्ति ?
- सञ्चारगृहमा राज्यको हस्तक्षेप
- बेचबिखनविरुद्धका मुद्दामा छिटो फैसला हुन आग्रह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया