Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपूर्वाधार विकास / उर्जा५५ अर्बबढी लगानीको बुढीगण्डकी जलविद्युत् निर्माणको प्रक्रिया अघि बढाइयो

५५ अर्बबढी लगानीको बुढीगण्डकी जलविद्युत् निर्माणको प्रक्रिया अघि बढाइयो


गोरखा । गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकाका केही भूभाग समेटेर बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्ने प्रक्रिया अघि बढेको छ । धार्चेको वडा नं.१, ३ र चुमनुब्रीवडा नं.३ मा आयोजना निर्माणका लागि प्रक्रिया अघि बढाइएको हो ।

टाइम्स इनर्जी प्राइभेट लिमिटेडले साढे ५५ अर्ब रुपैयाँ लगानी गर्ने लक्ष्यका साथ तीन सय ४१ मेगावाटको जलविद्युत् आयोजना निर्माणको प्रक्रिया अघि बढाएको हो । आयोजनाको निर्माण सम्पन्न गर्न ५५ अर्ब ५७ करोड ९० लाख रुपैयाँ लागत अनुमान गरिएको कम्पनीले तयार पारेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख छ । यसका आधारमा आयोजनाको प्रतिमेगावाट लागत १६ करोड २९ लाख ८८ हजार रुपैयाँ लाग्ने देखिएको छ ।

यो आयोजना पिकिङ रन अफ रिभर प्रकारको हो । आयोजनाको बाँधस्थल र जलासय चुमनुब्री गाउँपालिका रहने गरी डिजाइन तयार पारिएको छ । बाँधस्थल र जलासय मनास्लु संरक्षण क्षेत्रमा पर्दछ । बाँकी संरचनाहरू संरक्षण क्षेत्र बाहिर पर्दछन् ।

आयोजनाको जलाधार क्षेत्रफल ३ हजार ६ सय २८ वर्ग किलोमिटर रहने गरी डिजाइन गरिएको छ । आयोजनामा ५ दशमलव ८ किलोमिटर लामो हेडरेस टनेल निर्माण हुनेछ ।

टनेलमार्फत पानीलाई भूमिगत विद्युत्गृहमा पुर्याइने छ । विद्युत्गृहमा ६ वटा ५७ मेगावाट क्षमताको टर्वाइन जडान हुनेछ । सो टर्वाइनसँग जोडिएको जेनेरेटरमार्फत विद्युत् उत्पादन गरिने कम्पनीले जनाएको छ ।

आयोजनाको सबै काम पूरा गरे २०८५ चैतदेखि व्यवसायिक उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । आयोजना निर्माण पूरा भएपछि वार्षिक १ हजार ८ आठ ३७ दशमलव १६ गिगावाट घन्टा विद्युत उत्पादन गर्न सक्छ । उत्पादित ऊर्जालाई करिब ४५ किमि प्रसारण लाइन निर्माण गरेर रातमाटे सबस्टेसनमा जोडिनेछ ।

आयोजनाको विभिन्न संरचना निर्माणका लागि ५६ दशमलव २२ हेक्टर जमिन चाहिने प्रतिवेदनमा उल्लेख छ । जसमध्ये ४९ दशमलव ६२ हेक्टर स्थायी रूपमा र ६ दशमलवल ६ हेक्टर अस्थायी रूपमा आवश्यक पर्ने देखिएको छ ।


क्याटेगोरी : पूर्वाधार विकास / उर्जा

तपाईको प्रतिक्रिया