Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाप्रतिनिधिसभा: हराएको उत्तरपुस्तिका विषयमा अध्ययन भइरहेको छ : शिक्षामन्त्री श्रेष्ठ

प्रतिनिधिसभा: हराएको उत्तरपुस्तिका विषयमा अध्ययन भइरहेको छ : शिक्षामन्त्री श्रेष्ठ


काठमाडौँ । प्रतिनिधिसभाको आकस्मिक, शून्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्न तथा विषयमाथि जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षाका केही उत्तरपुस्तिका हराएको विषयमा छानबिन समिति गठन गरी अध्ययन भइरहेको बताइन् । उनले तोकिएको परीक्षा तालिका परिवर्तन भएको विषयमा पनि छानबिन समिति गठन भइ अध्ययन सुरु भएको बताइन् ।

“प्रतिनिधिसभामा यही चैत १ देखि २० गतेसम्म शिक्षा मन्त्रालयसँग सम्बन्धित ४५ वटा प्रश्न तथा धारणा उठेका छन्”, उनले भनिन, “उत्तरपुस्तिका हराएको, तोकिएको समयमा परीक्षा सञ्चालन हुन नसकेको विषयमा छानबिन समिति गठन गरी अध्ययन भइरहेको छ ।”

शिक्षकको अनुमतिपत्र तथा सेवा आयोगको परीक्षामा सोधिने प्रश्नहरुमाथि अध्ययन भइरहेको उनको भनाइ थियो । सूचना प्रविधिको अहिलेको समयमा कस्तो शिक्षकबाट पठनपाठन भइरहेको छ भनेर अध्ययन गर्न विज्ञसम्मिलित समिति बनाइएको पनि उनले संसदलाई जानकारी गराइन् । शिक्षक सेवा आयोगले तोकेको शिक्षक भर्नासम्बन्धी मापदण्डलाई पुनरावलोकनका लागि कार्यदल गठन भएको पनि सांसद श्रेष्ठले बताइन् ।

शिक्षामन्त्री श्रेष्ठले नेपालमा थप मेडिकल कलेज खोलेर विदेशी विद्यार्थी ल्याउन सकिने/नसकिने विषयमा गृह मन्त्रालयसँग छलफल भइसकेको बताइन । “अहिले नेपालमा आउने विदेशीलाई पर्यटक र गैर–पर्यटन भनेर छुट्याइने रहेछ । अध्ययनका लागि आउनेहरुका विषयमा पनि के गर्न सकिन्छ भनेर अध्ययन तथा छलफल भइरहेको छ”, उनले भने ।

शिक्षामन्त्री श्रेष्ठले विद्यार्थीले पढाइ शूल्क बुझाउन नसकेका कारण परीक्षामा सम्मिलित हुन नपाएको भन्ने गुनासो आएकोमा त्यसबारे यकिन जानकारी पाउन सके कारबाही प्रक्रिया थाल्ने बताइन् ।

उनले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता रहेको भन्दै प्राविधिक र व्यवहारिक शिक्षालाई थप परिणाममुखी बनाउन मन्त्रालयले काम गरिरहेको पनि बताइन् । त्रिभुवन विश्वविद्यालयबाट गरिने सम्पूर्ण कामलाई डिजिटल प्रविधिमा लैजान बोलपत्र प्रक्रिया अघि बढिसकेको र यसपछि ट्रान्सक्रिप्टलगायतका प्रमाणपत्रहरु डिजिटल रुपमै उपलब्ध गराउने गरी काम अघि बढाइएको उनको भनाइ छ ।

प्राविधिक शिक्षालाई निःशुल्क बनाउने तथा यस्तो शिक्षा लिइसकेका व्यक्तिलाई सिधैँ श्रमबजारसँग जोड्नेबारे कसरी काम गर्न सकिन्छ भनेर मन्त्रालयले अध्ययन गरिरहेको उनको दाबी छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा

तपाईको प्रतिक्रिया