नक्कली भुटानी शरणार्थी प्रकरण
राजनीतिक नेतृत्वमाथि भ्रष्टाचार मुद्दा २४ देखि ७५ वर्षसम्मका सबैलाई एउटै मुद्दा
काठमाडौं,नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश लैजाने योजना बनाएर पैसा उठाएको प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँडलगायत ३० जनाविरुद्ध भ्रष्टाचारसहित विभिन्न पाँच कसुरमा कारबाहीको माग गर्दै काठमाडौं जिल्ला अदालतमा बुधबार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उक्त मुद्दा दायर गरेको हो ।
नेपाल प्रहरीले दुई दिनअगाडि बुझाएको प्रतिवेदनको अध्ययन गरी सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोगपत्र दायर गरेको हो । गजेन्द्र बुढाथोकीसमेतको जाहेरीले नेपाल सरकार वादी भएको उक्त मुद्दामा ३० जनाविरुद्ध कानुनी प्रक्रिया सुरु भए पनि बयानका क्रममा प्रतिवादीहरूले लिएका नामका विषयमा प्रहरीले थप अनुसन्धान गर्नेछ ।
प्रहरीसँगको बयानमा केही प्रतिवादीले नाम लिएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती सांसद डा. आरजु राणा देउवा, मुद्दा दायर गरिएका खाँडकी श्रीमती सांसद मञ्जु खाँड, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरू राजेश बज्रचार्य र डा. अजय क्रान्ति शाक्य, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र नेपाल प्रहरीका आईजीपी बसन्त कुँवरलगायतका अन्य व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन पेस गर्नेछ । त्यसपछि थप व्यक्तिमाथि मुद्दा दायर हुने बताइएको छ ।
प्रतिवादीविरुद्ध ठगी, सांगठित अपराध, किर्ते, राज्यविरुद्धको अपराध र एकीकृत कसुरमा सजाय गर्न माग गरिएको छ । उनीहरू सबैले नेपालीहरूलाई भुटानी शरणार्थीको लिस्टमा नाम समावेश गरेर अमेरिकालगायतका देशमा पुनर्वास गराउने भनेर रकम उठाएर लिएको आरोप लागेको छ ।
प्रहरीले पक्राउ गरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएर मुद्दा दायर गरिएकाहरूमा ४९ वर्षका केशव प्रसाद दुलाल, ५० वर्षका सानु भण्डारी, ४४ वर्षका सागर राई, ३४ वर्षका सन्देश शर्मा, ४६ वर्षका टंक कुमार गुरुङ, ७३ वर्षका डा. ईन्द्रजित राई, ६२ वर्षका टोपबहादुर रायमाझी, ३३ वर्षका सन्दिप रायमाझी, ५१ वर्षका टेक नारायण पाण्डे, ५६ वर्षका नरेन्द्र केसी, ५३ वर्षका विक्रम भन्ने गोविन्द कुमार चौधरी, ५१ वर्षका राम शरण केसी, ६२ वर्षका बालकृष्ण खाँड, ७१ वर्षका आङटावा शेर्पा, ४८ वर्षका शमशेर मियाँ, ७५ वर्षका भुटानी नागरिक टेकनाथ रिजाल छन् ।
फरार रहेका तर जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेका अन्यमा ५८ वर्षको केशव तुलाधर, ३२ वर्षको लक्ष्मी महर्जन, ३४ वर्षको हरिभक्त महर्जन, अमेरिका बस्ने अशोक पोखरेल, ३९ वर्षका धिरेन राई, दिप हुमागाञी, ५० वर्षका निरज राई, ३० वर्षका राजेश अर्याल, ६० वर्षका मोहनराज राई, २४ वर्षका आशिष बुढाथोकी, ४० वर्षकी बिनिता सावदेन लिम्बू, ४२ वर्षका निरञ्जन कुमार खरेल, ३१ वर्षका सुनिल बुढाथोकी र ३६ वर्षका प्रतिक थापा छन् । प्रतिक पूर्वगृहमन्त्री रामबहादुर थापाको छोरा हुन् भने सन्दिप रायमाझी बुधबार मुद्दा दायर गरिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । पाण्डे खाँड गृहमन्त्री भएको बेलाका गृहसचिव हुन् ।
उनीहरूबाट २८ करोड, ८१ लाख, ७४ हजार पाँच सय रुपैयाँबराबारको मात्र बिगो माग गरिएको छ । धेरै व्यक्तिसँग पैसा उठाएको अनुमान प्रहरीले गरे पनि उजुरीको आधारमा मात्र २८ करोड ठगी भएको देखिएको हो । रायमाझी नेकपा एमालेका सांसद तथा केन्द्रीय सचिव हुन् भने खाँड कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री हुन् । शेर्पा नेपाली कांग्रेसका पूर्वसभासद हुन् । शेर्पाविरुद्ध भने उजुरी नै परेको थियो । पूर्वउपप्रधानमन्त्री र पूर्वगृहमन्त्री खाँडका बारेमा पनि पक्राउ परेका भण्डारी र दुलालले पैसा बुझाएको भनेर नाम लिएको आधारमा पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेको हो ।
भुटानी शरणार्थी बनाएर अमेरिकालगायतका देशमा पुनर्वासका लागि लैजान भनेर उनीहरूले रकम लिएको भन्दै गजेन्द्र बुढाथोकी, रामकुमार रेग्मी, रोशन खरेल र गोकुल भट्टराई, सुमन दाहाल, कुमार खड्का, प्रदिप फुँयाल, मिलन श्रेष्ठ, रविन्द्र कार्की, दिलिप गौतम, खगेन्द्र थेवे, भुवन सिंह लिम्बू, डिल बहादुर कुसारी, डम्बर बहादुर खत्री, पदम सिंह खत्री, शोभाराम राना क्षेत्री, सन्दिप वली, सुष्मा चन्द, मन बहादुर खत्री, भेषराज शर्मा लम्साल, समिर शिवाकोटी, रोशन शिवाकोटी, सन्तोष भट्टराई, प्रेमराज पन्थी, डम्बर बहादुर खत्री, पेम्बा शेर्पा, सुनिता गौतम, प्रितम शर्मा, यम बहादुर परियारलगायतका व्यक्तिले दिएको उजुरीको आधारमा प्रहरीले छानबिन गरेको हो । उक्त अपराधमा २४ वर्षदेखि ७५ वर्षसम्मका व्यक्ति संलग्न छन् र सबैको एउटै उद्देश्य छ, नेपालीलाई भुटानी शरणार्थीको नाममा अमेरिकालगायतका देशमा स्थायी बसोबासको व्यवस्था गर्ने ।
क्याटेगोरी : सुरक्षा अपराध
ट्याग : #Page 1
ताजा अपडेट
- सर्वोच्च अदालतमा नागरिकता विधेयक खारेजीको माग
- सिटिइभिटीका कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन
- स्वास्थ्यमन्त्रीद्वारा विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही
- भारतीय दूतावास अगाडि युवा संगठनको विरोध प्रदर्शन
- नक्कली ‘वर्क पर्मिट’ बनाएर ठगी गर्ने गिरोहसँग सावधान
- पाँच वर्षमा हुने संसारीमाईको सप्ताहव्यापी महापूजा सुरु
- देउवाले गरेका पार्टी हित विपरीतका निर्णय सहेर नबस्ने : गगन थापा
- सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया