Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधबहुमूल्य बोधिचित्तको रुख काट्ने चारजना पक्राउ

बहुमूल्य बोधिचित्तको रुख काट्ने चारजना पक्राउ


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेका थिए । बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको तामाङले बताए ।

उनका अनुसार फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो । उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष तीन करोडमा बिक्री गर्न बैना गरिएको थियो ।

प्रभातलाई शनिबार काठमाडौँको वनस्थलीबाट पक्राउ गरेको हो भने मैनाली र दुर्गालाललाई काभ्रेपलाञ्चोकको बनेपाबाट आइतबार पक्राउ गरिएको थियो । मानबहादुरलाई रुख काटेकै दिन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ । अन्य दुई जनाको म्याद थप गरी थप अनुसन्धान थालिने छ ।

घरका ढोका र आँगनमा रुखधनी तामाङको रुख काटेपछि चार सकेट बम राखिएको प्रहरीले जानकारी दिए । उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले निस्क्रिय पारेको थियो । प्रहरीले घटनामा संलग्न अन्यको खोजी भइरहेको जनाएको छ ।

उक्त रुखमा फलेको फल चार वर्षअघि पनि लुटिएको थियो । रुख काट्ने समूहले नै उक्त समयमा फल लुटेको हुनसक्ने प्रहरीले अनुमान गरेका छ । बोधिचित्त मालाको तामाङ समुदाय र विशेष गरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक महत्व छ । पीडित ठाकुरानीले पक्राउ परेका चारसहित आठ जनाविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेका छन् ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया