Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशसात करोडको सिटी स्क्यान मेसिन सेटिङमा खरिद

सात करोडको सिटी स्क्यान मेसिन सेटिङमा खरिद


काठमाडौं । कोशी प्रदेशको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले सात करोडको सिटी स्क्यान मेसिन सेटिङमा खरिद गरेको पाइएको छ । सो केन्द्रले एउटा मात्र कम्पनीसँग मिलेर सिटी स्क्यान खरिद प्रक्रियामा सेटिङ गरेको पाइएको हो ।

केन्द्रले एक सय २८ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन खरिदका लागि लक स्पेसिफिक बनाएर मिलेमतो गरेको तथ्य सार्वजनिक भएको छ । केन्द्रले मोरङको उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका लागि भन्दै झण्डै साढे सात करोड रुपैयाँमा सिटी स्क्यान मेसिन खरिद गर्न लागेको हो । केन्द्रले एक्सिस मेडिबिज प्रालि नामक एक सप्लायर्स कम्पनीसँग मिलेमतो गरेर सोहीअनुसार उसको मात्र सिटी स्क्यान खरिद गर्न मिल्ने गरी लक स्पेक बनाएको विवरण सार्वजनिक भएको भएको छ ।

स्रोतका अनुसार आपूर्ति केन्द्रले गत कात्तिक २४ गते नै सिटी स्क्यान खरिदका लागि बोलपत्र आह्वान गरेको थियो । तर केन्द्रले उक्त कम्पनीसँगको मिलेमतोमा तयार पारेको प्राविधिक स्पेसिफिकेसनमा मेडिबिजबाहेक अन्य कुनै पनि कम्पनीले सिटी स्क्यान खरिदका लागि टेन्डर भर्न नमिल्ने बनाएका कारण प्रतिस्पर्धामा अरू कुुनै पनि कम्पनी जान नसकेको बताइएको छ । विराटनगरस्थित आपूर्ति केन्द्रमा रहेको कर्मचारी स्रोतका अनुसार मिलेमतोमा स्पेसिफिकेसन बनाएका कारण बोलपत्रअनुसार प्रक्रिया सबै पूरा गरेर निवेदन दिने पनि सोही एक कम्पनी मात्र हो । मिलेमतो गरेका कारण उक्त कम्पनीबाट प्रिबिडको मिटिङमा समेत कोही नआएको स्रोतको दाबी छ । तर उक्त प्रिबिडमा अन्य कम्पनीका प्रतिनिधि आएर संशोधनका बुँदाहरू राखे पनि प्रिबिडमा नै नआएका कम्पनीसँग मिल्ने गरी बनाइएको मुख्य–मुख्य बुँदाहरू परिवर्तन नभएपछि उक्त मसिन खरिदमा प्रदेश सरकार नै कमिसनको जालोमा फसेको कर्मचारी स्रोतले दाबी गरेको छ ।

उक्त सिटी स्क्यान मेसिनको वारेन्टी समय पनि दुई वर्षको मात्र रहेको कर्मचारी स्रोतले बताएको छ । सामान्यतया अरू सिटी स्क्यान कम्पनीको वारेन्टी समय पाँच वर्षको हुनेछ तर यो कम्पनीको जम्मा दुई वर्ष मात्र रहेको छ । सेटिङमा खरिद हुन लागेको उक्त सिटी स्क्यानका सप्लायर्सले यसअघि पनि सिटी स्क्यान मेसिनको कारोबार नै नगरेको भन्दै केन्द्रमा पनि उजुरी समेत परेको थियो ।


क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, स्वास्थ्य / जिवनशैली
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया