Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपालिका समाचार‘महानगरवासीलाई स्वास्थ्य बीमा उपहार दिए बराबर हो’

‘महानगरवासीलाई स्वास्थ्य बीमा उपहार दिए बराबर हो’


पाटन (ललितपुर) । यल स्वास्थ्य सेवा केन्द्रको मंगलबार उद्घाटन समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य बीमा महानगरवासीका लागि उपहार दिए बराबर भएको बताएका छन् । उनले नेपालकै उत्कृष्ट अस्पताल र मुलुककै जेठो नगरपालिकाबीचको समझदारी तथा सहकार्यले नागरिकलाई उत्कृष्ट सेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले पाटन स्वास्थ विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा सञ्चालन हुने गरी स्वास्थ बीमा कार्यक्रममा उपचार सेवा प्रदान गर्न स्थापना गरिएको यल स्वास्थ्य सेवा केन्द्रमा कमीकमजोरी आउन नदिने बताए । ढिला भए पनि राम्रो कामको सुरुवात गरेको महर्जनको भनाइ छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजेशलाल डङ्गोलले बीमा कार्यक्रममार्फत प्रवाह हुने सेवामा नगरवासीलाई निराश हुने अवस्था आउन नदिने प्रतिबद्धता जनाए । उनले स्वास्थ्य बीमा कार्यक्रममार्फत प्रवाह हुने सेवाले नागरिकको खर्च घटाउन र रोगका कारणले ऋणको भारी बोक्नुपर्ने अवस्था अन्त्य गर्न मद्दत गर्ने धारणा राखे ।

२०७२ चैत २५ गते कैलालीबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम हाल देशका सात सय ५३ वटै पालिकामा सञ्चालन भएको बीमा बोर्डका कार्यकारी निर्देशन दामोदर बसौलाले जानकारी गराए । उनले स्वास्थ्य बीमा सुरु गर्नुभन्दा गुणस्तरीय सेवा पाउने कुरा महत्वपूर्ण भएको बताए । उनले प्रथम सेवा विन्दुको अभावका कारण काठमाडौँ र ललितपुर महानगरमा यो कार्यक्रम ढिला गरी लागू भएको जानकारी गराए ।

यल स्वास्थ्य केन्द्रमा अहिले कर्मचारी र चिकित्सकसहित ५६ जनाको व्यवस्था भएको ललितपुर महानगरपालिका स्वास्थ्य बीमा सम्पर्क व्यक्ति दाताराम अधिकारीले जानकारी गराए । आपत्तकालीन सेवामा पाँच शय्या र बहिरङ्ग सेवामा पाँच शय्या रहेको स्वास्थ्य सेवा केन्द्रबाट दैनिक पाँच विशेषज्ञ सेवासहित २४ घन्टा सेवा प्रदान हुनेछ ।


क्याटेगोरी : पालिका समाचार, महानगर, स्वास्थ्य / जिवनशैली

तपाईको प्रतिक्रिया