Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसेयरबजारमा छाउन नसकेको हर्ष

सेयरबजारमा छाउन नसकेको हर्ष


पछिल्लो समयमा सेयरबजारका लगानीकर्ताहरूको मनोबल खस्किएजस्तो देखिन्छ । लगानीकर्ताहरूको सेयरबजारप्रति विश्वास गर्न नसकिरहेको अवस्था छ । नेप्सेमा गिरावट आउने गरेका कारण लगानीकर्ताहरू दुःखी भइरहेका छन् । कतिपय सेयरबजारका विज्ञहरू र स्वयम् लगानीकर्ताहरूको भनाइमा सेयरबजारका नियामक निकायले जारी गर्ने निर्देशन नीतिनियम सेयरबजारमैत्री हुनुपर्छ भनेर भन्ने गरिरहँदा पनि सेयरबजारमैत्री हुन सकिरहेको छैन । जसले गर्दा लगानीकर्ताहरूको मनोबलमा ह्र्रास आउने गरेका छन् । यस वर्ष नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति सेयरबजारमैत्री नभएका कारणले सेयरबजारले अहिलेको अवस्थामा पनि सेयरबजारले गति लिन नसकिरहेको हो । अहिले पनि नेप्से १८ सय अंक र २२ सय अंकमा घुमिरहेको छ । विगतमा ३२ सय अंक पार गरिसकेको नेप्से पछिल्लो समय २२ सय अंक पनि पुग्न सकेको छैन । यसले पनि कतिपयको भनाइमा कतै सेयरबजारमा संकट त देखिएको छैन भन्ने आशंका उब्जिएको छ । सेयरबजारमा उतारचढाव त भइरहन्छ तर एक हजार अंकको ग्याप हुनुलाई भने लगानीकर्ताहरूले पचाउन सकिरहेका छैनन् ।

त्यसैगरी यस वर्षको मौद्रिक नीतिको पर्खाइमा बसिरहेका लगानीकर्तालाई मौद्रिक नीतिले निराश बनाइदिएको छ । यसपालिको मौद्रिक नीतिले सेयरबजारको बारेमा सम्बोधन नै गरेन भन्ने गुनासो पनि आउने गरेको छ । मौद्रिक नीति जारी भएदेखि नै नेप्सेमा गिरावट आउने गरेको छ । यसबारेमा नेपाल राष्ट्र बैंकप्रति लगानीकर्ताहरूले असन्तुष्टि जनाइरहेका छन् । खासगरी लगानीकर्ताको असन्तुष्टि भनेको गभर्नरप्रति नै हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको २०८०÷८१ को मौद्रिक नीति पनि सेयरबजारका लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भनेजस्तै भएको छ । मौद्रिक नीतिले सेयरबजारका लागि खासै सम्बोधन नै गरेन । मौद्रिक नीति सेयरबजारमैत्री आउला भनेर बसेका लगानीकर्ताहरू निराश भए । खासगरी सेयरबजारमा लगानीकर्ताहरूको माग भनेको १२ करोडको क्याप हटाउने र जोखिमको औसत भार एक सय ५० प्रतिशतबाट एक सयमा झार्ने मात्र हो । तर दुवै माग सम्बोधन भएन भने साना लगानीकर्तालाई भनेर २५ लाखबाट ५० लाखसम्मको कर्जामा जोखिम भार एक सय प्रतिशत गरेका छन् । यसबाट लगानीकर्तामा सन्तुष्टि देखिएन भने सेयरबजारमा पनि गिरावट आयो । त्यसो त मौद्रिक नीतिमा सेयरबजारको लागि त्यस्ता केही नकारात्मक कुरा पनि आएको छैन । सेयरबजारमा मौद्रिक नीति सार्वजनिक भएको भोलिपल्ट नै नेप्सेमा किन गिरावट आयो भन्नेहरू पनि नभएका होइनन् ।

चार दिनमा नेप्सेमा एक सय अंकको गिरावट आएको थियो । त्यसो त सेयरबजारमा ठूलाबडा लगानीकर्ताहरू सेयरबजारका स्वघोषित सेयरलगानीकर्ताहरूको नेता भन्नेहरूले यसमा भ्रम सिर्जना गरेकोजस्तो पनि देखियो । अघिल्लो वर्ष २०७९÷८० को मौद्रिक नीति पनि सेयरबजारमैत्री नभएको कारणले सेयरबजारले गति लिन सकेको थिएन भने यसपालिको मौद्रिक नीति पनि अघिल्लो वर्षकै निरन्तरताजस्तो देखिएको छ ।

कतिपयको भनाइमा गभर्नर महाप्रसाद अधिकारी सेयरबजार विरोधी भनेर पनि आरोप लाग्ने गरेको छ । महाप्रसाद अधिकारी गभर्नर रहेसम्म सेयरबजारले गति लिन सक्दैन भनेर लगानीकर्ताहरू बताउने गर्छन् । कतिपयको भनाइमा त गभर्नर सेयरबजारको खलनायक नै हो भनेर पनि भन्ने गरिएको छ । यसैगरी अघिल्लो वर्षको मौद्रिक नीति पनि सेयरबजारमैत्री नभएकाले सेयरबजारले गति लिन नसकेको सेयरबजारमैत्री नभएकाले सेयरबजार निराशाजनक नै रहेको देखिन्छ ।

कतिपय सरोकारवालाहरूको भनाइमा मौद्रिक नीतिको कारणले गएको आर्थिक वर्ष २०७९÷८० मा सेयरबजार उत्साहजनक रहेन । सेयरबजारले त्यस्तो केही कमाल गर्न सकेन । सेयरबजार औसत् नै रह्यो । गएको आर्थिक वर्षको पहिलो दिन नेप्से २००९ अंकमा थियो भने आर्थिक वर्षको अन्तिम दिन नेप्से २०९७ अंकमा बन्द भएको थियो । आर्थिक वर्ष २०७९÷८० मा नेप्से १८ सय अंंक र २२ सय अंकमा नै घुमिरहेको थियो ।

यस वर्ष नेप्से बढीमा २२७७ अंक र घटेकोमा १८०७ दशमलव ५३ अंकसम्ममा झरेको देखिन्छ । यो वर्षभरमा नेप्से बढ्नेभन्दा पनि घट्ने नै बढी रह्यो । यस वर्ष नेप्से एक दिनमा ९२ अंकसम्म बढे भने ६० दशमलव ७५ अंकसम्म घटेको देखियो । कारोबार रकमको कुरा गर्दा एक दिनमा लगभग सात अर्बसम्म कारोबार गरेको देखिन्छ भने औसत्मा दिनमा लगभग दुई अर्बको कारोबार भएको थियो । यस वर्षमा कतिपय लगानीकर्ताले कमाए होला भने कतिपय लगानीकर्ताले गुमाए पनि होला । त्यसो त सेयरबजारबाट मात्रै सरकारले पँुजीगत लाभकर यानी क्यापिटल गेनमा लगभग १७ अर्ब राजस्व गुमाएको सरोकारवालाहरू बताउँछन् । त्यसो त सेयरबजार बजारबाट लगानीकर्ताहरू भने निराशामा रहेको देखिन्छ । त्यसो त सेयरबजार भनेकै जोखिमको व्यवसाय हो । त्यसो त ‘नो रिस्क नो गेन’ भनेर पनि भनिन्छ । जहाँ बढी जोखिम हुन्छ, त्यहाँ नाफा पनि बढी हुन्छ भन्ने पनि सरोकारवालाको भनाइ रहेको पाइन्छ । त्यसो त यस वर्ष सेयरबजारले गति लिने आशामा रहेको लगानीकर्ताहरूले सेयरबजारले गति दिन नसकेकोमा निराशा पनि देखियो । ३२ सय अंक पार गरिसकेको नेप्से १८ सय अंकमा झरेको थियो तर पनि नियामक निकायले खासै ध्यान दिएको पाइएन ।

बजारमा देखिएको आर्थिक मन्दी बैंकमा तरलताको समस्या ब्याजदरमा वृद्धि आदि कारणले सेयरबजार बढ्न नसकेको भनाइ पनि सरोकारवालाहरूको भनाइ रहेका छन् । तर पनि सेयरबजारका नियामक निकाय भने सेयरबजारमैत्री नभएको कारणले पनि सेयरबजारले समेत सेयरबजार उकालो लाग्न नसकेको जानकारहरू बताउँछन् । खासगरी नेपाल राष्ट्र बैंकको नीतिनियम निर्देशन र मौद्रिक नीति खुकुलो र सेयरबजारमैत्री मौद्रिक नीतिमा लगानीकर्ताको माग सम्बोधन नगरेकाले पनि सेयरबजारले गति लिन नसकेको लगानीकर्ताको भनाइ छ । खासगरी मौद्रिक नीति सेयरबजारमैत्री हुनुपर्छ भन्नेमा कसैको दुई मत नहोला । लगानीकर्ताको लगानी सुनिश्चित हुने मौद्रिक नीति भएपछि मात्र लगानी पनि बढ्ने सरोकारवालाहरू बताउँछन् ।

सेयरबजार उत्साहजनक नभएको बेलामा पनि लगानीकर्ताहरूको आकर्षण भने सेयरबजारमा रहेको देखिन्छ । डिम्यात खातामा आबद्ध हुनेहरूको संख्या नै ५८ लाखभन्दा बढी भइसकेको सरोकारवालाहरू बताउँछन् । त्यसो त धेरैजसो लगानीकर्ताहरू प्राथमिक बजारमा नै सीमित रहेको देखिन्छ । यस वर्ष थुप्रै हाइड्रोपावर कम्पनीहरूको आईपीओ जारी भएको थियो । आसगरी सिमेन्ट कम्पनी र बीमा कम्पनीहरूको प्रिमियममा आईपीओ सेयर जारी भएको देखिन्छ भने यस यस वर्षको सुरुवाततिर पनि बीमा कम्पनीहरूको प्रिमियममा आईपीओ जारी हुने देखिन्छ । आर्थिक वर्ष २०७९÷८० मा लगभग ४२ वटा कम्पनीहरूले आईपीओ जारी गर्ने सेबोनबाट अनुमति पाएको देखिन्छ । यसमा धेरैजसो हाइड्रोपावर कम्पनीहरू नै छन् हाइड्रोपावर कम्पनीको मात्र लगभग २९ वटा कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाएको जनकारहरू बताउँछन् ।

अरूमा लघुवित्त कम्पनीहरू सिमेण्ट कम्पनी र बीमा कम्पनीहरू छन् । प्राथमिक सेयरमा लगानी गर्ने लगानीकर्ता पनि लगभग २५ प्रतिशतको हाराहारीमा रहेका छन् । त्यसो त लगभग तीन करोड जनसंख्या भएको देशमा ५८ लाखभन्दा बढी त सेयर लगानीकर्ताहरू नै रहेका छन् । अबको दिनको सेयरबजारको यात्राको तय मौद्रिक नीतिले गर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा लगानीकर्ताको मागलाई सम्बोधन गर्ने बताइए पनि मौद्रिक नीति सार्वजनिक गर्दा लगानीकर्ताको मागलाई सम्बोधन नै गरेको देखिएको छैन । पुँजीबजारले देशको लागि पँुजी निर्माण गर्ने गर्दछ भन्नेसम्म थाहा नभएकाहरूको पनि कमी छैन यो देशमा । यसका लागि सेयरबजारका लगानीकर्ताहरू नै सचेत सजग र जानकार हुनुपर्ने देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया