Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकृषिमा व्यापक सुधार गर्न सकिए भोकमरी नियन्त्रण हुन्छ

कृषिमा व्यापक सुधार गर्न सकिए भोकमरी नियन्त्रण हुन्छ


काठमाडौं । गत सोमबार नेपाललगायत विश्वभरि नै विश्व खाद्य दिवस मनाइयो । सो दिवस हरेक वर्षको अक्टोबर १६ को दिन विश्व खाद्य संकट र भोकमरीविरुद्ध ऐक्यबद्ध भई लड्नका लागि विश्व खाद्यान्न दिवस मनाउने गरिन्छ । फलतः खाद्य तथा कृषि संगठनको स्थापना १६ अक्टोबर १९४५ मा क्यानडामा भएको थियो । हाम्रो देशले भने ६ वर्षपछि नोभेम्बर १९५१ मा मात्र सो संगठनको सदस्यता पाएको थियो । संयुक्त राष्ट्र संघको २०औं साधारणसभाले नोभेम्बर १९७९ मा खाद्य तथा कृषि संगठनको स्थापना भएको दिन पारेर खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेको थियो । सो अनुरूप १६ अक्टोबर १९८१ देखि विविध कार्यक्रमका साथमा विश्वव्यापी रूपमा खाद्य दिवस मनाउँदै आइएको छ । यस वर्ष खाद्य तथा कृषि संगठनले “जीवन र खाद्यको आधार हो पानी” भन्ने नारा तय गरेको थियो । संसारभरका विभिन्न सदस्य राष्ट्रहरूले उक्त नारालाई आधार बनाएर आ–आफ्नो देशका लागि छुट्टै नारा बनाउने गर्दछन् । यसमा विश्व खाद्यान्न कार्यक्रम र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषले जारी गरेको प्रतिवेदनले कृषिमा व्यापक सुधार गर्न सकिए भोकमरी नियन्त्रण गर्न सकिने उल्लेख गरेको छ ।

प्राणीहरूको जीवनका लागि खाद्यान्न, पानी र पर्यावरण नै अत्यावश्यक एवं आधारभूत वस्तुहरू हुन् । यसरी पर्यावरण र वातावरणको एकीकृत सुरक्षा, सन्तुलन, संरक्षणको लाभदायक फल सुखी जीवनको आधार हो । त्यसरी नै उत्पादनमा सुधार विश्वव्यापी सुखी जीवनको पहिलो आधार हो । यसलाई नेपालको राष्ट्रिय सन्दर्भमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ । यसलाई देशको संविधान २०७२ ले पनि किसानको हकहित संरक्षण र संवर्द्धन गर्दै कृषिको उत्पादन र उत्पादकत्व बढाउन भू–उपयोग नीतिको अवलम्बन गरी भूमिको व्यवस्थापन र कृषिको व्यावसायीकरण, औद्योगिकीकरण, विविधीकरण र आधुनिकीकरण गर्नमा जोड दिएको छ ।

विश्वभर विभिन्न कार्यक्रम गरी ४३ औँ विश्व खाद्य दिवस मनाइएको छ । सो कार्यक्रममा विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त एवं सन्तुलित भोजनको महत्वबारे जनचेतना जगाउन, भोकमरीबाट पीडित वर्गलाई उत्थान गर्न हातेमालो गर्नमा जोड दिइएको छ ।

विश्वव्यापी तथ्याङ्कलाई अवलोकन गर्ने हो भने विश्वमा करिब दुई अर्ब २० करोड मानिसले अझै पनि सुरक्षित पानी प्राप्त गर्न नसकेको पाइन्छ । त्यस्तै, राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा करिब ५७ प्रतिशत घरपरिवारले मात्र प्रशोधित पिउने पानीको पहुँचमा रहेको कृषि विभागले जनाएको छ । त्यसका साथै, किसानले भोग गरेको जग्गामध्ये सिँचाइ सुविधा उपलब्ध भएको जग्गाको मात्रा ५४ दशमलव चार प्रतिशत रहेको छ ।

विश्वव्यापी रूपमा रहेका चुनौतीलाई सामना गर्न समसामयिक नारा तय गरिएको सम्बन्धित निकायले जनाएको छ । विश्वमा गत ४० वर्षमा पानीको प्रयोग प्रतिवर्ष करिब एक प्रतिशतले बढिरहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जनाएको छ । विगतभन्दा प्रतिव्यक्ति शुद्ध पानीको स्रोत २० प्रतिशतले घटेको छ । एफएओका अनुसार करिब दुई अर्ब ४० करोड मानिस पानीको अभावग्रस्त देशमा बस्ने गरेका छन्, जो अधिकांश साना किसान रहेका छन् । हाल विश्वव्यापी रूपमा सिँचाइयोग्य जमिनले २० प्रतिशत खेतीयोग्य जमिनबाट ४० प्रतिशत खाद्यान्न उत्पादन भईरहेको एफएओका प्रमुख डा. स्यु डोम्युद्वारा जारी सन्देशमा उल्लेख गरिएको छ । सो सन्देशले दिगो विकासका लक्ष्य हासिल गर्नका लागि सन् २०३० को एजेन्डा हासिल गर्ने मुख्य केन्द्रबिन्दु पानी रहेको सम्बन्धित क्षेत्रले जनाएको छ । यसको साथसाथै पृथ्वीमा बढ्दो जनसंख्याको भारले गर्दा दिनप्रतिदिन जनसंख्या वृद्धि हुँदै गएको अवस्था एकातिर छ भने अर्कातिर पानीका स्रोतहरू घट्दै गएको अवस्था छ । त्यसैगरी जनसंख्या पनि ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा बसाइँसराइ गर्ने क्रम बढ्दो छ । यिनै कारणले गर्दा सन् २०५० सम्ममा ८० प्रतिशतले पानीको माग बढ्ने प्रक्षेपण सम्बन्धित क्षेत्रका विज्ञहरू औल्याउँदै आएका छन् ।

पृथ्वीमा पानी सीमित छ तर यो एक अति मूल्यवान प्राकृतिक स्रोत हो । पानी बिना खाना हुँदैन र जीवन नै हुँदैन । यसरी शताब्दीऔं अघि, मानवजातिको आविष्कारशील प्रकृतिले किसानहरूलाई बाली सिंचाइ गर्ने तरिकाहरू पत्ता लगाउन प्रोत्साहित ग-यो, जसले कृषि समुदायलाई जन्म दियो । कसरी मानिसहरूले खाना उत्पादन गरे र संसारभर विभिन्न सभ्यताहरूलाई जन्म दिए भन्ने अध्ययन गर्ने हो भने पानी नैै मूल केन्द्रमा आउँछ ।

मेसोपोटामिया र इजिप्टमा विकसित आदिम सभ्यताहरू नदी किनारमा विकास भएका थिए । त्यस्ता सभ्यता मैदानहरूको समृद्ध माटोमा विकास गरेर यस बहुमूल्य स्रोतको वरिपरि फस्टाएको थिएन । यस्तै सुमेरियन, एसिरियन र बेबिलोनियन राज्यहरूको पालनपोषण गर्ने टाइग्रिस र युफ्रेटिस नदीहरू, इजिप्टको राज्यलाई पालनपोषण गर्ने नील नदीदेखि भारत र चीनमा सभ्यताको विकास गर्ने सिन्धु नदीले पनि सभ्यताको विकासमा निकै योगदान पु-याएका छन् । फरक सभ्यताको विशेषता फरक हुन सक्छ, तर इतिहास हेर्दा अधिक सभ्यताको सुरुवात पानीबाटै भएको पाइन्छ ।

पुरातनतादेखि वर्तमानसम्मका समुदायहरू पानीको गुणस्तर र मात्राबाट प्रत्यक्ष रूपमा प्रभावित छन् । वास्तवमा तिनीहरू बसोबास गरेको क्षेत्रहरूमा पिउने पानीको पर्याप्त आपूर्ति सुनिश्चित गर्न मानिसहरूले यसको उपचार र व्यवस्थापनको नवीन तरिकाहरू विकास गरेका छन् । शताब्दीऔं अघिदेखि सिंचाइ विधि कृषिलाई परिवर्तन गर्ने प्रमुख अस्त्र नै पानी थियो, विशेष गरी ती क्षेत्रहरूमा जहाँ मौसम कठोर थियो र वर्षा दुर्लभ थियो । पुरातन ग्रीक र चिनियाँ रेकर्डहरूमा हाम्रो इतिहासमा अर्को अविश्वसनीय प्राविधिक माइलस्टोनको प्रमाण र डिसेलिनेसनको खोजपूर्ण पनि रहेको छ । यसले समुद्र र महासागरको नुनिलो पानीबाट पिउने पानी सङ्कलन गर्ने क्षमतालाई चिह्न लगाइयो । जसले पानी आपूर्तिको नयाँ स्रोतका लागि अनुमति दिन्छ । पानी कृषि उत्पादकत्वका लागि आवश्यक थियो र अहिले पनि छ, जसले खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउँछ । पानीलाई सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउनु आज पनि हाम्रो चिन्ताको विषय हो ।

अन्त्यमा, विश्व खाद्य तथा कृषि संगठनका अनुसार जलवायु परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती भनेको खाद्य संकट हो । यस्तो संकट समाधानका लागि थोरै जमिनमा पनि मौसमी तथा बेमौसमी खेती गरी धेरै उत्पादन गर्न सकिन्छ । जुन खाद्यको मितव्ययी प्रयोग गर्नु आजको आवश्यकता रहेको छ । अतः सम्बन्धित क्षेत्रले प्रस्तुत गरेको तथ्यांकअनुसार कोरोना संक्रमणपछि ८१ करोड १० लाख मानिस भोकमरीको चपेटामा परेका छन् । विश्वभर झन्डै २ अर्ब ४० करोड मानिस खाद्यान्नको अभावमा कुपोषणले थलिन सक्ने आँकलन गरिएको छ । झन्डै ३ करोड ८० लाख मानिस परिवारजनको पेट भर्नै असमर्थ भईरहेको अवस्था छ । त्यसैगरी हाम्रो देशको कुरा गर्ने हो भने खाद्यसंकट उत्पन्न हुनुको प्रथम कारण जलवायु परिवर्तन हो । यसका कारण अहिले विश्वमा खाद्य उत्पादन अत्यन्तै न्यून हुँदै गएको छ । प्रतिकूल असर पार्ने सबैभन्दा प्रमुख कारक तत्वका रूपमा अहिले जलवायु परिवर्तनलाई मानिएको छ । एसियाली विकास बैंकले हालै गरेको एक अध्ययनअनुसार जलवायु परिवर्तनका कारण दक्षिण एसियाका अधिकांश देशले खाद्यान्न र पिउने पानीको अभाव झेल्नु परिरहेको छ । त्यसरी नै जलवायु परिवर्तनकै कारण विश्व तापक्रममा भएको वृद्धिले नेपाल, भारत, अफगानिस्तान र बंगलादेशजस्ता दक्षिण एसियाली मुलुकमा हिमाल पग्लने, बाढी, पहिरो, खडेरी र बेमौसमी तथा असन्तुलित वर्षा जस्ता प्राकृतिक प्रकोपहरू बढी देखा पर्न थालेका छन् । यस्ता प्रकोपका कारण खाद्यान्न उत्पादनमा कमी आईरहेको छ ।

खाद्य संकटको अर्को प्रमुख र जल्दोबल्दो कारण भूमिको असमान वितरण पनि हो । तथ्याङ्क अनुसार करिब ४७ प्रतिशत कृषक परिवारसँग जम्मा ५ प्रतिशत मात्र जमिन छ भने धनी किसानहरूले ३७ प्रतिशत जमिन ओगटेर बसेका छन् । यसरी ७० प्रतिशतभन्दा बढी गरिब किसानसँग एक हेक्टरभन्दा कम भूमि छ, जसबाट हुने उत्पादनले वर्षभरिको खाद्य आवश्यकता परिपूर्ति गर्न सकिँदैन । त्यसमाथि बढ्दो र अव्यवस्थित शहरीकरणसँगै जग्गाको खण्डीकरण बढ्ने क्रमले दिन दुईगुना र रात चौगुनाको दरले खेतीयोग्य जमिनमा भौतिक संरचनाहरू निर्माण भईरहेका छन् । यसको साथसाथै केही वर्षयता आएर बचेखुचेको त्यही खेतीयोग्य जमिनको माटोमा पनि अम्लीयपन बढिरहेको वैज्ञानिक अध्ययनले देखाएको छ । अतः विश्वमा बढिरहेको जनसंख्याको अनुपातमा खाद्यान्न कमी हुँदै गएको विभिन्न सरोकारवाला निकायले जनाएका छन् । यसरी कृषि उत्पादन क्षेत्रहरू विकास हुन नसकेको कारणले गर्दा खाद्यान्न संकट दिन–प्रतिदिन बढ्दै गईरहेको छ । यसलाई परिपूर्ति गर्ने हो भने कृषिका विविध निकायहरूको सुधार गरी सबैलाई पुग्ने खाना तयार गर्नुपर्ने आज सबैको चासोको विषय पुग्न गएको छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया