Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगहिमाली क्षेत्रको पदयात्रा र धार्मिक यात्रामा लाग्ने अस्थायी रोग

हिमाली क्षेत्रको पदयात्रा र धार्मिक यात्रामा लाग्ने अस्थायी रोग


काठमाडौं ।
केही समयअघिसम्म हिमाली क्षेत्रको पदयात्रा वा धार्मिक यात्रामा जाने कतिपय मानिसहरू स्वास्थ्यसम्बन्धी सामान्य सावधानी पनि नअपनाएको कारण बिरामी पर्ने र कतिपयको मृत्यु नै हुनेगरेको थियो र अझै पनि छ । खासमा तीन हजार मिटरभन्दा बढी उचाइमा पुगेपछि उच्च हिमाली क्षेत्रमा लाग्ने रोगका लक्षणहरू देखापर्न थाल्छन् । हुन त यो रोग अस्थायी हो । तर, कसै–कसैलाई मात्र यो लाग्छ ।

स्मरणीय कुरा के छ भने, यो रोगले च्याप्दा–च्याप्दै रोगीले ढाँटेर वा जबरजस्ती अझ माथि जान खोजेमा त्यो व्यक्तिको मृत्यु पनि हुन सक्छ । त्यसैले पर्वतारोहण वा पदयात्रा क्षेत्रमा तीन हजार मिटरभन्दा माथि पुगेपछि एक दिनमा तीन सय मिटरभन्दा माथि क्याम्प गर्नु हुँदैन वा हिँड्नु हुँदैन भन्ने मान्यता रहेको छ । जति माथि गयो, उति अक्सिजनको मात्रा कम हुँदै जाने भएकोले छिटो—छिटो उचाइमा जानु हुँदैन । त्यस्तै न्यानो कपडाको अभाव, पानी कम पिउनु, खानामा कमजोरी आदिका कारणले पनि पदयात्रीहरू बिरामी पर्नसक्ने सम्भावना रहन्छ । स्मरणीय छ, समुद्र सतहमा शतप्रतिशत अक्सिजन पाइन्छ भने जति माथि गयो, उति अक्सिजनको मात्रा घट्दै जान्छ ।

ट्रेकिङ क्षेत्रको मानिसहरूले छिटो बुझ्ने भाषामा भन्नुपर्दा ‘हाइ अल्टिच्युड सिकनेस’बाट बच्नलाई यो रोगका लक्षण देखापर्नासाथ बच्ने उपाय गरिहाल्नु पर्छ । यो रोगको लक्षणहरूमा वाकवाक लाग्नु, टाउको दुख्नु, थकाइको अनुभव गर्नु, हिँड्दाहिँड्दै निद्रा लाग्नु, एक वस्तुलाई दुई वा त्योभन्दा बढी देख्नु (डबल भिजन), हिँड्दा खुट्टाले ठीक ठाउँमा टेक्न नसक्नु, जाँडले मातेर लड्खडाउँदै हिँडेजस्तो हिँड्नु आदि हुन् । यस्ता स्वास्थ्य समस्याबाट बच्न सर्वप्रथम न्यानो लुगा लगाउने, पानी प्रशस्त पिउने, बिस्तारै हिँड्ने, सकेसम्म र भेटेसम्म तातो झोल पदार्थ धेरै पिउने गर्नुपर्छ । मुख्य कुरो चुरोटको धुवाँ तथा गन्धले पनि धेरै असर गर्ने भएकोले चुरोट नखानु र यसको गन्धबाट बच्नुपर्छ ।

हिमाली क्षेत्रमा जाँदा कसै–कसैलाई दिमागमा पानी जम्ने हाइ एल्टिच्युड सेरेब्रल एडेमा/एडमा ‘हेस’ र फोक्सोमा पानी जम्ने हाइ एल्टिच्युड पुल्मोनरी एडेमा/एडमा ‘हेप’को समस्या देखिन सक्छ । हेसको लक्षणहरूमा खप्नै नसक्ने गरी टाउको दुख्नु, बान्ता हुनु, जिउ सन्तुलित नहुनु, दिमागले ठीक ढंगले काम नगर्नु, एक वस्तुलाई एकभन्दा बढी देख्नु, बेहोस् हुनु आदि हुन् भने हेपको लक्षणहरूमा आराम गरेको बेलामा पनि श्वास बढ्नु, बेस्सरी खोकी लाग्नु, खोक्दा दिमाग नै थर्केजस्तो महसुस गर्नु, छातीमा घ्यारघ्यार आवाज आउनु, शरीर सुन्निनु, हात–खुट्टाका औँला र नङहरूमा निलोपना देखिनु आदि मुख्य हुन् ।

त्यस्तै अत्यधिक चिसोले कठ्याङ्ग्रिनु, स्नो ब्लाइन्डनेस (आँखा नदेख्नु), हिउँले आँखा खानु, बान्ता हुनु, झाडा—पखाला लाग्नु, आकस्मिक रूपमा चोटपटक लाग्नु आदि अरु स्वास्थ्य समस्याहरू हुन् । उल्लेखित रोगहरू मध्ये हेसको रोकथामका लागि कम उचाइमा झर्नु पर्छ र पोर्टेबल च्याम्बर (ग्यामो ब्याक) प्रयोग गर्नुपर्छ । साथै आवश्यक औषधि पनि खानुपर्छ । बिरामी बेहोस छ भने इन्जेक्सन पनि लगाउन सकिन्छ ।

त्यस्तै हेपको रोकथामको लागि पनि कम उचाइमा झर्नुपर्छ अनि बिरामीलाई उत्तानो पारेर सुताउनु पर्छ । त्यसपछि ग्यामो ब्याग प्रयोग गर्नुपर्छ । यसो गर्नाले भित्र प्रेसर गई बिरामीलाई अक्सिजन पूर्ति हुन्छ र भित्र रहेको कार्बनडाइअक्साइड बाहिर जान्छ । सिकिस्त बिरामीलाई पाँच/छ सेकेन्डको अन्तरमा पम्प गरिरहनु पर्छ भने एकजनाले बिरामीले बोल्न सक्छ कि सक्दैन ? भनेर हेर्दै गर्नुपर्छ । बिरामीले अवस्था हेरी १५–२० मिनेटमा नै बोल्नहाँस्न थाल्छ । सिकिस्त बिरामी भए तीन–चार घण्टा पनि लाग्न सक्छ । त्यसपछि बिरामीलाई जतिसक्दो तल (कम उचाइमा) झार्नु पर्छ । बिरामीलाई आराम गराउने, पानी प्रशस्त खुवाउनु पर्छ । पानी खान नमानेमा झोल कुरा प्रशस्त दिनुपर्छ । चिसोबाट बच्न न्यानो कपडा लगाउन दिनुपर्छ ।

नेपालमा हरेक वर्षको जनै पूर्णिमाको आसपासमा दामोदर कुण्ड, मुक्तिनाथ (मुस्ताङ), गोसाइँकुण्ड (रसुवा) दुधकुण्ड (सोलुखुम्बु), पाँचपोखरी (सिन्धुपाल्चोक), (लमजुङ), सभाया पोखरी (संखुवासभा), फक्ताङलुङ, पाथीभरा (ताप्लेजुङ) आदि क्षेत्रमा धार्मिक उद्देश्यले तीर्थयात्रीहरू भ्रमण गर्न जानेगरेका छन् । जुन क्षेत्र वा धार्मिकस्थलहरू नेपालको उच्च हिमाली क्षेत्रमा अवस्थित छ । यसरी विगतमा हिमाली क्षेत्रमा रहेका तीर्थस्थलहरूमा धार्मिक उद्देश्य बोकेर जाने कतिपय तीर्थयात्रीहरू प्रायः न्यानो कपडा, तागतिलो खाना, प्रशस्त पानी, र सुरक्षित बासस्थानको अभावमा अनेकौँ सास्ती खेपिरहेका हुन्थे । यीमध्ये कतिपयको त मृत्यु पनि हुन्थ्यो । हुन पनि हिन्दु धर्मावलम्बीहरूको मान्यताअनुसार पवित्र तीर्थस्थल र देवदेवीहरूले बास गरेको धाम जाँदा खालीखुट्टा जानुपर्छ भन्ने मान्यताअनुसार पनि धेरैको खुट्टाका औँलाहरू अत्यधिक चिसोले कठ्याङ्ग्रिने र रगतसमेत जम्ने हुन्छ ।

स्मरण रहोस्, धेरै उचाइमा जाँदा जोहो गर्नुपर्ने पहिलो प्राथमिकता नै लत्ताकपडाको हो । त्यसपछि खाना शक्तिवद्र्धक हुनु अर्को आवश्यकता हो । साथमा दुखाइ कम गर्ने, घाउ सफा गर्ने, कीटाणु मार्ने झोल वा क्रिम, सामान्य औषधिका साथै घाउ, चोटपटकको लागि पट्टी, टेप, प्लास्टर आदि पनि बोक्नु राम्रो हुन्छ । अनि कपास, कैँची, चिम्टा, ज्वरो नाप्ने यन्त्र, सियो, अक्सिजन सिलिन्डर, ग्यामो ब्याग, पञ्जा आदिको पनि व्यवस्था गरे झनै राम्रो हुन्छ । टाउको दुखेमा सिटामोल खान उपयुक्त हुन्छ । यसले ज्वरो पनि कम गर्छ । ब्रुफिन दमको रोगी र पेटको अल्सर भएकोले खानु हुँदैन । धेरै पीडा भए डाक्टरको सल्लाहअनुसार कोडिन पनि प्रयोग गर्न सकिन्छ । उल्लिखित औषधिहरूमध्ये ‘डायमक्स’ सकेसम्म नखानु राम्रो हुन्छ, यदि खएमा प्रशस्त पानी पिउनु पर्छ, नत्र पछि गएर मिर्गाैलालाई असर पु-याउने सम्भवना हुन्छ । यो औषधि पूरै मात्रामा प्रयोग गर्नुपर्छ नत्र दीर्घकालसम्म असर पु-याउने ठूलो सम्भावना हुन्छ ।

जे होस्, ट्रेकिङ क्षेत्रमा हाल आएर हाई अल्टिच्युड सिकनेसकै कारण मान्छे मर्ने क्रम धेरै हदसम्म रोकिएको छ । विगत लामो समयदेखि ट्रेकिङ क्षेत्रमा यससम्बन्धी बेला–बेलामा नेपाल हिमालयन उद्धार संघ (एचआरए) लगायतका संस्थाले ट्रेकिङ स्टाफ र भरियाहरूलाई तालिम दिने, गोष्ठीमा सहभागी गराउने गर्दै आएका छन् ।

अधिकांश ट्रेकिङ एजेन्सीहरूले भरिया र स्टाफहरूको पनि हेलिकोप्टर बीमा गर्न थालेका छन् । जसले गर्दा उनीहरूलाई तत्काल उद्धार गरी काठमाडौँ वा अन्य सुरक्षित स्थानसम्म उपचारार्थ ल्याउन सकिन्छ । खासमा प्रायः ट्रेकिङ कम्पनीहरूले उच्च क्षेत्रमा ट्रेकिङ गर्न जाँदा ग्यामो ब्याग लगेका हुन्छन् । अल्टिच्युटको कारण सिकिस्त भएका बिरामीलाई त्यसभित्र राखी बाहिरबाट प्रत्येक पाँच/पाँच सेकेन्डमा पम्प गरिन्छ । बिरामीलाई पम्प गर्दा क्रमशः ५०, एक सय, दुई सय, तीन सय मिटर गर्दै तल्लो भेगको अल्टिच्युटमा ल्याइन्छ । त्यसपछि बिरामी पहिलेकैजस्तो तन्दुरुस्त अवस्थामा पुग्छ । तर यो अस्थायी उपचार हो । त्यसपछि बिरामीलाई जति सक्दो चाँडै तल झार्नु पर्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया