Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबाथ रोग : यसका प्रकार र उपचार पद्धति

बाथ रोग : यसका प्रकार र उपचार पद्धति


काठमाडौं । बाथ रोग भनेको शरीरका कुनै पनि जोर्नी दुख्ने, सुन्निने, सुजन हुने, रातो/तातो हुने, जोर्नी चलाउन गाह्रो हुने, कक्रक्क पर्ने अथवा मेरुदण्ड/ढाड दुख्ने/कक्रक्क पर्ने अवस्थालाई बुझ्ने गरिन्छ । वास्तवमा सबै रयुमटिक समस्याहरूलाई बाथ रोग भन्ने बुझिन्छ ।

यी रोगहरू (रयूमटिक समस्याहरू) धेरै प्रकारका छन् (करिब २०० प्रकारका) । यिनले धेरै मानिसहरूमा जोर्नीभन्दा बाहिर, शरीरका अन्य भागहरू (जस्तै छाला, आँखा, मिर्गौला, मांसपेशी, रक्त र कहिलेकाहिँ फोक्सो र मुटु)मा पनि असर गर्न सक्दछन् । बेलैमा उपचार नगरे जोर्नीहरू/ढाडको आकार बिग्रने तथा माथि उल्लिखित अंगहरूमा पनि नराम्रो असर गर्नसक्ने हुन्छ ।

बाथ रोगबाट अनुमानित २०–२५ प्रतिशत जनमानस आक्रान्त हुने पाइएको छ । नेपालमा पछिल्लो समयमा बाथ रोगका बिरामीहरूको उपचारमा केही सुधार देखिए पनि नेपालको भौगोलिक र आर्थिक परिवेश तथा विशेषज्ञको कमीले गर्दा अहिलेसम्म पनि धेरै बिरामीहरूले राम्रो सुविधा पाउन सकेका छैनन् । विशेषगरी उचित परीक्षणको अभावले गर्दा समयमै रोगको निदान/परिचय र उचित उपचारको कमीलगायतका समस्याहरू विशेषज्ञताको सुविधा नभएको नेपालका सबै ठाउँमा भोग्नु परिराखेको छ ।

हाम्रो शरीरमा हुने धेरै सिस्टमहरूमध्येको एक इम्मयुन सिस्टम हो । यस सिस्टमलाई रोग प्रतिरोधात्मक क्षमता सिस्टमको रूपमा पनि चिनिने गरिन्छ । कहिलेकाहीँ आफ्नै शरीरका कोषाणुहरूले यो सिस्टमको विरुद्धमा आक्रमण गर्न सक्दछन् । यसरी हुने रोगहरूको समूहलाई स्वतः प्रतीरक्षा रोग अथवा अटो–इम्मयुन डिसअर्डर भनिन्छ । रयूमटिक समस्याहरू पनि यिनै रोगहरूको समूहभित्र पर्दछन् । रयूमटिक समस्याहरूहरू धेरै प्रकारका हुन्छन् । तीमध्ये प्रायजसो देखिने प्रकारहरू तल उल्लिखित छन् ।

युमाटोइड आरथ्राइटिस/गठिया बाथ : गठिया बाथले सबै उमेरका मानिसहरूलाई आक्रान्त पार्नसक्ने हुन्छ । खासगरी यस किसिमको बाथले पुरुषहरूमा भन्दा बढी महिलाहरूमा पाइने गरिन्छ । हातखुट्टाका सबै जोर्नीहरूमा असर गर्नसक्ने भए पनि यस किसिमको बाथको सुरुवाती लक्षण प्रायजसो हात, घुँडा र नाडीको जोर्नीहरूबाट देखिने गरिन्छ । कहिलेकाहीँ घाँटीको जोर्नीमा पनि यसले असर गर्न सक्दछ । दुखाइ रातिको बेलामा अलि बढी हुने र बिहान जोर्नीहरू कक्रक्क पर्नेलगायत समस्याहरू देखिन सक्छ । समयमै उपचार नगरे हात खुट्टाको जोर्नीहरूको आकार बिग्रँदै जाने र कुँजो हुनसक्ने सम्भावना रहन्छ । यसले जोर्नीहरूबाहेक शरिरका अन्य भागहरूमा पनि असर गर्न सक्दछ ।

युरिक एसिडको बाथ/गाउट : नेपाली समाजमा प्रायजसो देखिने युरिक एसिडको बाथ पुरुषहरूमा बढी देखिने गरिन्छ । युरिक एसिड जोर्नीहरूमा जम्मा भएर यो बाथका लक्ष्यणहरू देखिने हो । र, ९० प्रतिशत मानिसहरूमा सुरुवाती लक्षण खुट्टाको बुढी औँलाबाट पाइने गरिन्छ । बुढीऔँलाबाहेक अरु जुनसुकै जोर्नीमा पनि यसले असर गर्न सक्दछ । वास्तम्वमा युरिक एसिड शरीरका जुनसुकै भागमा पनि जमेर बस्न सक्दछ । र, जोर्नीमा यसको दुखाई असाध्यै नराम्रो हुन्छ । यो दुखाइको आक्रमण केही दिनपछि आफैँ हराएर जाने गर्दछ (औषधि खाएर अथवा आफैँ ) तर केही समय (दिन, हप्ता, महिना र कहिलेकाहीँ वर्ष) पछि बल्झिने पाइएको छ ।

दुई आक्रमणबीचको समयमा भने कुनै पनि लक्षणहरू नदेखिन पनि सक्छ । जोर्नीहरूबाहेक युरिक एसिड जमेर बस्नसक्ने शरीरका अरु भागहरू मिर्गौला, मांशपेसी, छाला इत्यादि हुन् । मिर्गौलामा पत्थरी भएर कहिलेकाहीँ अंगघातक पनि हुन सक्दछ । युरिक एसिडको बाथको समयमै उपचार नगरे जोर्नीका आकारहरू बिग्रँदै जाने, दुखाइको गम्भीरता र बारम्बारिता बढ्दै जाने र मिर्गौलामा दीर्घकालीन समस्या देखापर्नेलगायतका समस्याहरू हुन सक्दछ । यसको उपचारको ठूुलो अंश खानपिनमा सन्तुलन तथा नियमित शारीरिक व्यायाम रहेको छ । त्यसैगरी औषधिको भूमिका पनि उल्लेखनीय छ ।

ढाडको बाथ : प्रायजसो कम उमेरका पुरुषहरूलाई आक्रान्त गर्ने ढाडको बाथ रोगहरूको समूहमा मेरुदण्ड, हात खुट्टाका जोर्नीहरू अथवा दुवैका लक्ष्यणहरू हुन सक्दछ । स्पोन्डायलो आरथ्राइटिसअन्र्तगत एन्काइलोजिङ स्पोण्डाइलाइटिस, रिएक्टिभ आरथ्रराइटिस, सोरियाटिक आरथ्रराइटिसजस्ता बाथहरू पर्दछन् ।

यस समूहका बाथ रोगहरूमा ढाड र जोर्नीहरूबाहेक शरीरका अन्य भागहरू जस्तैः आँखा, छाला, योनि, आन्द्रा, फोक्सोलगायतका अन्य भागहरू पनि आक्रान्त हुन सक्दछन् । सोरियाटिक आरथ्रराइटिस भन्ने बाथ प्रायजसो छालाको कत्ले रोगसँग सम्बन्धित हुन्छ । रिएक्टिभ आरथ्रराइटिसमा हात खुट्टाको छालामा फोका आउने, रातो हुने, योनिमा घाउ हुनेलगायत समस्याहरू देखिन सक्छन् । उपचारमा एउटा ठूलो अंश नियमित शारीरिक व्यायामका साथै औषधिको पनि भूमिका उल्लेखनीय हुन्छ ।

ओस्टियोआरथ्राइटिस/जोर्नी खिइने बाथ : उमेर बढ्दै जाँदा यस खालको बाथ हुने सम्भावना रहन्छ । ५०–५५ वर्षको उमेरपछि र महिलाहरूमा धेरै देखिने यो बाथ रोगमा प्रायजसो घुँडा दुख्ने समस्या हुन्छ । घुँडाबाहेक हातका जोर्नीहरू र मेरुदण्डमा पनि यस रोगले असर गर्न सक्दछ । यस बाथका कारणहरूमा ५० भन्दा बढी उमेर, पछिल्लो समयमा जोर्नीमा लागेको चोटपटक, मोटोपना, अत्यधिक कोलेस्ट्रोल, थाइराइडको समस्या इत्यादि पर्दछन् । उपचारमा औषधिभन्दा धेरै जीवनयापनको केही नियमको धेरै भूमिका रहेको छ ।

लुपस : लुपस गर्भधारणयोग्य उमेरका महिलाहरूमा देखिने एक दीर्घकालीन रोग हो । शरीरका कुनै पनि जोर्नीमा आक्रान्त गर्नुका साथै यस रोगमा छाला, आँखा, मांशपेशी, मिर्गौला, पेट, मस्तिष्क, रगत, फोक्सो तथा शरीरको अन्य अंगमा पनि यसको असर देखिन सक्छ । सुरुवाती लक्ष्यणहरूमा जोर्नी दुख्ने, अनुहारमा पुतली आकारको दाग आउने, चाया र पोतो आउने, घाममा निस्कँदा छाला रातो हुने, स्याँस्याँ हुने, टाउको दुख्ने, जिउ गल्ने इत्यादि समस्याहरू देख्न सकिन्छ । उपचारमा सामान्य जीवनयापनका केही नियमहरू, घामबाट जोगिने, व्यायाम र दीर्घ दिनसम्म खाइराख्नुपर्ने केही औषधिहरू पर्दछन् ।

रक्तनलीको बाथ : भसकुलाइटिसअन्तर्गत धेरै किसिमका बाथहरू पर्दछन् । रगतका नालीहरू सुन्निने, सुजन हुने र त्यसबाट हुने लक्षणहरू देखिने यस रोगका विशेषता हुन् । जोर्नी दुख्नेसँगै छालामा दाग आउने, मिर्गौला, आँखा, फोक्सो, मुटु, मस्तिष्क र स्नायुमा समस्या देखिनेलगायतका समस्याहरू यस रोगमा देख्न सकिन्छ । चिसो पानीमा हात डुबाउँदा, फ्रिजमा हात लैजाँदा औँलाका रङ्गहरू क्रमबद्धरूपमा सेतो, निलो अनि रातो हुने पनि यो रोगमा देख्न सकिन्छ । उपचारमा जीवनशैलीमा केही परिवर्तन र औषधिहरूको सहयोग लिन सकिन्छ । यो रोग धेरै बिग्रेको खण्डमा अस्पतालमा भर्ना भई उपचार गर्नुपर्ने हुन्छ । यसरी बाथ रोग अनेकन किसिमका हुन्छन् । जसको समष्टि चर्चा सानो लेखमा सम्भव नै हुँदैन । त्यसैले बाथ रोगका कुनै पनि लक्ष्यण देखिनेबित्तिकै विशेषज्ञ डाक्टरमा गई देखाइहाल्नु राम्रो हुन्छ । (डा. शर्मा सिटी स्पेसियालिटी हेल्थ क्लिनिक सातदोबाटोमा कार्यरत छन्) 

Open photo


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया