Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविकासमा असन्तुलित वृद्धि सिद्धान्तको महत्व

विकासमा असन्तुलित वृद्धि सिद्धान्तको महत्व


काठमाडौं । असन्तुलित वृद्धिको सिद्धान्त सन्तुलित विकास सिद्धान्तको ठीक विपरीत छ । यस सिद्धान्तअनुसार अर्थव्यवस्थाका कुनै खास–खास क्षेत्रको मात्रा विकासका लागि पुँजी लगानी गर्नुपर्छ । किनभने अन्य विकसित मुलुकहरूमा त्यस्तो पर्याप्त पुँजी हुँदैन, जुन समानुपातिक रूपले सबै क्षेत्रमा लगानी गर्न सकियोस् । जुन उपलब्ध भएको पुँजी खास महत्वपूर्ण क्षेत्रमा लगानी गर्नाले त्यसबाट प्राप्त हुने मितव्ययिताका कारणले विस्तार–विस्तारै अन्य क्षेत्रको पनि विकास हुन जान्छ । यसरी क्रमशः असन्तुलनबाट सन्तुलनको विकासतिर अर्थव्यवस्था गतिशील हुन्छ । असन्तुलित विकास पद्धतिअन्तर्गत अर्थव्यवस्थाका समस्त क्षेत्रहरूको एकसाथ विकास गर्ने प्रयास गरिँदैन बरु केही प्रमुख क्षेत्रहरूको बढी विकास गर्ने प्रयास गरिन्छ र केही क्षेत्रहरूको कम विकास गर्ने प्रयत्न गरिन्छ । असन्तुलित विकासको धारणा यस मान्यतामा आधारित छ कि अल्पविकसित देशहरूसँग प्रायः पुँजी र अन्य आवश्यक विकाससम्बन्धी साधनहरू पर्याप्त हुँदैन । यस कारणले गर्दा अर्थव्यवस्थाको सबै क्षेत्रहरूमा एकसाथ लगानी गर्न सम्भव हुँदैन ।

असन्तुलित विकासको सिद्धान्तका प्रवर्तक प्रा. हर्समेन, प्रा. सिंगर हुन् । यस सिद्धान्तलाई समर्थन गर्ने अर्थशास्त्रीहरूमा माक्र्स फलेमिंग, वौर र यामी, प्रा. रुजिन जे ग्रीहान र प्रा. फिन्डले वर्जरको नाम विशेष रूपमा उल्लेखनीय रहन आएका छन् । वर्तमान समयमा अधिकांश अर्थशास्त्रीहरूले सन्तुलित विकासको आलोचना गरी त्यसको सट्टा असन्तुलित विकासको धारणा अघि सारेका छन् । यस धारणाअनुसार निर्धारित स्थितिमा आर्थिक विकासलाई तीव्र पार्न असन्तुलित वृद्धिको उपायले बल पु-याउँछ । प्रा. हर्समेनले असन्तुलित वृद्धि सिद्धान्त प्रतिपादन गरेका छन् । उनी भन्छन्, कुनै पनि विकासशील देशमा आर्थिक वृद्धि ल्याउने श्रेष्ठतम मार्ग पहिला नै बनाइएका रणनीतिअनुसार जानाजानी असन्तुलन ल्याउने कार्य हो । अर्थतन्त्रमा कुशलतापूर्वक छनोट गरिएका उपयोग तथा क्षेत्रहरूमा गरिएका लगानीले नयाँ लगानीका अवसरहरू प्रदान गर्दछन् । परिणामस्वरूप आधिकारिक आर्थिक विकासको मार्ग खुल्दै जान थाल्दछ ।

प्रो. हर्समेन दावाका साथ अगाडि भन्छन्, ‘आर्थिक वृद्धि माथि भनिएजस्तै गरी भइरहेको हुन्छ किनभने अर्थतन्त्रको प्रमुख क्षेत्रभन्दा अगाडिका क्षेत्रहरूमा एउटा उपयोगबाट दोस्रो उपयोगमा, एउटा फर्मबाट अर्को फर्ममा वृद्धि सञ्चार भइरहेको हुन्छ । विकासले असन्तुलनलाई समाप्त गर्ने नभई जीवित राख्ने कार्य गर्दछ । विकास प्रक्रियाभित्र देखापर्ने लाभ तथा हानिले प्रतिस्पर्धा अर्थतन्त्रलाई क्रियाशील बनाउने कार्य भइरहेको हुन्छ । अतः अर्थतन्त्रलाई अगाडि बढाउँदै लैजाने हो भने आर्थिक विकासको नीति असन्तुलन तथा असमानता कायमै राख्ने प्रकारको हुनुपर्दछ । (स्त्रोत–नीलम कुमार शर्मा, विकास तथा योजना अर्थशास्त्र, पैरवी प्रकाशन, काठमाडौं, प्रथम संस्करण २०५८ पेज नं. १४२)

ऐतिहासिक रूपमा पश्चिमी मुलुकहरूलाई हेर्ने हो भने आर्थिक विकास प्रक्रिया असन्तुलितरूपमा नै अगाडि बढेको पाइन्छ । वास्तवमा सन्तुलित विकास विभिन्न क्षेत्रमा भएको असन्तुलित विकासको सिर्जना र समन्वयको श्रृंखलाबद्ध नतिजा नै हो । विगतमा सन्तुलित विकासको धारणा अज्ञात थियो । विकास प्रक्रिया स्वतन्त्र अर्थव्यवस्थाको बजार र शक्तिमा भर पर्दथ्यो । त्यसैले विगतको विकास र अवनतिका बीच उचनिच हुँदै अगाडि बढेको थियो । योजनाको अभावले विकासकार्य बजारशक्तिमा भर पर्दथ्यो । वास्तवमा सन्तुलित विकास विकासको एक प्रक्रिया र अन्तिम लक्ष्य हो, तैपनि नक्र्सले यसलाई आर्थिक विकासलाई गतिशील बनाउन एक तरिका वा प्रक्रियाको रूपमा लिए । अतः असन्तुलित विकासको धारणाको वकालत गर्ने अर्थशास्त्रीहरू विभिन्न क्षेत्रको असन्तुलित विकासलाई समयबद्धरूपमा समन्वय गर्दै दीर्घकालमा सन्तुलित गर्ने लक्ष्यका साथ आफ्नो तर्क अघि सारेको देखिन आउँछ ।

प्रो. हर्समेनका अनुसार विकसित देशको आर्थिक विकास कहिले पनि सन्तुलित विकासको आधारमा भएको छैन । उनका शब्दमा यदि अर्थव्यवस्थालाई अग्रगति प्रदान गर्नुछ भने निकासको गतिलाई तनाव, व्युतनुपात र असामान्य बनाउनुपर्छ । आदर्श स्थिति त्यो हो जब एउटा असामान्य स्थिति विकासको प्रयेत्नलाई प्रेरित गर्दछ । असामान्य पुनः उत्पन्न होस् र यो क्रम यसरी चल्दै रहोस् । अर्थव्यवस्थालाई असन्तुलित गरेर विकास गर्न सकिन्छ र यो तबमात्र सम्भव छ, जब या त सामाजिक अपार व्यय पुँजीमा विनियोजन गरिन्छ । प्रो. रोष्टोवले असन्तुलित विकासलाई यसरी व्याख्या गरेका छन्, ‘कुनै पनि देशमा आर्थिक विकासको कार्य केही अग्रगामी र आधारभूत क्षेत्रको विकासको प्रत्यक्ष एवं अप्रत्यक्ष प्रभावमा निर्भर गर्छ । वास्तवमा यी क्षेत्रहरूका उत्पादकत्वमा हुने वृद्धि सम्पूर्ण अर्थव्यवस्थामा गति प्रदान गर्दछ ।’ अतः उनको कथन छ कि प्राविधिक ज्ञान, उत्पादन प्रविधि र सीमान्त उत्पादकत्वको दृष्टिले जुन क्षेत्र अरुको तुलनामा बढी श्रेष्ठ छ, सर्वप्रथम त्यही क्षेत्रमा विनियोजन गर्नुपर्छ ।

हर्समेनको असन्तुलित वृद्धिको थेसिसले के भन्दछ भने जब नयाँ परियोजनाहरूको अर्थतन्त्रमा थालनी हुन्छ, तब अघिल्ला परियोजनाहरूले बाह्य अर्थतन्त्रहरूको सिर्जना गर्दछ र तिनीहरूले फेरि नयाँ लगानीका लागि अर्को किसिमको बाह्य अर्थतन्त्रको सिर्जना गर्दछ । यसरी विकासोन्मुख मुलुकहरूको आर्थिक विकास अर्थतन्त्रलाई असन्तुलित वृद्धिको अवधारणाअनुरूप या त आर्थिक सामाजिक पूर्वाधारहरूको विकासमा लगानी गरेर या सिधै उत्पादनशील औद्योगिक क्षेत्रहरूमा लगानी गरेर गर्न सकिन्छ भन्ने कुरालाई हर्समेनले यो सिद्धान्तमा बताउन पुगेका छन् । हर्समेनको विचारमा जब नयाँ परियोजनाले आफूले सिर्जना गरेको भन्दा बढी बाह्य मितव्ययिता प्रयोग गर्दछन्, त्यसलाई उनले इन्डुस्ड इन्भस्टमेन्ट पनि भनेका छन् । जुन परियोजनाले आफूले सिर्जना गर्नेभन्दा कम बाह्य मितव्ययिता उपयोग गर्दछन् ।

हर्समेनको विचारमा विकास नीति २ वटा हुनुपर्छ ।
क) कन्भेर्जेन्ट सेरिज इन्भेस्टमेन्टलाई कम गर्ने
ख) डिभर्जेन्ट सेरिज अफ इन्भेस्टमेन्टलाई वृद्धि गर्ने ।
विकास तब हुन्छ जब अर्थव्यवस्थालाई असन्तुलित बनाइन्छ । प्रत्यक्ष उत्पादन क्रियाकलाप डीपीएफवा सामाजिकउपर पुँजीमा लगानी गरेर अर्थव्यवस्थालाई असन्तुलित बनाउन सकिन्छ । एओसीले बाह्य मितव्ययिताको सिर्जना गर्दछ भने डीपीएले त्यसको उपयोग गर्दछ ।

शिक्षा, सार्वजनिक, स्वास्थ्य, सञ्चार परिवहन आदि सामाजिक पूर्वाधार पुँजी हुन् । जसबाट द्वितीयक, तृतीयक, योजनाहरू सञ्चालन हुन्छन् । यसको विकासबाट अरु प्रत्यक्ष उत्पादन क्रिया स्वतः प्रोत्साहित भई विकसित हुन्छ । जस्तैः विषयतः विकासबाट औद्योगिक विकास स्वतः प्रेरित हुन्छ । परिवहन र सञ्चार व्यवस्थाबाट सम्बन्धित अरु क्षेत्रमा विकासको प्रेरणा हुन्छ । कृषि क्षेत्रको विकासले उपयोगलाई प्रोत्साहन दिन्छ । यदि प्रारम्भमा एसओसीमा लगानी गरिएमा यसको उत्पादन बढी हुन्छ । यसबाट यी सेवाहरूको मूल्य घट्दछ र यिनीहरूको प्रयोगको लागत पनि घट्दछ । यसले नाफाको आशाबाट डीपीएमा लगानीलाई प्रोत्साहित गर्छ । यसरी एसओसीको लगानीले डीपीएलाई आउन आमन्त्रित गर्दछ । यसले अर्थव्यवस्थालाई असन्तुलित बनाउने गर्दछ । डीपीएको माध्यमबाट उत्पन्न असन्तुलनको प्रेरणामा पनि अन्य क्षेत्रको विकास हुन्छ ।

डीपीएको विकासले गर्दा तुरुन्तै एसओसीमा विकास गर्न सरकार बाध्य हुन्छ । डीपीए भनेको प्रत्यक्ष प्रयोग हुने लुगा, जुता रेडियो, घडीजस्ता वस्तुहरूको उत्पादन गर्नु हो । यदि प्रारम्भिक लगानी डीपीएमा गरिएमा यसले एसओसी उत्पादनको अभावको सामना गर्नु पर्दछ । यसबाट उत्पादन लागत बढ्छ । केही समयपछि राजनीतिक दलको कारणले एसओसीमा लगानी बढ्न जान्छ र असन्तुलन बढ्छ । फाइदाको लागि गरिने लगानी एसओसीबाट डीपीएतर्फ जान्छ भने राजनीतिक दबाबमा गरिने लगानी डीपीएबाट एसओसीतिर जान्छ । यसरी असन्तुलनको श्रृंखला तथा प्रतिक्रियाबाट जुन क्रियाकलाप सञ्चालन हुन्छ । फलस्वरूप अर्थव्यवस्था विकासको बाटोमा अग्रसर हुन्छ । हर्समेनले एसओसीबाट हुने विकासको प्रक्रियालाई एसओसीको बढी क्षमताबाट विकास र डीपीएबाट हुने विकासको प्रक्रियालाई एसओसीको न्यूनताबाट विकास भनेका छन् ।

कुनै उद्योग खोल्दा त्यसको प्रेरणामा अरु उद्योग खोलिने सम्भावना भएमा फर्वाड र त्यसको ठीक विपरीत अर्थात् पछि नखुल्ने प्रचलित मात्रै प्रेरित भई बढ्ने अवसरलाई ब्याकवार्ड इफेक्ट भनिन्छ । त्यस्तै पछि बाह्य अर्थव्यवस्थाको उपभोग गर्छ भने कन्भर्समेन्ट र यदि बाह्य अर्थव्यवस्था तयार पार्छ भने डिभर्जमेन्ट इकोनोमी भनिन्छ । यसरी हेर्दा एसओसीबाट फर्वाड लिंकेज र डीपीएबाट ब्याकवार्ड लिंकेज तयार हुन्छ । हर्समेनद्वारा प्रतिपादित यो सिद्धान्त अविकसित मुलुकका लागि निश्चय नै आर्थिक विकासका लागि सफल प्रयत्न हो । यस सिद्धान्तबाट आर्थिक विकासका लागि लगभग सबै पक्षको व्याख्या गर्न सकिएको छ । हर्समेनले एसओसी हुँदै डीपीए पुग्ने बाटोलाई सामाजिकउपर पुँजीमा बढी लगानी गर्दा हुने विकास प्रक्रिया र डीपीए हुँदै एसओसीपुग्ने बाटोलाई सामाजिकउपर पुँजीको अभावमा हुने विकास प्रक्रिया भनेका छन् ।

हर्समेनको विचारधारा अनुसार यी दुई विकल्पमध्ये त्यसलाई अँगाल्नुपर्दछ, जुन पद्धतिमा अर्थव्यवस्था बढी आफैँमा गतिशील हुने गर्दछ । अल्पविकसित देशहरूमा परस्पर निर्भरता तथा अनुवन्धन प्रभावको प्रायः अभाव रहन्छ । उदाहरणको लागि अल्पविकसित मुलुकहरूमा कृषि र खानी उद्योगहरूलाई लिन सकिन्छ । अल्पविकसित देशहरूमा कृषि र खानी उद्योगहरूमा अग्रगामी अनुवन्धन प्रभाव तथा प्रतिगामी अनुवन्धन प्रभाव दुवै प्रायः कमजोर हुन्छ । त्यसकारण प्रो. हर्समेनले अल्पविकसित देशहरूमा अन्तिम उद्योग पहिले स्थापित गर्नुपर्छ । किनभने यस्ता उद्योगहरूमा उद्योगामी अनुवन्धन बढी भएकाले यस्ता उद्योगहरू अन्य उद्योगहरको स्थानमा मदत गर्दछन् ।

प्रो. हर्समेनले असन्तुलित विकसको युक्तमा राज्यको प्रमुख दुई कार्य बनाएका छन्–आर्थिक विकास प्रारम्भ गर्नका लागि राज्यले अग्रगामी क्रियाहरूको व्यवस्था गर्नुपर्दछ । यसका लागि राज्यले समाजलाई प्रोत्साहन गर्नुपर्दछ र आवश्यकता परेको बेला दबाब पनि दिनुपर्छ । देशका विभिन्न क्षेत्रहरूमा व्यक्त दबाबलाई कम गर्नका लागि राज्यले सकभर प्रयास पनि गर्नुपर्छ । राज्यको यी दुवै कार्यहरूको सम्बन्धमा प्रो. हर्समेनको कथन छ कि अधिकांश अर्थशास्त्रीहरू राज्यको प्रथम कार्यलाई नै श्रेष्ठ मानेका छन्, तर राज्यको अर्को कार्य देशका विभिन्न क्षेत्रहरूमा भएको दबाबलाई निवारण गर्ने कार्य बढी प्रभावकारी कार्य हो ।

असन्तुलित विकास सिद्धान्तको प्रमुख लक्षण अथवा विशेषताहरू निम्न प्रकारका छन्–असन्तुलित वर्द्धनमा असन्तुलनको एक शाखाले विकासलाई प्रोत्साहित गर्दछ । फेरि नयाँ असन्तुलनको सिर्जना हुन्छ, जसले देशको अरु आर्थिक विकासमा मदत पु-याउँछ । यो प्रक्रिया निरन्तर जारी रहन्छ, जुन देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्दछ । असन्तुलित विकासमा एक क्षेत्रमा अत्याधिक लगानीले दोस्रो अरु क्षेत्रका उद्योगहरूमा दबाब पर्दछ, जुन त्यसको स्वतः विकास हुन जान्छ । अर्थात् यो दबाब आर्थिक विकासलाई प्रोत्साहित गर्दछ । यसरी यो सिद्धान्त प्रोत्साहन र दबाबमा आधारित छ । असन्तुलित विकासको धारणामा ठूलो धक्का सिद्धान्तलाई प्रहण गर्दछ । असन्तुलित वद्र्धन वा विकासको धारणा पुँजीवादी प्रणालीमा आधारित छ । विभिन्न उद्योगहरूको विकास लाभ भावनाबाट प्रेरित हुन्छ । यस दृष्टिबाट हेर्दा असन्तुलित विकास पद्धतिमा निजी उपक्रमको प्रधानता हुन्छ । यस सिद्धान्तमा सन्तुलन विकासभन्दा परिपक्वतामा बढी ध्यान केन्द्रित गरेको छ । असन्तुलित विकास प्रक्रिया विभिन्न प्रकारको असन्तुलनको एक कडी हो ।

अर्थव्यवस्थामा असन्तुलनको एक कडी तुरुन्तै अर्को नवीन कडी उत्पन्न गर्छ । विकासको यस पद्धतिमा विनियोजन सधैँ केही विशेष क्षेत्रमा गरिन्छ र यस सिद्धान्तको विकास प्रक्रियामा सामाजिक उपरिव्यय पुँजीको विशेष महत्व छ । असन्तुलित विकासको सिद्धान्त प्रोत्साहन र दबाबको धारणामाथि आधारित छ र यो असन्तुलन विकास प्रक्रियामा आधारभूत संरचना र सुविधाहरूको महत्वपूर्ण स्थान रहेको छ । असन्तुलित विकास सिद्धान्त्का प्रमुख दोष र सीमाहरू धेरै छन् । यो सिद्धान्तले असन्तुलित वृद्धिको संरचना सञ्चालन र समयमा उचित ध्यान दिँदैन । यो सिद्धान्त वृद्धिको फलस्वरूप उत्पन्न प्रतिरोधलाई पूर्ण अवहेलना गर्दछ । विकासको असन्तुलित कम अल्पविकसित देशको क्षमता र सामर्थ्यभन्दा बाहिरको कुरा हो । आधारभूत सुविधा र साधनको गतिशीलता नहुनाले यसलाई व्यवहारमा लागू गर्नु कठिन छ । असन्तुलित विकास अर्थव्यवस्थामा स्फीतिकारी प्रभाव उत्पन्न गर्छ ।

खास गरेर मोटामोटी रूपमा यस सिद्धान्तका आलोचनाहरू निम्नप्रकारका छन् : हर्समेनको असन्तुलित विकास सिद्धान्तको गर्ने अर्थशास्त्री पाल स्ट्रिटनको भनाइ छ कि असन्तुलित विकासले विस्तारका उत्प्रेरकमा ध्यान केन्द्रित गर्दछ र असन्तुलित वृद्धिले उत्पन्न गरेको प्रतिरोधलाई अपेक्षा र न्यूनतम बनाउँदछ । प्रतिरोध विभिन्न किसिमले आउन सक्छ । जस्तैः अस्थिर वातावरणमा ठूलो एकाधिकार नाफा उत्पन्न हुन सक्दछ । यसबाट निहित स्वार्थमा जन्म हुन सक्छ । उनीहरू विस्तारभन्दा उत्पादन नियन्त्रण गर्नमा जोड दिन्छन् । त्यस्तै बढ्दो प्रतिस्पर्धाको डरले मानिस चुपचाप बस्न सक्छन् ।

यस पद्धतिअन्तर्गत देशको आर्थिक विकास वैज्ञानिक ढंगबाट गर्न सकिँदैन । जसको कारण असन्तुलित वर्द्धन सिद्धान्तमा वैज्ञानिकताको कमी छ । असन्तुलित विकासअन्तर्गत देश विदेशी व्यापार तथा विदेशी पुँजीमा बढीभन्दा बढी निर्भर हुन जान्छ । जसले गर्दा विदेशी व्यापारमा निरन्तर वृद्धि हुन्छ । फेरि अन्तर्राष्ट्रिय स्थिति अस्थिर हुन्छ । यसकारण देशको आर्थिक विकास पनि अनिश्चित हुन्छ । असन्तुलित विकासअन्तर्गत केही क्षेत्रहरूको बढी हुन जान्छ र यसबाट अतिरिक्त समता उत्पन्न हुन्छ । अरु क्षेत्रहरूको विकासको अभावले गर्दा यिनीहरूको समताको पूर्णतया उपयोग हुन पाउँदैन । यसले गर्दा केही साधनहरू निष्क्रिय रहन जान्छ । एक विकासशील अर्थव्यवस्थामा असन्तुलनको स्थिति स्वाभाविक हुन्छ किनभने मागको पूर्तिका शक्तिहरू असमान हुन्छ । असन्तुलित विकासको नीति अपनाएर यस असन्तुलनलाई बढाउनु हुँदैन । यातायात तथा सञ्चार प्राविधिक समताजस्ता आधारभूत सुविधाहरूलगायत वस्तु तथा सेवाहरूको आन्तरिक र बाह्य बजार खोजी गर्न कठिनाई उत्पन्न भइरहेको हुन्छ । तर असन्तुलित विकास गर्नका लागि यसले गर्दा पनि बाधा पु-याएको हुन्छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया