Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआयात प्रतिस्थापनबारे नसोचिएको व्यापारघाटा

आयात प्रतिस्थापनबारे नसोचिएको व्यापारघाटा


काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्म नेपालबाट हुने निर्यात व्यापारमा वृद्धि भएको छ । तुलनात्मक रूपले वस्तुको निर्यात वृद्धि भए पनि आयातलाई नै प्रतिस्थापन गर्न सकिने परिस्थिति भने बनेको छैन । आयातको अंश निर्यातको तुलनामा धेरै ठूलो रहेकोले व्यापारघाटा अर्थतन्त्रको विकल्पहीन समस्याको रूपमा देखा परिरहेको छ । अन्तिम वस्तु तथा सेवाको उत्पादन गर्न नसकेकोले आयातमा निर्भर रहनु बाध्यता नै बनेको छ । जसले गर्दा कच्चा पदार्थको निर्यात र अन्तिम (फिनिस गुड्सको) वस्तुको आयात भइरहेको छ ।

प्राचीन कालमा चीनको तिब्बत र भारतको पट्नासम्म रहेको व्यापार आज विश्वभर धेरै मुलुकहरूसँग फैलनु विश्वव्यापीकरणको उपलब्धि हो । पछिल्ला दिनमा विश्व व्यापार संगठन विश्वमा निर्मित वस्तु तथा सेवाको आदानप्रदान गर्ने भरपर्दो माध्यम बनेको छ । यसकै माध्यमबाट विश्वका अतिकम विकसित र विकासोन्मुख मुलुकहरूले विश्व जगतमा आफ्नो उपस्थिति जनाउन पाइरहेका छन् । निर्यातयोग्य वस्तुको उत्पादन र निर्यात गर्ने देशले यसबाट उच्च प्रतिफल प्राप्त गरेका छन् । नेपाल पनि यसको सदस्य बनेसँगै विश्व व्यापारको प्रावधानमा समेटिएको छ । यी प्रावधानमा चुनौती र अवसर दुवै छन् ।

वर्तमान परिदृश्यमा नेपालको लागि विश्व व्यापार संगठनको सदस्यता अवसर नभएर चुनौती बनिरहेको छ । यसका प्रावधानहरूलाई थेग्न नसक्दा चुनौती व्यहोर्नु पर्छ । निर्यातजन्य र गुणस्तरीय वस्तुको प्रतिस्पर्धामा प्रतिस्पर्धी बन्न नसक्नु चुनौती हो । आजकै दिनमा पनि नेपालको व्यापार स्थिति हेर्दा घाटा व्यापार चर्को छ । निर्यातको तुलनामा लगभग १० गुणाले आयात बढिरहेको छ । व्यापारघाटा चुलिएको छ । एक वर्षभरिको कुल निर्यातले वार्षिक ग्याँस र पेट्रोलियम पदार्थ खरिद गर्न पनि नपुग्ने अवस्था छ ।

वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्सले आयातलाई तीव्र बनाइरहेको छ भने अधिकांश रकम उपभोग र स्थिर सम्पति जोड्नमा खर्च भइरहेको छ । जम्मा रेमिट्यान्सको २÷३ प्रतिशत मात्र उत्पादनमुखी कार्यमा लगाइएकोले रेमिट्यान्स बढ्यो भनेर खुशी मनाउनुको कुनै अर्थ देखिँदैन । नेपाल विश्वमा रेमिट्यान्स भित्र्याउने मुलुकहरूको सूचीमा अगाडि नै रहे पनि यसको प्रतिफल देशले पाइरहेको छैन । यसले केवल उपभोगक्षमता बढाउने, खरिदक्षमता घटाउने र मूल्यस्फीति गराउने काम गरिरहेको हुन्छ ।

चालू आर्थिक वर्षको पहिलो सात महिना साउनदेखि माघसम्म निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । यस अवधिमा एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाखबराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा ६९ अर्ब ९१ करोड १७ लाखबराबरको सामान निर्यात भएको थियो ।

चालू आर्थिक वर्षको सात महिनामा निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ । यसै अवधिमा ४२ दशमलव ७८ प्रतिशतले आयातमा वृद्धि हुँदै ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाखभन्दा बढीको आयात भएको छ । गत वर्षको सोही अवधिमा आठ खर्ब तीन अर्ब ६४ करोड ३१ लाख बढीको आयात भएको थियो । निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापारघाटामा वृद्धि भएको छ । यस अवधिमा ११ खर्ब बढीको आयात हुँदा ३८ दशमलव ४५ प्रतिशतले व्यापारघाटा बढेको छ ।

चालू आवको सात महिनामा नेपालको १० खर्ब १५ अर्ब ८० करोड ८४ लाखबराबरको वैदेशिक व्यापारघाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालको सात खर्ब ३३ अर्ब ७२ करोड ६१ लाखबराबरको व्यापारघाटा व्यहोरेको थियो । यस्तैगरी चालू आवको सात महिनामै नेपालको वैदेशिक व्यापार ४६ दशमलव ४३ प्रतिशतले बढेको छ । यस अवधिमा १२ खर्ब ७९ अर्ब १२ करोड चार लाखबराबरको पुगेको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा आठ खर्ब ७३ अर्ब ५६ करोडबराबरको वैदेशिक व्यापार भएको थियो । सोही अवधिमा नेपालमा एक सय ४५ देशबाट ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख बढीको आयात भएको छ । तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । सात महिनामा नेपालले भारतबाट छ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख बढीको आयात भएको छ भने एक खर्ब छ अर्ब ३५ करोड ८३ लाखबराबरको निर्यात भएको छ ।

नेपालको भारतसँग मात्रै पाँच खर्ब ८९ अर्ब ८८ करोड ६० लाख बढीको व्यापारघाटा बेहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट सात महिनामा एक खर्ब ६५ अर्ब २३ करोड ७७ लाखबराबरको आयात भएको छ भने ४८ करोड ७९ लाख १५ हजारको मात्र निर्यात भएको छ । चीनसँग मात्र एक खर्ब ६४ अर्ब ७४ करोड ९८ लाखबराबरको व्यापारघाटा रहेको छ ।

अर्थतन्त्र कोभिडपूर्वजस्तो स्वस्थ स्थितिमा पुगेको छैन । पेट्रोलियम पदार्थको बजार मूल्य तीव्र हुँदै गइरहेको छ । यसबाट समग्र अर्थतन्त्रलाई नै असर पर्छ । हुन त यो अन्तर्राष्ट्रिय प्रभाव हो । तर, भएका चुहावट नियन्त्रण गर्न सके मूल्य वृद्धिको बढी भार सर्वसाधारणले खेप्नुपर्ने थिएन । खुला सीमाका कारण भारतमा चुहावट हुन्छ भनिन्छ । जहिले पनि एउटै बहाना घण्टा बजारमा बज्ने गर्छ तर चुहावट हुन नदिने संरचना भने तयार भएको पाइँदैन । गणतन्त्रको आगमनसँगै नेपालको अर्थतन्त्र बढी परनिर्भर भएको छ । बढी आयात गर्दा व्यापारघाटा उच्च छ । अब दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता भइसकेको छ । आत्मनिर्भरता बढ्दै जाँदा बाह्य मूल्यको उतारचढावले प्रभाव पार्न सक्दैन । पेट्रोलियम पदार्थको विकल्प विद्युतीय ऊर्जा बनाउनुपर्छ, हाम्रो मुख्य खर्च ऊर्जास्रोतमा भइरहेको छ । ढुवानी, कलकारखाना सञ्चालन गर्न बढी ऊर्जाको खपत हुन्छ । उत्पादन क्षमता छ तर पहिचान गर्न सकिएको छैन ।

आज देशको अर्थतन्त्र कमजोर बन्दै जाँदा आम नेपाली पर निर्भरतामा बाँच्नुपर्ने अवस्था सिर्जना हुँदै छ । अर्थतन्त्र सामान्य अवस्थामा छैन । यसका संकटहरूलाई नियालेर सरकारले नीति अवलम्बन गर्न जरुरी छ । वैदेशिक ऋण थप गरेर हुन्छ या बढी अनुदान स्वीकार गरेर हुन्छ आयात नियन्त्रण गर्नै पर्छ । पुँजीगत खर्चका लागि बजेट निर्माण प्रक्रियादेखि प्रभावकारिता, परिचालन, समयमा काम लगाउने क्षमता वृद्धि हुँदा बजारमा पैसा आउँछ तरलताको अभाव हुन पाउँदैन । सरकार समस्या भएको ठाउँमा समाधान गर्न सधैँ तत्पर रहनुपर्दछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया