Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगस्वास्थ्यको लागि खाना र खेलकुदको महत्व

स्वास्थ्यको लागि खाना र खेलकुदको महत्व


काठमाडौं । मानिसलाई स्वस्थ्य राख्ने प्रमुख आधार नै भोजन र व्यायाम हो । यस लेखमा सर्वप्रथम मानवजीवनको आधारशीला भोजनबारे प्रकाश पार्ने जमर्काे गरिएको छ । गुणस्तर स्वास्थ्य बनाउनको लागि तागत वा शक्ति दिने खानेकुराको त्यत्तिकै महत्व हुन्छ । सोको लागि शाकाहारी खानाको भूमिका महत्वपूर्ण हुन्छ । जस्तैः खीर, उसिनेको, हकुवा, ताइचिन र मन्सुरी चामललाई स्वस्थ खानाको रूपमा लिइन्छ । त्यस्तै गहुँ, मकै, कोदो, तितेफापर, जुनेलो, जौ, शखरखण्ड, तरुल, पिँडालु, गिठ्ठा, आलु, चिउरा, फलफूललाई स्वस्थ्य भोजनको रूपमा लिन सकिन्छ । शरीरको तामक्रम र सन्तुलन बनाइराख्न, मांशपेशी बलियो बनाउन, शरीरको मुख्य अंगहरू (मिर्गौला, मुटु, फोक्सो, मस्तिष्क) लाई निरोगी राख्न एवं विभिन्न समस्याहरू निराकरण गर्न यी शाकाहारी खाना नै हुन् ।

स्वास्थ्य समस्याहरू निराकरण गर्न नाथ्रो भएको वा नफलेको अन्नले शरीरको विकासमा सन्तुलनको लागि चाहिने प्रोटिन, भिटामिन विशेष गरेर ‘बी’, रगत राम्रो बनाउने तत्व, शरीरबाट काम नलाग्ने वस्तु बाहिर हटाउने र शक्ति प्रदान गर्दछ । तरकारीको रूपमा प्रयोग गरिने आलुबाट भिटामीन ‘सी’ प्राप्त हुन्छ । यसले घाउ निको पार्न र बलियो बनाउन सहयोग पु-याउँछ । खानामा भएको तत्व पचाउन शरीरलाई शक्ति दिन्छ । आलुमा प्रशस्त प्रोटिन हुन्छ जसले शरीरको वृद्धि गर्न र यसलाई सन्तुलित राख्न मदत गर्दछ । कम चिल्लो प्रयोग गरी आलु बोक्रासहित पकाउनाले स्वास्थ्यलाई फाइदा पु-याएको कुरा विभिन्न अध्ययनले जनाएको छ ।

यसैगरी कोदोमा शरीर विकासका लागि चाहिने उत्तम प्रोटिन पाइन्छ, यसबाट दाँत र हाड बलियो बनाउने क्याल्सियम पनि पाउन सकिन्छ । मानिसलाई ताप वा शक्ति दिने खानाको कमी भएमा दुब्लाउँछ, सो कारणबाट मांशपेशी कमजोर हुन गई जाँगरसमेत कम हुन्छ । थकाइ छिटो लाग्छ, जाडो भएको महसुस भई जिउ काँप्छ । शरीरको विकास र यसलाई सन्तुलित राख्न शाकाहारी खाना मुख्य हो । यो गेडागुडी र अन्य वस्तुबाट प्राप्त गर्न सकिन्छ । मास, भटमास, राजमा, सिमी, गहत, रहर, बकुला, तील, मुगी, मुसुरो, चना, बोडी, केराउ, मस्याङमा प्रशस्त प्रोटिन पाइन्छ । फर्सीको बियाँ, लट्टेको गेडा, ओखर, ज्वानो आदिबाट पनि प्रशस्त शरीर रक्षा गर्ने प्रोटिनको मात्रा पाइन्छ ।

अतः शरीरको विकास र दीर्घजीवनका लागि माथि उल्लिखित प्रोटिनयुक्त शाकाहारी खाना खानु पर्दछ । प्रोटिन कपाल, हाड, मांशपेशी र रगतलाई स्वस्थ राख्न आवश्यक तत्व हो । यसले शरीरको मुटु, मिर्गाैला र कलेजोकोषहरूलाई करिब दुई हप्तासम्म जीवित राख्न सहयोग गर्दछ । छाला, हाड र मांशपेशीका कोषहरू छ–सात महिनासम्म जीवित राख्दछ । प्रोटिनले घाउ छिटो निको गर्न मदत पु-याउँछ । केही प्रोटिनयुक्त खानेकुराले शरीरलाई आवश्यक पर्ने तत्व क्याल्सियम पनि प्रदान गर्दछ । प्रोटिन र भिटामिन खाएनौँ भने खानामा भएको तत्वहरू सबै शरीरले पचाउन सक्दैन र त्यस्ता तत्वहरू दिसामा बगेर खेर जान्छन् । अन्नबाट शरीरलाई चाहिने ७० देखि ९० प्रतिशत प्रोटिन पूर्ति हुन्छ । खानामा प्रोटिन र कार्बोहाइड्रेड समान अनुपातमा हुनु अति महत्वपूर्ण हुन्छ । प्रोटिनयुक्त खानेकुरा शक्ति दिने र भिटामिन दिने खानेकुराहरूसित खायौँ भने शरीरले पूरा मात्रामा खानामा भएको पौष्टिक तत्व पचाउन सक्दछ । त्यसैले विभिन्न किसिमका खानेकुराहरू मिलाएर खानु फाइदाजनक हुन्छ ।

शरीरलाई आवश्यक मात्रामा चाहिने प्रोटिनयुक्त खाना नखाँदा उमेरअनुसार उचाइ बढ्दैन, केटाकेटीहरू ख्याउटे, दुब्लो र कमजोर हुन्छन् । उनीहरूको छाला पनि बुढो मान्छेको जस्तो चाउरी परेको हुन्छ । कपाल पातलो र खैरो हुन्छ । शरीर सुन्निने पनि हुन्छ । कपाल फुस्रो परेको हुन्छ । कहिलेकाहीँ छालामा दाग पनि देखिन्छ । घाउ भयो वा खटिरा आयो भने निको हुँदैन । घाउ छिटै राँक्किने र पाक्ने हुन्छ । अतः प्रोटिनयुक्त खानेकुरामा सबैभन्दा असल स्रोतहरू भएको खानेकुरा शाकाहारी खानाबाटै पाइन्छ । जस्तैः भटमास, मह, सागसब्जी राम्रो स्रोतको रूपमा प्रयोग गर्नुपर्ने हुन्छ । दुध, दही शरीर बढाउने प्रोटिनयुक्त उत्तम खानेकुरा हुन् । आमाको दूध बच्चाको लागि अमृतसरह हुन्छ । यदि आमाले बच्चा गर्भमा छँदा र जन्मेपछि प्रोटिन पुग्दो मात्रामा खान्छिन् भने त्यस आमाको दूध खाने बच्चा पुष्ट र स्वस्थ्य हुन्छ । आमाले मिश्रित खाना सेवन गर्दा आमाको दुध प्रशस्त मात्रमा आउँछ ।

हाम्रो शरीरलाई आवश्यक पर्ने तत्वहरू गाढा हरियो रङ्गको तरकारीमा भिटामिन र खनिज पदार्थ हुन्छन् । जसले रोगका किटाणु र सरुवारोग र कमजोरी हुनबाट बचाउँछ । फर्सी, गाजर, बकुला र उमारेको गेडागुडीहरूमा प्रशस्त शरीरलाई आवश्यक पर्ने तत्वहरू हुन्छन् साथै सामान्यतयाः भिटामिन ‘ए’ शरीरको निम्ति अति आवश्यक हुन्छ । शारीरिक विकास, राम्रो आँखा, आँखाको तेज, स्वस्थ्य छाला, बलियो दाँत र हाडहरू बनाई राख्नको लागि भिटामिन ‘ए’ आवश्यक हुन्छ । भिटामिन ‘बी’ले नसासम्बन्धी रोगबाट बचाउँछ । भिटामिन ‘सी’ले शरीरका कोषहरू बलियो बनाउँछ । विशेषगरी जोर्नीहरू, मुख र गिजालाई फाइदा पु-याउँछ । यसबाहेक यसले घाउ चाँडो निको हुने र शरीरलाई फलामको मात्रा वृद्धि गर्न पनि मदछ गर्दछ । फलाम भएका खानाले रगत बनाउन सहयोग गर्दछ । क्याल्सियमयुक्त खानाले हाड र दाँत बलियो हुन्छ । बोक्रा वा त्यान्द्रा भएका खानाले दिसा खलास गराउँछ । हाम्रो समाजमा अज्ञानका कारण केही साना बालबालिका र वयस्क व्यक्ति पनि गाढा हरियो सागपात खाँदैनन् अतः गाढा हरियो सागपात नखाएर भिटामिन ‘ए’को कमी हुन्छ ।

भिटामिन ‘ए’ आँखाका लागि अति आवश्यक हुन्छ । यसको कमीले रतन्धो रोग हुन्छ । यस किसिमको समस्या विशेषगरी केटाकेटीमा पाइन्छ । त्यस्तै आँखा ज्यादै दुख्ने समस्या हुनसक्छ । सानो बालक छ भने आँखा मिचिरहन्छ त्यसैगरी आँखामा सेतो थोप्ला देखिन थाल्छ । आँखाको नानी नरम र घाउ भएको हुन्छ । सेतो भागको आकार असाधारण हुन्छ । आँखाको सबै कालो भाग सेतोले ढाक्छ अनि आँखा देख्न सक्दैन र अन्धो हुन्छ ।

भिटामिन ‘ए’ कमी भएका व्यक्तिलाई केही हप्तासम्म भिटामिन ‘ए’ भएका फलफूल जस्तैः गाढा हरियो सागपात, पाकेको फर्सी, आँप, गाजर आदि खुवाउनु पर्छ । यदि यस्तो व्यक्तिलाई प्रशस्त हरियो सागपात दिइन्छ भने केही हप्तामा नै आँखाको समस्या हटेर जान्छ । तर उसले निको नभएसम्म सधैँ हरियो सागपात खानुपर्दछ र जीवनभरि हरियो सागपात प्रयोग गर्नु अति उत्तम हुन्छ । गाढा हरियो सागसब्जीमा लौहतत्व पाइन्छ । लौहतत्वको अभावले रगतको कमी हुने रोग लाग्छ । अतः यस्तो खानेकुराहरू खानु आवश्यक छ । गुणस्तर जीवनको लागि सकाहारी भोजनको महत्वबारे त माथि व्याख्या गरिसकियो । मानव शरीरलाई स्वस्थ राख्न भोजनले मात्र हुँदैन्, व्यायाम तथा खेलकुदको पनि आवश्यकता हुन्छ । त्यसबारे संक्षेपमा प्रकाश पार्ने जमर्काे गरिएको छ ।

यसै सिलसिलामा मानवजीवनको लागि गुणस्तरीय जीवन बिताउन भोजनपछि व्यायाम तथा खेलकुदको अति आवश्यकता हुन्छ । हरेक वर्ष जुलाई २ मा विश्व खेलकुद पत्रकार दिवस मनाउने गरिन्छ । मानवको गुणस्तरीय जीवन बिताउन व्यायाम तथा खेलकुदको अति आवश्यक हुन्छ । अन्तर्राष्ट्रिय खेलकुद पत्रकार संघले आफ्नो ७०औँ वार्षिकोत्सव सन् १९९४ देखि यो दिवसको थालनी गरिएको पाइन्छ ।

मानवजीवनको अति आवश्यक व्यायाम तथा खेलकुद पत्रकारिताको विकास सन् १८०० बाट सुरु भएको पाइन्छ । यो समयमा खेलकुद पत्रकारितामा कुलीन खेलहरू जस्तैः घोडादौड र बक्सिङजस्तामा केन्द्रित भएको पाइन्छ, सो समयमा खेलकुद पत्रकारिता रिपोर्टिङमा बढी केन्द्रित थियो । उच्च वर्गमा मात्र लक्षित खेलकुद तथा व्यायाम तत्कालीन समयमा पत्रपत्रिकाहरू साधारण जनताको पहुँचभन्दा धेरै टाढा थियो । सन् १९२० पछि मात्र यो पेसाले व्यापकता लियो । अन्तर्राष्ट्रिय खेलकुद पत्रकारिता संघको मुख्यालय स्वीटजरल्याण्डको लुसनमा छ । आज विश्वमा यसलाई ओलम्पिकको राजधानी भनेर चिनिन्छ ।

आजको सन्दर्भमा हाम्रो देश नेपालमा पनि सो माध्यमबाट खेलकुद तथा व्यायामसम्बन्धी केही विकास भएको भने पाइन्छ । माथि उल्लेख गरिएको जस्तै खेलकुद पत्रकारिता रिपोर्टिङ, कुलिन खेलमा मात्र सीमित नभई हाल सयौँ खेलबारे सर्वसाधारणमा जानकारीको पहुँच पुगी खेलकुद र व्यायामको माध्यमबाट गुणस्तरीय जीवन राख्न सहज भएको छ । खेलकुदसम्बन्धी हाम्रा शैक्षिक संस्थामा विभिन्न अध्ययन अनुसन्धान भई राष्ट्रिय तथा अन्तर्राष्ट्रियमा खेलकुद र व्यायामसम्बन्धी खेलहरू सञ्चालन भएको छ । यससम्बन्धी सम्बन्धित निकायले अझै सोसम्बन्धी महत्वपूर्ण भूमिका खेल्न भने आवश्यक हुन्छ । तब मात्र यस दिवसले सार्थकता पाउनेछ । (लेखकः डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x