Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनिर्यात प्रवर्द्धन र व्यापारघाटा व्यवस्थापन

निर्यात प्रवर्द्धन र व्यापारघाटा व्यवस्थापन


काठमाडौं ।आजको समय विश्वव्यापीकरण तथा उदारीकरणको समय हो जहाँ कुनै पनि देश वैदेशिक व्यापारविना रहन सक्ने अवस्था छैन । वैदेशिक व्यापारले दुई वा दुईभन्दा बढी देशहरूबीचमा हुने वस्तु तथा सेवाको व्यापारलाई जनाउने गर्दछ ।

कुनै पनि वस्तु उत्पादन भइसकेपछि त्यो वस्तु तथा सेवा एक स्थानमा मात्र वा एउटा भूगोलमा मात्र सीमित नभई विभिन्न देशमा पुग्ने गर्दछ । सोही प्रक्रिया वा क्रियाकलाप नै वैदेशिक व्यापारको रूपमा देखापरेको अवस्था छ ।
व्यापार मानव सभ्यताको विकासको क्रमसँगै सुरुवात भएको पाइन्छ भने वैदेशिक व्यापारको सुरुवात देशहरूको स्थापनासँगै भएको हो तथापि यसको अभिलेख राख्ने काम भने धेरै समयपछि मात्र भएको मानिन्छ । इजिप्ट, रोम, ग्रीकजस्ता प्राचीन सभ्यतामा पनि वैदेशिक व्यापार चलेको तथ्या फेला परेको छ ।

त्यसपछि मानव सभ्यताको विकास र मानवीय चेतना तथा राष्ट्रिय एवं अन्तर्राष्टिय आवश्यकताअनुरूप नै वैदेशिक व्यापारको विकास हुँदै गएको पाइन्छ । युरोप, अमेरिका र एसियामा समेत यसको प्रभाव र विस्तार बढ्दै गएको अवस्था छ । नयाँ, नयाँ प्रविधि र वस्तु उत्पादनको वृद्धिले गर्दा वैदेशिक व्यापारले फस्टाउने मौका पाएको देखिन्छ । पन्ध्रौँ र सोह्रौँसताब्दीमा आइपुग्दा यसले विकसित रूप लिइसकेको पाइन्छ भने सत्रौँ शताब्दीमा आइपुग्दा ठूलाठूला देशहरूले उपनिवेशहरूलाई व्यापारको माध्यमबाट नै नियन्त्रण गर्नेगरेको पाइन्छ ।

नेपालको वैदेशिक व्यापारको सन्दर्भमा चर्चा गर्दा नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०७८ /२०७९ को ११ महिनाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा कुल वस्तु निर्यात ५३ दशमलव ३ प्रतिशतले वृद्धि भई एक सय ८५ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३७ दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ६१ दशमलव ८ प्रतिशत र ३० दशमलव १ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१ दशमलव ४ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा कुल वस्तु आयात २७ दशमलव ५ प्रतिशतले वृद्धि भई १७ सय ६३ अर्ब २२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५ दशमलव ७ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४ दशमलव २ प्रतिशत, १६ दशमलव शून्य प्रतिशत र ४६ दशमलव १ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, सुन, अन्य मेसिनरी तथा पाटर्सलगायतका वस्तुको आयात बढेको छ भने एमएसबिलेट, रासायनिक मल, सिमेन्ट, धान तथा चामल, दाललगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ कन्चनपुर र मेची भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ ।

आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा कुल वस्तु व्यापारघाटा २५ दशमलव शून्य प्रतिशतले वृद्धि भई १५ सय ७७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४ दशमलव ६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव ५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ दशमलव ८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी दुई सय अर्ब ८२ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक सय ७३ अर्ब २६ करोडबराबरको भएको थियो । बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती र अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७ दशमलव ४ प्रतिशत र ५२ दशमलव ६ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् शून्य दमशलव शून्य दुई प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः २९ दमशलव ७ प्रतिशत, शून्य दशमलव ४ प्रतिशत र ६९ दशमलव ९ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५२ दशमलव ४ प्रतिशत, पुँजीगत वस्तुको १० दशमलव २ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३७ दशमलव ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमशः ५३ दशमवल ५ प्रतिशत, ११ दशमलव ८ प्रतिशत र ३४ दशमलव ७ प्रतिशत रहेका थिए । वार्षिक विन्दुगत आधारमा २०७९ जेठ महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक ७ दशमलव ७ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकांक १९ दशमलव ३ प्रतिशतले बढेको छ । २०७८ जेठ महिनामा २ दशमलव ९ प्रतिशतले घटेको व्यापारको सर्त २०७९ जेठ महिनामा ९ दशमलव ८ प्रतिशतले घटेको छ ।

नेपाल सरकार अर्थमन्त्रालयद्वारा प्रकाशित आर्थिक सर्वेक्षण आर्थिक वर्ष २०७८ /२०७९ अनुसार आर्थिक वर्ष २०७७/७८ मा निर्यात ४४ दशमलव ४ प्रतिशत र आयात २८ दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वस्तु व्यापारमा निर्यात अंश १० दशमलव १ प्रतिशत पुगेको छ जुन आर्थिक वर्ष २०७७/७८ फागुनसम्म ७ दशमलव ९ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वस्तु निर्यात ८२ दशमलव ९ प्रतिशतले वृद्धि भई एक सय ४७ अर्ब ७५ करोड पुगेको छ । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा वस्तु निर्यात ७ दशमलव ८ प्रतिशतले बढेर ८० अर्ब ७८ करोड पुगेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म भारततर्फ एक सय ४ दशमलव २ प्रतिशत र अन्य मुलुकतर्फ २९ दशमलव १ प्रतिशतले निर्यात बढेको छ भने चीनतर्फ ११ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा भारतसँग ११ दशमलव ३ प्रतिशत र अन्य मुलुकतर्फ २ प्रतिशतले निर्यात बढेको थियो । भने चीनतर्फको निर्यात ४३ दशमलव ७ प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म पाम तेल, सोयाबिन तेल, सोयाबिन तेल, पिना, धागो (पोलिस्टर तथा अन्य) ऊनी, गलैँचालगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, जडीबुटी, तार तामाको तारलगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वस्तु आयात ३८ दशमलव ६ प्रतिशतले बढेर १३ खर्ब आठ अर्ब ७३ करोड पुगेको छ । आर्थिक वर्ष २०७८/७८ को सोही अवधिमा यस्तो आयात २ दशमलव १ प्रतिशतले बढेर नौ खर्ब ४३ अर्ब ९९ करोड पुगेको छ । आर्थिक वर्ष २०७८/२०७९ को फागुनसम्म भारतबाट भएको आयात २८ दशमलव १ प्रतिशत, चीनबाट भएको आयात २६ दशमलव ७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ७५ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।
आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वैदेशिक व्यापार ४२ दशमलव १ प्रतिशतले बढेर १४ खर्ब ५६ अर्ब ४८ करोड पुगेको छ । आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा कुल व्यापार २ दशमलव ६ प्रतिशतले बढेर १० खर्ब २४ अर्ब ७७ करोड पुगेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०७८ फागुनमा निर्यात एकाइ मूल्य सूचकांक ११ दशमलव ३ प्रतिशतले बढेको छ भने आयात एकाइ मूल्य सूचकांक १३ दशमलव ८ प्रतिशतले बढेको छ । २०७८ फागुन महिनामा वार्षिक विन्दुगत आधारमा व्यापारको सर्त २ दशमलव २ प्रतिशतले घटेको छ । २०७८ फागुन महिनामा वार्षिक विन्दुगत आधारमा व्यापारको सर्त २ दशमलव २ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष सोही अवधिमा व्यापारको सर्त १ दशमलव २ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७८/२०७९ को फगुनसम्म कुल वस्तु व्यापारघाटा ३४ दशमलव ५ प्रतिशतले वृद्धि भई ११ खर्ब ६० अर्ब ९९

करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७/२०७८ को सोही अवधिमा यस्तो घाटा १ दशमलव ६ प्रतिशतले बढेर आठ खर्ब ६३ अर्ब २१ करोड पुगेको थियो । आर्थिक वर्ष २०७८ २०७९ को फागुनसम्म शोधानान्तर स्थिति दुई खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको छ । बढ्दो व्यापारघाटा, खुद सेवा आयमा वा टान्सफर आयको कमी, पुँजीगत खाता, वैदेशिक ऋण तथा अनुदान आप्रवाहमा आएको कमीलगायताका कारण शोधानन्तर स्थिति उच्च घाटामा रहेको छ । आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म एक अर्ब ५१ करोडले घाटामा रहेको चालू खाता आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म चार खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०७९/२०८० को बजेट वक्तव्यअनुसार वस्तु आयातको तुलनामा निर्यात उल्लेखनीयरूपमा वृद्धि भए पनि साँघुरो आधार र आयातको तुलनमा न्यून परिणाम रहेकोले व्यापारघाटा उच्च बनेको, चालू खाताघाटा वृद्धि भएको र भुक्तानी सन्तुलनमा पनि चाप रहेको उल्लेख गरेको छ र त्यसैगरी बजेटमा निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन गर्न आधारभूत कृषि उत्पादन धान, मकै, गहुँ तरकारी र फलफूलको आयात आगामी वर्ष न्यूनतम ३० प्रतिशतले कम गर्ने, आगामी वर्ष निर्यात दोब्बर गर्ने, आयात न्यूनतम २० प्रतिशतले घटाउने र आगामी ५ वर्षभित्र व्यापार सन्तुलन कायम गर्ने लक्ष्य राखिएको छ । तेस्रो मुलुकसम्मको पहँुचलाई थप सहज बनाई अन्तराष्ट्रिय व्यापारलाई प्रवद्र्धन गरिने कुरा उल्लेख छ ।

नेपाल सरकार राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको पन्ध्रौँ पञ्चवर्षीय योजना (२०७६ देखि २०८१)ले नेपालको संविधानले आयात व्यवस्थापन तथा निर्यात प्रवर्द्धनको क्षेत्रमा वैदेशिक पुँजी तथा प्रविधिको लगानीलाई प्रोत्साहन गर्ने नीति लिएको छ । योजनाले व्यापारघाटा उच्च हुनु, कृषि तथा औद्योगिक उत्पादखन न्यून हुनु, स्वदेशी वस्तुको उत्पादन वृद्धि गर्न नसक्नु, निर्यात प्रवद्र्धन गर्न देशगत तथा वस्तुगत विविधीकरण गर्न नसक्नु, सेवा व्यापारमा अपेक्षित वृद्धि गर्न नसक्नु र औद्योगिक पूर्वाधारको विकास गर्न नसक्नुजस्ता समस्या औँल्याएको छ ।

त्यसैगरी उक्त योजनामा सन्तुलित वैदेशिक व्यापार पर्याप्त विदेशी सञ्चिति र बाह्य क्षेत्र स्थायित्वसहितको सुदृढ अर्थतन्त्र निर्माण गर्ने सोच, निर्यात प्रवद्र्धन, वैदेशिक व्यापार सन्तुलन र शोधानान्तर बचत कायम गर्ने लक्ष्य राखिएको छ भने उक्त लक्ष्य पूरा गर्न उत्पादन अभिवृद्धि, आयात व्यवस्थापन तथा निर्यात पर्वद्धनको लागि देशगत तथा वस्तुगत विविधीकरण गरी व्यापार घाटा कम गर्ने र विदेशी विनिमय स्थिरता, बाह्य क्षेत्र स्थिरता तथा लक्षित विदेशी मुद्रा सञ्चिति कायम गर्ने उद्देश्य राखिएको छ भने निर्देशित लक्ष्य, उद्देश्य हासिल गर्नको लागि

तुलनात्मकरूपमा लाभ भएका कृषि, जडीबुटी, जलविद्युत् तथा पर्यटनजस्ता क्षेत्रको विकास गरी उत्पादकत्व वृद्धि गर्ने, वस्तु र सेवाको उत्पादन र अनावश्यक आयात नियन्त्रण गरी आयात व्यवस्थापन गर्ने र वस्तु तथा देशगत निर्यात बजार विस्तार तथा विविधीकरण गर्ने रणनीति अवलम्बन गरिएको छ ।

नेपाल सरकारले वैदेशिक व्यापारमा निर्यात प्रवद्र्धनको लागि निर्यात प्रवद्र्धन तथा व्यापार सहजीकरण शाखा समेत स्थापना गरेको छ । उक्त शाखामार्फत सरकारले निर्यात प्रवद्र्धनसम्बन्धी नीति, रणनीति र कार्यक्रम तर्जुमा तथा कार्यान्वयनसम्बन्धी कामहरू गर्ने, मुलुकको उच्च निर्यात सम्भावना भएका वस्तुहरूको पहिचान गरी निजी तथा सरकारी निकायसँग समन्वय गरी वस्तु विकास कार्यक्रम सञ्चालन गर्ने तथा अनुगमन गर्नेसम्बन्धी कार्यहरू गर्ने र मन्त्रालयबाट वस्तु आयात तथा निर्यात सम्बन्धमा नेपाल राजपत्रमा प्रकाशित सूचनाको अद्यावधिक अभिलेख राख्ने र सोअनुसार कार्यान्वयनको व्यवस्था मिलाउने तथा सो सूचनालाई अद्यावधिक गर्ने कार्यहरू गर्दछ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले व्यापार अनुसन्धान तथा तथ्यांक शाखाको कार्यविवरण राख्न, व्यापारका लागि आवश्यक सूचना तथा तथ्यांकहरू सम्बन्धित निकायसँग समन्वय गरी संकलन तथा अद्यावधिक गर्ने, मुलकको वैदेशिक व्यापारको देशगत तथा वस्तुगत तथ्यांकहरू राख्ने, निर्यात क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान गरी वस्तुगत सुझाव दिने, द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय व्यापार वार्ताका लागि आवश्यक तथ्यांक संकलन तथा विश्लेषण गर्ने, व्यापार नीति तथा रणनीतिलाई तथ्यमा आधारित बनाउन आवश्यक अनुसन्धान र तथ्यांकसम्बन्धी कार्य गर्ने गराउने कार्य गर्दै आएको छ ।

नेपालले आफ्ना वस्तु तथा सेवाहरू भारत, चीन, फ्रान्स, अमेरिका, टर्की, जर्मनी, बेलायत, इटाली, बंगालादेश, जापान र अन्य मुलुकहरूमा निर्यात गर्ने गर्दछ भने विश्व व्यापार संगठनले प्रकाशित गरेको प्रतिवेदनअनुसार विश्वबजारमा नेपालको वैदेशिक व्यापारको हिस्सा नगन्य देखिन्छ । विश्वको कुल निर्यातमा नेपालको निर्यात अंश ज्यादै न्यून भई करिब शून्यबराबर छ भने आयातको अंश विश्वको कुल आयातको शून्य दशमलव शून्य छ प्रतिशत रहेको देखिन्छ । व्यापारघाटा घटाउन निर्यातमा प्रोत्साहन र आयातमा प्रतिस्थापन गर्नु जरुरी छ ।

आयात प्रतिस्थापन गर्नका निम्ति सरकारले समयमै स्वदेशी उत्पादनको वृद्धिमा विशेष जोड दिँदै कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यावसायिक उत्पादनमा जोड दिनुपर्दछ । खासगरी बढी मूल्य भएका वस्तुहरूको आयातमा सरकारी तवरबाट निरुत्साहित गरिनुपर्दछ भने सरकार र आम नागरिकले स्वदेशमै उत्पादन भएका वस्तु तथा सेवाको प्रयोगमा जोड दिनुपर्दछ । आयात गर्ने वस्तुहरूलाई कम गर्नको लागि नेपालमा भएका औद्योगिक क्षेत्रहरूलाई विभिन्ने सहुलित तथा सेवा सुविधा प्रदान गरी प्रोत्साहित गर्नुपर्दछ ।

त्यसैगरी निर्यात प्रवद्र्धनका लागि उत्पादकत्वमा वृद्धि गर्नु आजको आवश्यकता हो । उत्पादकत्व आफैँमा एक एकाइ श्रमिक वा पुँजीले निश्चित समयमा मूल्यबराबरको वस्तु तथा सेवा उत्पादन गर्ने कुरा भएको र नेपालमा श्रमिकहरूको उत्पादकत्व निकै कम भएको देखिएको छ । निर्यात वृद्धि मात्र नभई समग्र अर्थतन्त्र विकासको लागि र व्यापार सन्तुलनको लागि समेत उत्पादकत्व वृद्धि आवश्यक देखिएको हो । श्रमिकको उत्पादकत्व बढाउन सकेमा मात्र उत्पादन बढ्ने कुरा निश्चित छ । आयातलाई निरूत्साहित गरी स्वदेशमै उत्पादन गरी निर्यात गर्नसक्ने अवस्था आएमा मात्र व्यापारघाटा कम गर्न सकिन्छ ।

कुनै पनि देशको निर्यातको अनुपातमा आयातको दर बढ्दै जानुले त्यो देशसँग विदेशी मुद्राको सञ्चितिमा कमी हुँदै गएको छ भन्ने संकेत गर्दछ । यदि यस्तो अवस्था निरन्तर बढ्दै गयो भने देशको ढुकुटी रित्तिने सम्भावना बढेर जान्छ । खासगरी विश्व अर्थव्यवस्थामा विकासोन्मुख र विकासशील देशहरूमा यस्तो प्रवृत्ति देखिने गर्दछ । हाल यस्तो अवस्था श्रीलंकामा देखिएको छ ।

हालको अवस्थामा निर्यात प्रवद्र्धनको लागि वस्तु र देशगत विविधीकरण गर्ने, निर्यातयोग्य कृषिजन्य वस्तुहरूको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने, स्वदेशमा उत्पादन प्रोत्साहन तथा वैकल्पिक वस्तुको प्रयोग गरी आयात व्यवस्थापन गर्ने, उच्च व्यापारघाटा कम गर्ने, विप्रेषण आयलाई व्यापारसँग जोडने, राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रको उत्पादन अभिवृद्धि गर्न लगानी आर्कषित गर्ने, शोधानान्तर बचत कम गर्ने, विदेशी विनियम सञ्चितिको पर्याप्तता कायम राख्नेजस्ता कार्य गर्नु आजको आवश्यकता हो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया