Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगफोहोरमैला व्यवस्थापन : राष्ट्रिय चुनौती

फोहोरमैला व्यवस्थापन : राष्ट्रिय चुनौती


काठमाडौं । फोहोरमैला व्यवस्थापनको विवेचना गर्दा काठमाडौं महानगरपालिकाको गर्नु उपयुक्त होला । काठमाडौं उपत्यकाको फोहोरमैला नुवाकोटको सिसडोलमा बनाइएको ल्यान्डफिल साइटमा फोहोरमैला निष्कासन गर्न थालेको करिब १७ वर्ष पुगिसक्यो । काठमाडौं, ललितपुर र कीर्तिपुरको फोहोर फाल्न भनी बनाएको सो डम्पिङ साइटमा हाल १८ वटा पालिकाको फोहोर फालिँदै आएको छ । वैकल्पिक ल्यान्ड फिल्ड साइटका रूपमा नुवाकोटको बन्चरे डाँडामा स्यानिटरी ल्यान्ड फिल्ड साइट निर्माणकार्य सम्पन्न हुँदै छ । दुई वर्षको लागि भनेर बनाएको डम्पिङ साइटमा करिब १७ वर्ष निरन्तर फोहोर थुपार्दा फैलिएको दुर्गन्धले स्थानीयवासी आक्रान्त हुनु स्वाभाविक नै हो । फोहोर कुहिई बगेको अर्धठोसको कारण प्रभावित क्षेत्रका बासिन्दाको जनस्वास्थ, गाइवस्तु एंव कृषि उपज, जलथल, वातावरणमा नै नकरात्मक असर परेको गुनासो छ । सो ल्यान्डफिल्ड साइटको क्षमता सकिएकोले बन्चरे डाँडा ल्यान्डफिल्ड साइट बनाउने निर्णय भएको थियो ।

बन्चरे डाँडामा सिसडोलको जस्तो नभई फोहोर छुट्याएर मात्र राख्ने स्यानेटरी ल्यान्डफिल्ड साइट हुने कुरा प्रकाशमा आएको छ । सो पनि ढिलाइ भइरहेको छ । सिसडोल ल्यान्डफिल्ड साइट हाल पूर्णरूपमा भरिएपछि उपत्यकाको फोहोरमैला व्यवस्थापनमा ठूलो चुनौती आएको छ । केही किलोमिटर सडक फोहोर पुरी बनाएकोले फोहोर बोक्ने गाडी चिप्लेर सो उचाइ चढ्न नसकी बेलाबखत फोहोरमैला व्यवस्थापनमा समस्या भई सो प्रभावले जनस्वास्थ्यमा समेत असर परेको सर्वविधितै छ । ल्यान्ड फिल्ड साइटको फोहोर कुहिएर बगेको लेदोले फोहोर बोक्ने गाडि ल्यान्ड फिल्ड साइटमा पुग्न समेत मौसमी समयमा कठिन हुनेगरेको छ । दैनिक १२ सय मेट्रिक टनभन्दा बढी फोहोर फालिँदै आएको सिसडोल ल्यान्ड फिल्ड साइटमाथि भनेजस्तै बेलाबखत समस्याग्रस्त हुनेगरेको छ ।

यसै सिलसिलामा काठमाडौं महानगरपालिकाको गल्ली, चोक, सडक केही सातादेखि पुनः फोहोरमैलामय भई उठ्न सकेको छैन । फोहोर उठ्न रोकिएपछि सिंगै उपत्यका दुर्गन्धित भएको छ र वैशाख २५ गतेदेखि यता परेको पानीले थप दुर्गन्धित पारी सोको कारण जनस्वास्थ्यमा असर परेको छ । पछिल्लो समय फोहोरमैलासम्बन्धी प्रकाशित समाचारअनुसार स्थानीय तहको निर्वाचनमा सबैको ध्यान केन्द्रित भएको बेला फोहोर विसर्जन गरिने डम्पिङ साइट पुनः स्थानीयले अवरोध गरी फोहोर उठ्न सकेको छैन । काठमाडौंको टेकुमा फोहोर थुप्रिएर त्यो क्षेत्रको वातावरण नै दुर्गन्धित भएको भन्दै स्थानीय बासिन्दाले त्यस ठाउँमा फोहोर राख्न अवरोध गरेका छन् । स्मरण रहोस्, महानगरले घर–घरबाट फोहोर संकलन गरेर टेकु ल्यान्डफिल्ड साइटमा जम्मा गर्दै त्यहाँबाट गाडीमा सिसडोल लैजाने गरेको थियो । हाल टेकुबाट डम्पिङसाइटमा अवरोध हुँदा फोहोर उठ्न नसकी दुर्गन्धित भई जनस्वास्थ्यमा प्रतिकूल असर परेको छ ।

यसै सिलसिलामा गत २०७९ नयाँ वर्षदेखि काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको संकलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्नको लागि विज्ञप्ति निकालेको पाइन्छ । सोअनुसार, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गर्नको लागि कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संकलन गर्नुपर्ने जनाएको छ । महानगरले हप्ताको तीन दिन कुहिने र हप्ताको एक दिन नकुहिने फोहोर संकलन गर्ने निर्णय गरेको जानकारी बाहिर आएको छ । यसको मुख्य उद्देश्य फोहोर उत्सर्जनको मुख्य स्रोत घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याई फोहोरमैला निष्काशनमा कमी गरी स्रोत परिचालनसहित वैज्ञानिक व्यवस्थापन गर्नु हो । सहरवासीले फोहोर संकलन गर्ने सवारीसाधनसम्म कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै ल्याउनुपर्ने हुन्छ । कुहिने र नकुहिने वर्गीकरण नगरी संकलन गर्ने सवारीसाधानसम्म फोहोर ल्याय सम्बन्धित व्यक्तिको घरमा नै पुनः फर्काई सो घरधनीलाई कारबाही स्वरूप पाँच सय रूपैँया जरिवाना गर्ने समेत जनाएको छ । यो कदम धेरै राम्रो हो । सोसम्बन्धी नगरवासीलाई समयमा नै फोहोरमैला व्यवस्थापनसम्बन्धी सचेतना शिक्षा दिन भने आवश्यक छ ।

फोहोरमैलाको उचित व्यवस्थापनको बाधक तत्वहरू निम्न छन्ः
नगरका बासिन्दामा फोहोरमैला व्यवस्थापन गर्ने जिम्मेवारी पालिकाको मात्र हो, आफ्नो जिम्मेवारी नसम्झिने, स्थानीय बासिन्दासँग भएको समझदारी कार्यान्वयनमा कमी हुने, फोहोरमैला व्यवस्थापनको लागि स्रोत परिचालन नहुनु, कानुनको उचित कार्यान्वयन हुन नसक्नु, फोहोरमैला व्यवस्थापनमा संस्थागत अभावको समस्या, फोहोरमैला व्यवस्थापनमा दक्ष जनशक्तिको कमी, फोहोरमैला व्यवस्थापन कार्यमा नगरपालिकाको प्रमुख प्राथमिकता परे पनि सोअनुसार कार्यान्वयन गर्न नसक्नु, फाहोरमैला व्यवस्थापनको सन्दर्भमा दीर्घकालीन योजनाको अभाव, आवश्यक भौतिक पूर्वाधारहरू जस्तैः पुनः प्रयोगशाला, ल्याण्डफिल साइटको अभाव, फोहोरमैला व्यवस्थापन मा जनचेतना अभिवृद्धि कार्यक्रमहरू प्रभावकारीरूपमा सञ्चालन गर्न नसक्नु, फोहोरमभैला व्यवस्थापनमा समुदाय र निजी क्षेत्रसँगको साझेदारी कार्यक्रममा न्यून सहभागिता, फोहोरमैला व्यवस्थापनमा आवश्यक मेसिन तथा उपकरणको उचित प्रयोग नहुनु, फोहोरमैला व्यवस्थापनसम्वन्धी तथ्यांक र अध्ययनको अभाव, फोहोरमैला व्यवस्थापन कार्यको नियमित अनुगमन र मूल्याड्ढनको अभाव, निहित स्वार्थ, राजनीतिक खिचातानी, फोहोरमैला व्यवस्थापनमा देशमा चलेको अशान्ति र द्वन्द्व तथा माहामारीको प्रभाव, फोहोरमैला व्यवसथापनमा अन्तर नगरपालिका समन्वयको अभाव, फोहोरमैला प्रबन्ध तथा स्रोत परिचालन गर्न नसक्नु, संस्थागतरूपले तालिम तथा विकास हुन नसकेको, फोहोरमैला व्यवस्थापन सेवामा नगरपालिकाहरूको प्रतिबद्धता र प्राथमिकता निर्धारण नभइसकेको, कमजोर संस्थागत अभ्यास, फोहोरमैलालाई स्रोतको रूपमा परिचालन गर्ने दृष्ट्रिकोण तयार नभई खरबौँ धनराशि नोक्सानी भएको । यी माथिका कारणबाट काठमाडौं उपत्यकालगायत देशका अन्य सहरी क्षेत्रमा कमजोर क्षमता विकासको कारण फोहोरमैलाको व्यवस्थानमै राष्ट्रियरूपमा चुनौतीपूर्ण बन्नु दुःखको कुरा हो ।

फोहोरमैलाको समाधानको सबैभन्दा उत्तम उपाय फोहोरमैला व्यवस्थापनमा नगरवासीको अहम् भूमिकाबारे जानकारी गराउने, स्थानीय बासिन्दाको आवश्यक मागलाई सम्बोधन गर्नुपर्ने, नगरपालिकाले फोहोरमैला व्यवस्थापन कार्यलाई उच्च प्राथमिकता राखी फोहोरबाट मोहोर आर्जन गर्ने दीर्घकालीन योजना बनाई काम गर्नुपर्ने, फोहोरमैला व्यवस्थापनमा नगरवासीलाई सचेतना गराउनुपर्ने, प्रत्येक नगरपालिकाले आफ्नो संगठन तालिकामा फोहोरमैला व्यवस्थापन शाखाको स्थापना गरी फोहोरमैला व्यवस्थापनसम्बन्धी दक्ष जनशक्ति तयार गर्नको लागि कर्मचारी आवश्यक तालिम उपलब्ध गराउनुपर्ने, फोहोरमैला व्यवस्थापनको तथ्यांकलाई वैज्ञानिक ढङ्गले अध्यावधिक गरी राख्ने, फोहोरमैला व्यवस्थापनको लागि पूर्वाधारको विकास गर्ने, फोहोरमैला व्यवस्थापनमा नगरपालिकाहरूले समन्वय गरी छाता अवधारणको विकास गर्ने, नगरवासीहरूलाई फोहोरमैला व्यवस्थापनको मुख्य पक्षलगायत आदि कार्यको जनचेतना अभिवृद्धि गरी सो व्यवस्थापनमा सहभागी गराउने, फोहोरमैला व्यवस्थापनमा निजी क्षेत्रलाई आकर्षित गर्न नगरपालिकाहरूले विशेष कार्य योजना बनाई अगाडि ल्याउन आवश्यक छ यस्तो कार्य योजना बढी पारदर्शी तथा नगरपालिकाहरूबाट निजी क्षेत्रलाई उपलब्ध गराउने सेवा सुविधा स्पष्टरूपमा उल्लेख हुनुपर्दछ, नगरक्षेत्रको फोहोरमैला व्यवस्थापन बढीभन्दा बढी मात्रामा समुदायमा आधारित संस्था, गैरसरकारी संस्था, सरकारी संस्थाहरूलाई स्पष्ट कार्ययोजनाका साथ परिचालन गर्न सकिएमा फोहोरमैला व्यवस्थापनको सञ्चालन खर्चमा न्यूनीकरण गर्न सकिन्छ, फोहोरमैलाको वैज्ञानिक व्यवस्थापन गरी सोबाट प्रशोधन गरी मल उत्पादन गर्नुपर्ने सोबाट ठूलो धनराशिको बचत हुने, फोहोरमैला न्यूनीकरण गर्ने घरेलु उपायहरू अवलम्बन गर्न र नगरपालिकाले उपयुक्त प्रविधि भित्र्याई आवश्यक व्यवस्थापन गर्ने नगरपालिकाले अल्पकालीन तथा दीर्घकालीन फोहोरमैला व्यवस्थापनमा योजना तर्जुमा गर्नुपर्ने, उपयुक्त प्रविधिको पहिचान गरी सहीरूपले फोहोरबाट मोहर आर्जन गरी कार्यान्वयन गर्ने, नगरपालिकाकै ल्याण्डफिल्ड साइटको व्यवस्था गर्ने, पब्लिक—प्राइभेट साझेदारी कार्यक्रमलाई अनुकुल बनाउँदै लैजाने, फोहोरमैला व्यवस्थापनसम्बन्धी विद्यमान कानुनले फोहोरमैला व्यवस्थापनका लागि विभिन्न निकाय, संस्था तथा व्यक्तिको जिम्मेवारी, कर्तव्य र दायित्वको विषयमा स्पष्ट व्यवस्था नगरेकोले कतै निकायगत जिम्मेवारीमा दोहोरापना र कतै कर्तव्य र दायित्व स्पष्ट नभएको अवस्था हुदाँ फोहोरमैला व्यवस्थापनसम्बन्धी काम गर्ने निकाय, संघसंस्थाको जिम्मेवारी र कर्तव्यको स्पष्ट व्यवस्था हुनेगरी विद्यामान कानुनहरूलाई परिमार्जन गरिनुपर्ने, माध्यामिक तहको विद्यालयको पाठ्यक्रममा नै फोहोरमैलाको स्रोत परिचालनसम्बन्धी विषयवस्तु राख्नुपर्ने, प्राङ्गारिक मलको कारखाना खोल्न आवश्यक पहल गर्नुपर्दछ । २०७९ वैशाखा ३० गतेको स्थानीय निर्वाचनबाट विजयी भई आउने स्थानीय सरकारले आफ्नो राजनीतिक घोषणा पत्रमा भएको अबको बाटो, जनताको समृद्धिको पाटोलाई सफलीभूत पार्न फोहोरमैलाको उचित व्यवस्थापन गरी नगरवासीको स्वास्थ्य गुणस्तरीय पार्नु आजको आवश्यकता हो । लेखकः डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x