Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगभन्सार दिवसको औचित्य

भन्सार दिवसको औचित्य


काठमाडौं । गत माघ १२ गते विश्वभरि अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइयो । यस दिनमा भन्सार दिवस मनाइने प्रचलन भने विश्व भन्सार संगठनले कायम गरेको थियो । यसरी सामान्य अर्थमा भन्नुपर्दा सरकारले आयात र निर्यातमा लगाउने करलाई नै भन्सार भनिन्छ । वस्तुतः भन्सार भन्नाले एउटा देश र अर्को देशबीचको सीमामा भएको विभिन्न किसिमका वस्तु र सामानहरूको लेखाजोखा राख्ने सरकारी कार्यालयहरूलाई जनाउँदछ । तसर्थ भारत र चीनसँग जोडिएका मुलुकका धेरै भन्सार कार्यालयहरू छन् । यसै अवसर पारेर संसारभरिका देशहरूले आ–आफ्नो तौरतरिकाअनुसार उक्त दिवस मनाउने गर्दछन् । मूलतः हाम्रो दैनिक जीवनमा चाहिने वस्तु तथा सेवाहरूको सरल अनि सहज आपूर्तिका लागि भन्सारको ठूलो महत्व छ । यहाँसम्म कि हामीले चढेका हरेक सवारीसाधनहरूलगायत तिनले खपत गर्ने हरेक थोपा इन्धनहरू, नुनदेखि सुनसम्म दैनिक जीवनमा प्रयोग हुने सम्पूर्ण सामानहरू भन्सारकै नाका भएर आएको हो ।

नेपाल एक भूपरिवेष्ठित देश भएकोले हामी नेपालीहरूका लागि भन्सारको महत्व अत्यन्त धेरै छ । यस्ता भन्सार कार्यालयहरूमा आयात या निर्यात गरिने सामानहरूको लेखाजोखा राखिन्छ । यसरी देशको कानुनअनुसार कर लगाइन्छ र मापदण्डबमोजिम पैठारी गरिन्छ । यसरी भन्सारले उठाउने महसुललाई राजस्वका रूपमा देशले विकास निर्माणका लागि प्रयोग गर्दछ । चीनसँगका भन्सार नाकाहरू हुँदै या भारतसँगका नाका हुँदै ठूला–ठूला मालवाहक गाडीमा आउने सामानहरू हाम्रा जीवनरेखाका रूपमा रहेका छन् । यसै सिलसिलामा हाम्रा उत्तरबाहेकका पूर्व, पश्चिम र दक्षिण भारतसँग सिमाना जोडिएका २६ जिल्लाहरूसँग जोडिएका छन् ती सिमानाहरूमा धेरै नेपाल तथा भारतीय भन्सार कार्यालयहरू रहेका छन् भने अर्को उत्तरतर्फका चीनसँग पनि जोडिएका सिमानाहरूमा नेपाल तथा चीनका भन्सार कार्यालयहरू रहेका छन् । यसमा खासगरीकन भारतसँग धेरै खुला सिमाना भएको कारणले गर्दा नेपाल तथा भारतका धेरै तस्करी हुनेगरेको पनि अर्कोतिर रहेको छ । यसलाई रोक्न दुवै देशहरूले सकेको छैन ।

विश्व व्यापार संगठनको प्रावधान र छिमेकीसँगको सम्बन्धका कारण हामीले भारत र बंगलादेशका बन्दरगाह प्रयोग गर्दै आएका छौँ । जसमा चीनको बन्दरगाह प्रयोग गर्न पनि कुनै बाधा छैन । नेपाली कार्गो आउने र छुट्ने स्थानमा नेपालले तत् मुलुकसँग सम्झौता गरी निश्चित जमिन लिजमा लिन सक्छ र सो स्थानमा नेपाली झण्डासहित बन्दरगाह सञ्चालन गर्न सक्छ । नेपालले आफ्नो हैसियतअनुसारको संख्यामा पानीजहाज किनेर वा भाडामा लिएर सञ्चालन पनि गर्न सक्छ ।

प्रत्येक व्यावसायिक व्यक्तिले विश्व बजारको प्रतिस्पर्धा बुझेर निकासीयोग्य गुणस्तरीय सामान उत्पादन गरी विदेशी मुद्रा आर्जनको ध्येय राख्नुपर्छ । प्रत्येक नेताले जनतालाई अधिक सुख–सुविधा दिन मुलुकभित्रै वातावरण निर्माण गर्नुपर्छ । जुन नरम भएर भन्सार प्रशासनमा अपेक्षित सुधार गर्न सकिन्न । अतः भन्सार प्रशासनको सुधारमा सबै क्षेत्र, पक्ष र वर्ग मन, वचन र कर्मले खरो उत्रिऔँ, सुधारको फल हाम्रै घरआँगनमा ढुकेर बसेको देखिनेछ । यसर्थ अर्थशास्त्रीहरू अन्तर्राष्ट्रिय व्यापार सुधारका लागि भन्सार नीतिमा स्पष्टता, सरकारको प्राथमिकता र प्रक्रियामा पनि सरलता आउनेगरी सुधार हुनुुपर्ने बताउँछन् । नेपालजस्तो सानो मुलुक सबै वस्तुमा आत्मनिर्भर हुन त्यसै पनि असम्भव छ । त्यस कारण आयातविना नेपाली अर्थतन्त्र चल्न सक्तैन । तर, आयात धान्न निर्यात पनि उत्तिकै हुनुपर्दछ । त्यो नभएर नेपालको व्यापार सधैँ घाटामा छ र घाटाको आकार धान्न नसकिने गरी बढिरहेको छ । यसलाई सम्बोधन गर्न धेरै विषयहरूमा काम गर्नुपर्ने हुन्छ । त्यसमध्ये भन्सारसम्बन्धी नीति, नियम र प्रक्रियामा सुधार प्रमुख हो । यसरी मूल्यांनको आधार वस्तुको कारोबार मूल्य नै हो । यसमा भन्सार मूल्यांकनका छवटा विधिहरू रहेका छन् । जसमा पहिलो कारोबार मूल्य विधि रहेको छ भने दोस्रोमा समरूपका मालवस्तुको कारोबार मूल्य विधि हो । त्यसरी नै तेस्रो भन्सार मूल्यांकनको विधिको रूपमा मिल्दोजुल्दो मालवस्तुको कारोबार मूल्य विधि हो । त्यस्तै गरी चौथोमा डिडक्टिभ मूल्य विधि पनि अति आवश्यक पर्छ । त्यसैगरी पाँचौँमा कम्प्युटेड मूल्य विधि रहेको छ भने अर्कोतिर अन्तिम मूल्यांकन आधार तथा छैटौँमा मुनासिव आधार विधि रहेको छ । सर्वप्रथम त मालवस्तुको कारोबार मूल्यको आधारमा नै मूल्य निर्धारण गर्नु पर्दछ । यो सम्भव नभए दोस्रो विधि अपनाइने गरिएको छ । त्यस्तै क्रमैसँग उल्लिखित विधि अवलम्बन गर्ने प्रक्रिया छ । यसै क्रममा भन्सार विन्दुमा आउने वस्तुको प्रवेश, घोषणा, जाँचपास, जोखिम व्यवस्थापन र भन्सार निकासीका लागि एक्जिट नोट दिनेसम्मको काम स्वचालित बनाउने काम भइरहेको छ ।

भन्सारका तथ्यांक तुरुन्तै लिन/दिन, अपडेट गर्न भन्सार स्वचालित हुनुपरेको हो । स्वचालित भन्सारले साबिकको कार्य प्रणाली परिष्कृत बनाएर देशको विदेश व्यापारको वातावरण पनि सकारात्मक बनाउँछ । अहिले एउटै मन्त्रालयअन्तर्गत विभिन्न निकायका नीतिनियममै भिन्नता छ । यसले व्यवसायमा ठूलो समस्या पारेको छ । त्यस्तै, भन्सार कर्मचारीले अन्तर्राष्ट्रिय व्यापारबारे पूर्ण जानकारी राख्नुपर्छ । अहिले त्यसो नहुँदा समस्या भोग्नुपरेको छ । प्रशासन सहयोगी ढङ्गले प्रस्तुत हुनुपर्यो । फलतः अवश्य पनि नेपालमा उत्पादित वस्तुको अन्य मुलुकमा निर्यात गर्न सजिलो छैन । सर्वप्रथम त नेपाल भन्ने देश सबैको पहिचानमा नै छैन । यसले गर्दा यहाँको उत्पादनको बारेमा सबैलाई जानकारी हुँदैन । यसले हाम्रो निर्यात वृद्धिमा समस्या पार्दछ । त्यस्तै, अर्को हाम्रो देशका नीतिहरू एकै प्रकारका हुन्छन् । अन्य देशको जस्तो समयसापेक्ष रूपमा परिवर्तन नहुँदा यसले पनि निर्यातमा कठिनाइ पारेको छ ।

समग्रमा भन्नुपर्दा सामान्य अर्थमा कुनै पनि सरकारको आयात र निर्यातमा लगाउने करलाई नै भन्सार भन्ने गरिन्छ । योचाहिँ एक मुलुकदेखि अर्को मुलुकबीच सिमानामा भएको वस्तु तथा समानहरूको लेखाजोखा राख्ने भन्ने कार्यालय हो । राष्ट्रको कुरा गर्ने हो भने परापूर्वकालदेखि नै दुई ढुंगाबीचको तरुलको रूपमा रहेको भूपरिवेष्ठित मुलुकको रूपमा विश्वसामु रहेको छ । जसले गर्दा भारत र चीनसँग नेपालको सिमाना जोडिएकोले हाम्रा देशमा पनि धेरै भन्सार कार्यालयहरू रहेका छन् । यसको साथसाथै कुनै पनि देशको नागरिकहरूले भन्सार छलेर कुनै सामान या सेवाको आपूर्ति गर्नु कानुनतः एउटा अपराध हो, वस्तु तथा सेवाको कानुनतः आपूर्ति गर्नका लागि भन्सार छल्नु सजायको भोगी हुनु हो । यसर्थ हरेक वर्ष भन्सार दिवसमा नेपाल सरकार अर्थ मन्त्रालयले एउटा निश्चित उद्देश्य निर्धारण गरी त्यो उद्देश्य प्राप्ति भए/नभएको अनि त्यसका अन्य कठिनाइ र अभ्यासहरूको छलफल गर्दछ । यसर्थ विभिन्न प्रकारका बन्द, चक्काजाम अनि आन्दोलनका कारणले वस्तु तथा सेवाको आयात निर्यातमा असर पर्दछ र राजस्व असुलीमा कठिनाइ हुन्छ । अपितुः भन्सारबाट सामान आयात–निर्यातको अनुमति दिनु भनेको एक मुलुकबाट अर्को मुलुकमा सामानको ओहोर–दोहोर हुनु हो । यसर्थ यसका लागि अन्तर्राष्ट्रिय मापदण्डको पालना गर्नुपर्ने हुन्छ । यसमा विश्व व्यापार संगठनको सिद्धान्तअनुसार सर्टिफिकेट अफ ओरिजिन जारी गर्न सक्षम संयन्त्र निर्माण गर्नुपर्छ । जतिवटा मुलुकसँग नेपालको व्यापार हुन्छ, ती मुलुकमा भन्सार प्रशासनसँग सहकार्यका लागि न्यूनतम समझदारीको एमओयू गर्नुपर्छ ।

यसर्थ, हामीले विश्वमा नमुना मानिएका भन्सार प्रशासनको असल अभ्यासलाई तत्कालै अनुशरण गर्न कुनै हिचकिचाहट मान्नु हुँदैन । यस विषयमा सुधार नहुन्जेल नेपालमा अपेक्षाकृत रूपमा सीमा व्यवस्थापन, तस्करी नियन्त्रण, मुद्रा निर्मलीकरण र अन्तर्राष्ट्रिय आतङ्कवादमा लगानीजस्ता विषयमा ढुक्क हुन सकिन्न । यसको साथसाथै समाजमा उच्च छवि भएका, विश्व भन्सार प्रशासनमा दक्षता भएका निःस्वार्थ व्यक्तिको नेतृत्वमा बोर्ड गठन गरेपछि मात्र भन्सार प्रशासनले काँचुली फेर्नेछ । देशको व्यावसायिक वातावरणमा अझ सुधार गर्न पनि भन्सारको प्रक्रिया र प्रणालीमा सुधार हुनुपर्छ । जटिल राजनीतिक अवस्था र धेरै किसिमका संक्रमण रहँदारहँदै पनि देशको व्यावसायिक वातावरण हालसम्म सकारात्मक दिशामा छ । यसबाट नै देश, समाज सबैले राम्रो भन्सार नीति निर्माण भएको महसुस गर्ने वातावरण कायम हुन जाने कुरामा कसैको दुईमत नहोला ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया