Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपरोपकारमा खुसी हुन सिकौँ

परोपकारमा खुसी हुन सिकौँ


काठमाडौं । मे ८ लाई रेडक्रस दिवसको रूपमा हेर्ने गरिएको छ । परोपकार भनौँ सेवा नै धर्म हो, दिवसको सार्थकता यसैमा छ । पूर्वीय दर्शनमा जति परोपकारका आदर्शहरू सायदै अन्यत्र होलान्, त्यसैले त वेदका विभाजनकर्ता, महाभारतदेखि अठार पुराणका रचयिता वेद व्यासले भनेका छन् । संसारकै गुरु राष्ट्र हौँ हामी, धर्मदेशना हाम्रो उद्देश्य हो । अष्टादश पुराणेषु व्यासस्य वचनं द्वय, परोपकार पुण्याय पापाय परपीडनम् । अर्थात् सबै पुराणको सार भन्नु परोपकार नै हो, त्यही पुण्य हो र अरुलाई पीडा दिनु नै पाप हो । ईश्वरको शब्दमा अहं सर्वेषु भूतेषु अर्थात् म सबै प्राणीको अन्तरहृदयमा बस्छु । मैले बनाएको मन्दिर हो यो, म आफ्नै मन्दिरमा बस्छु, हे मानव ‘तिम्रो शरीर मेरो मन्दिर हो, तिमीले बनाएको सुनको गजुरसहितको मन्दिरमा मलाई बस्न बाध्य छैन, कारण त्यही मन्दिर बाहिर बस्ने मेरै रूपका दीन, दुःखी, असहाय, अपाङ्ग, पीडितलाई तिमी लत्याउँछौँ, प्राणीको गला रेट्छौँ ।’

संसारलाई कोरोनाले डल्लो पारेकै त हो । विज्ञानको चमत्कार हुँदा पनि एकै वर्षमा लाखौँलाई यसले निल्यो । हाम्रा दुई छिमेकी देशबाट निस्केको कोरोनाको मुस्लोले हजारौँ हाम्रै नेपालीलाई पनि निल्यो । भूकम्पको ताडना कम भएन, दुःखका दिनहरू सम्झँदा आँसु फेरि चुहिन्छ । उपकारको आदर्श भन्नु नै हरप्राणीप्रति दया हो । ईश्वरप्रतिको यादविना दयाको अर्थ पनि रहन्न । मुखमा राम बगलीमा छुरा, आदर्श बोक्नेहरूले नै पीडाको घाउमा मलम लगाउन नसक्दा नेपालीहरू स्वदेश विदेश दुवैतिर छट्पटिएका छन्, आम गरिबी तिनको उपहार भइदियो । कहिले भूकम्प, कहिले चट्याङ, कहिले हुरी, बतास, कहिले आगलागी र बाढी पीडित, कहिले सशस्त्र द्वन्द्व त कहिले झाडावान्ता, कहिले कोरोना के–के हो के–के नेपालीमाथि परेको संकट भनौँ पीडा धेरै रहे । जब–जब संकट आउँछ, यसैमा दाउ हान्नेहरूको भीड पनि कमी देखिएन देशमा ! अभिभावकीय भूमिकामा रहेकाबाट पनि चह¥याएको घाउमा मलम लागेन, बरु ऋणको भार थपियो देशलाई । आदर्शका कुराले रोग, भोक, शोक त टरेन पनि, राज्य दोहनका नयाँ–नयाँ शैलीहरू भित्रिएका छन् अहिले पनि ।

विश्वयुद्धमा धेरै घाइते भए । कतै पक्ष, विपक्षको गन्ध नलिई घाइतेको उपचारमा संलग्न फ्लोरेन्स नाइटिङ्गलको नाम नसुन्ने सायदै कोही होलान् । मलम लगाउ आर्तहरूको चह¥याइरहेको घाउ, यही त हो मानवीयता भनौँ समाजको सेवा । आज युद्धको विभिषिका बाँकी नै छ, युक्रेन र रसिया पनि लड्दैछन्, त्यसको मार हामीले खेपिरहेका छौँ आम वस्तुहरूको बजारभाउमा । चीन र अमेरिकाको व्यापार युद्ध चलेकै छ । देउताको नाम देवता हो, जोे आफ्नो स्वार्थका लागि मात्र बाँच्छ ऊ जिउँदै मरेतुल्य हुन्छ । सद्गुण र सदाचार बजारमा किन्ने विषय होइनन्, मानव सर्वस्व हो यो, भनौँ उसको सञ्चित धन ! त्यसैले त हाम्रा अग्रजहरूले भने दया हो पृथ्वीको भव जलधिको मुख्य तरणी । स्वास्थ्य सेवामा पनि कमिसन, ठेक्का पट्टा, आफू आफन्त मोटाउने अरूप्रति निर्दयी हुने अवस्था, उठेको करबाट राहतप्रतिको बेवास्ता, घरभित्रै निहत्था मान्छेको हत्या क्रूर र बर्बर अवस्था पनि भोग्दैछौँ हामी ।

हाम्रो देशमा संविधानले सामाजिक सुरक्षाको हकलाई मौलिक हकको रूपमा हेरेको हो । तर बाँच्न पाउने हक भने व्यवहारतः सुरक्षित देखिएन । बेरोजगारी समस्या त विकराल छ । समावेशी विकास, दिगो विकास सरकारी नारा कागजमा सीमित छ । कोही बलात्कृत भएर मर्छन् यहाँ, कोही मानव निर्मित साधनबाट दुर्घटना भएर, कोही एसिड छरिएर भने कोही अनायासै आएको संक्रमणबाट ! अशक्त, असहाय, दीन, दुःखी, गरीब, विपन्न, वृद्ध–वृद्धाको हालत त झन् खराब छ । आर्थिकरूपले अशक्त, विपन्न, असहायको कथा र व्यथा आफ्नै छ । अपाङ्ग, एकल, बालबालिका, किशोर, किशोरीको दुर्दशा हरिविजोक छ । अन्तर्राष्ट्रिय संघ–संस्था, समूह सरकारसँग देशले गरेको प्रतिबद्धता, सन्धि, महासन्धि कति छन् कागजमा, कति छन् पुस्तकालयहरूमा । सरकारी निकाय मात्र होइन गैरसरकारी निकायहरूले नेपाली मुद्रा मात्र होइन हरिया डलर खर्चेका छन्, धेरै यी र यस्तै विषयमा ! वर्षैपिच्छेका योजना र कार्यक्रममा पनि यी विषय परी नै रहन्छन् । लैङ्गिक, जातीय छुवाछुतको अन्त्य हुनुपर्ने हो अर्थात् सामाजिक विभेदको अन्त्य हुनुपर्ने हो । युवा परिचालनबाट मानवीय सेवा, विपत् व्यवस्थापन, वातावरण संरक्षण र वृक्षरोपणजस्ता व्यावहारिक कार्यक्रम सञ्चालन हुनुपर्ने हो । हिँसा पीडित महिलाहरूको उद्धार र राहत, मनोसामाजिक परामर्श र कानुनी सरसल्लाह, पुनःस्थापना केन्द्रहरूबाट उचित लाभ प्राप्ति हेतुलक्षित कार्यक्रम सञ्चालन गरिनुपर्ने हो । महिला विरुद्ध हुने हिंसा अन्त्य हुनुपर्ने हो । बाल विवाह, तिलक, दाइजो प्रथा, छाउपडी एवं बोक्सीजस्ता कुरीतिको अन्त्य हुनु पर्ने हो । सामुहिक उन्नयनमा सरकार पछि नहट्नु पर्ने हो । बालश्रमको अन्त्य हुनुपर्ने हो । सबैको, श्रमको महत्व र मूल्यांकन हुनुपर्ने हो । बचतको भावनाबाट लगानीको वातावरण तय गर्नुपर्ने हो । सडक बालबालिकाको उद्धार, विद्यालयमा छात्रवृत्ति, पोशाक, खाजा, यातायातको व्यवस्था गर्नुपर्ने हो । मानसिक रोगी, टुहुरा, असहाय, बालबालिका, वृद्ध, अपाङ्ग व्यक्तिहरूको हेरचाह र सुरक्षा अझ बढी जरुरी हुनुपर्ने हो, समग्रमा भन्नुपर्दा सबैको आत्मिक उन्नतिबाट मुलुक समृद्ध हुनुपर्ने हो । लोक कल्याणकारी राज्यको यही परिकल्पना हुनुपर्ने हो, सपना र परिकल्पनाभन्दा अझ व्यवहारमै उत्रनुपर्ने हो ।

पूर्वीय धर्म–दर्शनले जुन सभामा वृद्धहरूको उपस्थिति हुँदैन । त्यो असलमा सभा हुनै सक्तैन भनेको छ । त्यस्तोे परिवारलाई राज्यले, समाजले सम्मान दिनुपर्ने हुन्छ । परित्यक्त, हिंसा पीडित, शारीरिक र मानसिकरूपले अशक्तहरूको अझ विशेष ख्याल गरिनुपर्ने हुन्छ । विपत् जोखिम, भूकम्प, बाढी पहिरो, हावाहुरी, चिसो, तातोको ख्याल गरिनुपर्ने हुन्छ । समयमा औषधिमूलो, अस्पताल सेवा घरैमा चिकित्सकका सल्लाहको आवश्यकता पर्ने हुन्छ । यसका लागि ज्येष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, ज्येष्ठ नागरिक समूह गठन र सञ्चालनजस्ता कार्यक्रमले सार्थकता पाउन सक्छन् । सबै ज्येष्ठ नागरिकले सुरक्षित र सम्मानजनक अवस्थामा आफ्नो जीवनयापन गरेको महसुस हुने वातावरण तय गरिनुपर्छ, यो राज्यको दायित्व हो । हामीकहाँ अशक्तहरूको संख्या पनि कम छैन । झण्डै दुई प्रतिशत जनता अपाङ्ग छन् । अपाङ्गमध्ये पनि शरीरको अपाङ्गता बढी छ । झण्डै ७० प्रतिशत शारीरिक अपाङ्गका छन् । तीमध्ये संविधानले यस्ता व्यक्तिहरूको पनि संरक्षणको परिकल्पना त गरेको छ, तिनको सेवा सुविधाको पहुँचको स्थापना गर्न खोजेको छ । अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई पनि राज्यले स्वीकारेको छ । सरकारले समुदायमा आधारित समावेशीकरण गरेको भनेको छ । निजामती सेवामा आरक्षणको व्यवस्था गरेको छ । सामाजिक सुरक्षा भत्ता, व्यावसायिक तथा सीपमूलक तालिमका प्रावधानहरूलाई प्रयोगमा ल्याएको भनेको छ । तथापि पेसागत भौतिक संरचनाहरूलाई अङ्पागमैत्री बनाउन सकेको छैन कोटेश्वर, कलंकी सडक हेर्दा हुन्छ) दुर्गम क्षेत्रमा यसको दायरा बढाउन सकेको छैन । अपाङ्गहरूप्रति समाजको सकारात्मक दृष्टिकोण स्थापित गराउन सकिरहेको छैन । हरेक प्रकारका अपाङ्गता भएका व्यक्तिहरू सक्षम स्वावलम्बी र आत्मनिर्भर बनाउने राज्यको सपना अधुरो छ ।

उपकारमा नै अमृतको बास हुन्छ । उपनिषद्को सार पनि अमृतत्वेन गम्यात् नै हो । उपकारी व्यक्ति तपस्वी हुन्छ । कुभाषण, भोगको इच्छा, कामाशक्ति, गुणमा दोष दृष्टि, दोषमा गुण दृष्टि, तृष्णा, लोभ, चुक्ली, निन्दा, हिंसा, क्रोध, शोक, चिन्ता, कर्तव्यको विस्मृति, डाह, इष्र्या, सन्ताप, ज्यादा बोल्नु सत्पुरुषको भनौँ जितेन्द्रीय व्यक्तिको लक्षण होइन । मदका यी दोषलाई त्याग गर्नाले व्यक्ति समाजभित्रै तपस्वी बस्न सक्छ । जीवले जगत् बुझ्नुपर्ने हुन्छ । जीव र जगत् दुवै परमात्माको असल अभिव्यक्ति हो । सुन्दर अभिव्यक्ति हो । चेष्टाबाट रहित हुँदा ईश्वरत्व प्राप्ति हुन्छ । कायेन, मनसा, बाचा अर्थात् मन, वचन र कर्मले परोपकारी हुनुपर्ने हुन्छ । नदी जसरी सलल बगेको हुन्छ । ज्ञान र वैराग्यरूपी बालुवामा भक्तिरूपी गंगाको प्रवाह भएझैँ जीवनलाई प्रवाह गर्नसकेमा ईश्वर खोज्न टाढा जानु पर्दैन । दश दिशा घुमेर ईश्वर भेटिन्न र हाम्रा महाकवि भन्छन्– ईश्वर बस्तछ गहिराइमा खोजी हिँड्छाँै कुन पुर ? वेत्ता वा विद्वान् त्यही हो जसले भगवत् सेवा गर्छ । जीव र जगत् के हो, आफूको हुँ आफ्नो स्रोत के हो ? गन्तव्य कहाँ हो ? बाटो कुन हो ? आफ्नो बाटो आफैँले निर्माण गर्नु जरुरी छ । सत्सङ नै एउटा बाटो निर्माणको थालनी हो । निस्वार्थकार्य बाटो निर्माणको थालनी हो । कर्म गर फलको आश नगर भन्ने गीताको सन्देश हो ।

ज्ञानको उदात्तभावले दिव्यचक्षु खुल्छ । चर्म चक्षुले यथार्थ देख्दैन । चर्मचक्षु दिव्यचक्षु होइन । ‘असतोमा सत् गमय, तमसोमा ज्योतिर्गमय, मृत्यो मां अमृतम् गमय’ भनेको त्यही हो । अर्थात् असत्यलाई सत्यतिर, अन्धकारलाई उज्यालोतिर, मृत्युलाई अमरतातिर लग भनेको हो । आत्मज्ञानी पुरुषले ईश्वरसँग साक्षात्कार गर्न सक्छ । सच्चिदानन्द स्वरूप, पूर्ण ब्रह्म परमात्मा परमेश्वर आफैँभित्र हुनुहुन्छ ।

चित्स्वरूपबाट हामी चलायमान हुन सक्छौँ । ईश्वरको अस्तित्व जीवबाट मेटिँदा ऊ मुढ बन्न पुग्छ  । नश्वर शरीर तुरुन्तै ढल्छ । सत् चित् र आनन्द स्वरूपले ईश्वर मानव शरीरमा लुकेर बसेको हुन्छ । तपमा रहने व्यक्ति सत्पुरुष हो । त्यसलाई धार्मिक भनिन्छ । मानव देह नै धर्मको अभिव्यक्ति हो, पुण्यको अभिव्यक्ति हो । धर्म, पुण्य सञ्चितिविना मानव देह प्राप्त नै हुँदैन । सत् ज्ञानको फल तत्कालै प्राप्त हुन्छ । विज्ञानझैँ तुरुन्तै त्यसको असर पनि मिल्छ, अर्थात् परिणाममुखी हुन्छ । रेडक्रसजस्ता दिवसहरूको सार्थकता यही हो ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया