Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगशैक्षिक क्षति न्यूनीकरणमा मौका परीक्षाको भूमिका

शैक्षिक क्षति न्यूनीकरणमा मौका परीक्षाको भूमिका


काठमाडौं । शौक्षिक वर्षको अन्त्यमा विद्यार्थीले कुन स्तरमा शिक्षा हासिल गरेका छन् भनेर एकिन गर्न विभिन्न परीक्षा सञ्चालन गरिएका हुन्छन् । साधरणतया मूल्यांकनको नाममा एक दिनको तीन घण्टे परीक्षाको आधारमा विद्यार्थीको भाग्य र भविष्यलाई निक्र्यौल गर्ने परम्परा हाबी भएको पाइन्छ । वर्षभरि पढेर सिकेका ज्ञान, सीप र अभिवृत्तिको उपलब्धिको वास्तविक लेखाजोखा छोटो समयको पेपर पेन्सील परीक्षाले मात्र गर्ला त ? अध्ययनको विषय बनाउन ढिलो भइसकेको छ । विद्यार्थीको प्रतिभाको परीक्षण निरन्तर मूल्यांकनको सट्टा छोटो समयको परीक्षाबाट मात्र गर्ने र त्यसको आधारमा नतिजा घोषणा गर्दा वस्तुनिष्ठ र न्यायोचित मूल्यांकन होला त ? बहसको विषय बन्नुपर्दछ । अनुत्तीर्ण विद्यार्थीले अर्को एक वर्षसम्म परीक्षा दिन कुर्दा शिक्षामा राज्य र अभिभावकले गरेको लगानी खेर जानबाट कसरी जोगाउन सकिएला ? चिन्ता र चिन्तनको विषय बन्नुपर्दछ ।

परीक्षाको समयमा शारीरिक, मानसिक व्यवस्थापकीय मानवीय पक्ष तथा प्रश्नपत्र निर्माण आदिको कारणले पनि परीक्षाफललाई असर पार्ने सम्भावना नकार्न सकिन्न । अप्रत्याशित अनुत्तीर्ण विद्यार्थीमा लामो समयसम्म कुण्ठा र हीनताबोधको कारणबाट उसमा नकारात्मक सोचको विकास हुन जान्छ । जसको कारणले आवेशमा आएर आत्मघाती अप्रिय घटना परीक्षाफल प्रकाशनको समयमा दुःखद समाचार बन्ने गरेका छन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रकाशित तथ्यांकअनुसार कक्षा एकदेखि १० सम्म अध्ययनरत कुल विद्यार्थी ७२ लाख ९५ हजार चार सय ३३ मध्ये सामुदायिक विद्यालयमा मात्र करिब ६२ लाख एक हजार एक सय १८ विद्यार्थी पढ्छन् । जसमध्ये १२ लाख ४० हजार दुई सय २४ अर्थात सरदर २० प्रतिशत विद्यार्थी बर्षेनी अनुत्तीर्ण हुनेगरेको पुष्टि गर्दछ। यसप्रकार सामुदायिक विद्यालयमा राज्यको ठूलो लगानी खेर गएको छ । यसमा निजी विद्यालयको र अभिभावकको लगानी जोडिएको छैन । अनुत्तीर्ण हुने विद्यार्थीको उमेरको बर्बादीलाई समेत लेखाजोखा गर्दा त पुर्पुरोमा हात राख्नुपर्ने अवस्था आउँछ । परीक्षा नियन्त्रण कार्यालयको बुलेटिनअनुसार एसईई एक सय पूर्णांकमा विद्यार्थीले सरदर हासिल गर्ने गरेको ३५ प्रतिशत मात्र हो । यस्तो निराशाजनक प्राप्तांकसँग पनि तुलना गर्ने हो भने त झस्किन पर्ने हुन्छ । यसरी बजेटको ठूलो हिस्सालाई खेर जानबाट जोगाउने जुक्ति खोज्न ढिलो भइसकेको छ । अनुत्तीर्णलाई सम्बोधन गर्ने दीर्घकालीन र अल्पकालीन धेरै उपाय हुन सक्छन् । जसमध्ये सबै कक्षामा मौका परीक्षाको सुविधा एक सशक्त विकल्प हुन सक्छ ।

मौका परीक्षाको सुविधा दिँदा करिब ९० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण हुने सम्भावना हुन्छ भन्ने तथ्य एसएलसी पुरक परीक्षाको अनुभवले पुष्टि गरेको छ । त्यसकारण छोटो अवधिमा उनीहरूमा उत्साह र जाँगर थपेर शैक्षिक क्षतिलाई परिपूर्ति गर्न सकिन्छ । त्यसमध्ये पनि कतिपयलाई सामान्य कोचिङ गर्दा उत्तीर्ण हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न् । अन्यथा हजारौँ विद्यार्थीले परीक्षा दिन अर्को वर्षसम्म कुर्नुपर्ने बाध्यता हुन्छ । विद्यार्थीको सफलता असफलताका कारण विद्यालयको शैक्षिक व्यवस्थापन, शिक्षकहरूको योग्यता, पेसागत समर्पण र दक्षता, पारिवारिक पृष्ठभूमि र शैक्षिक सामग्रीहरूको पर्याप्ता आदि धेरै कुराहरूले असर पार्छ । तर यी सबै पक्षको असर लेखाजोखा नगरीकन त्यसको सजायको एक्लो भागीदार विद्यार्थीलाई अनुत्तीर्ण गराएर दिने गरिन्छ । यसका लागि सम्बन्धित सबैले आ–आफ्नो कमजोरीको पुनरावलोकन गरिनुपर्छ । मौका परीक्षालाई उच्च शिक्षामा ब्याकपेपरको नामबाट लिने व्यवस्था गरेको पाइन्छ । तर विद्यालय तहमा त्यस्तो सुविधाबाट वञ्चित हुनुपर्ने कुनै औचित्य देखिँदैन । बालबालिकालाई झन अध्ययनतर्फ प्रोत्साहन गर्न र निरन्तर सफलतातिर उन्मुख गराउनुपर्नेमा त्यस्तो सुविधाबाट वञ्चित गराउनु युक्तिसँगत नहोला । तसर्थ बालबालिकाको मनोबल उच्च राख्न तथा सरकार अभिभावक र विभिन्न संघसंस्थाले गरेको लगानीलाई खेर जानबाट बचाउनका लागि पनि निर्विवाद मौका परीक्षाको अवसर प्रदान गरिनु पर्दछ । कक्षा १–९ सम्मको विद्यार्थी त्यति परिपक्व नहुने भएकाले परीक्षा समयको विशिष्ट महत्व बुझेर योजनाबद्ध तरिकाले ज्ञान सीप उपयोग गर्न नसक्नु परीक्षामा अनुत्तीर्ण हुँदा पर्ने दूरगामी असरबारे गम्भीरतापूर्वक चिन्ता र चिन्तन गर्ने क्षमताको विकास भईनसक्नुले पनि अनुत्तीर्ण हुन्छन् । सीमित साधन स्रोतको लगानी तथा छोटो समय खर्चेर उच्च शैक्षिक क्षतिको जोखिमलाई न्यूनीकरण गर्ने सशक्त विकल्पको रुपमा लिन सकिन्छ मौका परीक्षालाई ।

मौका परीक्षाको व्यवस्थापन गर्नको लागि खासै समय र खर्च पनि लाग्दैन, जति यसबाट लाभ हुन्छ । यस्तो परीक्षाको सञ्चालन कसरी गर्न सकिन्छ भन्नेबारे विभिन्न रणनीति हुन सक्छन् । वार्षिक परीक्षाको नतिजा प्रकाशन चैत्रको दोस्रो वा तेस्रो सातामा गरेर अनुत्तीर्ण हुने विद्यार्थीका लागि मौका परीक्षाको तयारी कक्षा विद्यालयले सञ्चालन गर्न सक्छ । यसरी सञ्चालित कक्षामा विद्यार्थीलाई आफ्नो कमजोरी कहाँ छ त्यसलाई कसरी सुधार्न सकिन्छ भन्नेबारे जानकारी गराउनु पर्छ वा कमजोरी आफैँलै पत्ता लगाउन उत्प्रेरित गर्नुपर्छ ।

असफलताका कारणहरु खुट्याइसकेपछि, लक्षित सिकाइ उपलब्धि हासिल गर्नका लागि विभिन्न रणनीति अपनाएर प्रयास गर्नुपर्छ । सघन कक्षा सञ्चालन करिब एक महिना वैशाखको तेस्रो चौथो हप्तासम्म गरेपछि अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षा दिने व्यवस्था गर्न सकिन्छ । यस परीक्षाबाट उत्तीर्ण परीक्षार्थीलाई चालू शैक्षिक सत्रको वैशाख महिनाभित्र भर्ना गर्न सकिन्छ । यसरी कोचिङ कक्षा सञ्चालन गर्न माध्यमिक विद्यालयका चैतमा एसएलसी दिएर बसेका विद्यार्थीलाई प्रयोग गर्न सकिन्छ । त्यस्तै सहपाठीबीचमा समूह बनाएर छलफल तथा खोजमूलक क्रियाकलाप पनि गर्न सकिन्छ । गृहकार्य विद्यार्थीहरूको घरबसाइको आधारमा पनि नजिक पर्नेहरूको समूह बनाएर विषयगत समयतालिकाअनुसार पनि अध्ययन गराउन सकिन्छ । यस्ता धेरै उपायहरू हुन सक्छन्, जसलाई स्थानीय उपयुक्तताको आधारमा लागू गर्न सकिन्छ । यसप्रकार शैक्षिक क्षतिलाई न्यून गर्दै शिक्षामा सहजता एवं विद्यार्थीलाई आफ्ना कमीकमजोरीहरू पत्ता लगाई सुधारेर शिक्षा हासिल गर्दै उच्च मनोबलका साथ निरन्तर सफलताको अभ्यास र अनुभूति गरी उत्साही बनाउनका लागि मौका परीक्षाको अहम् भूमिका हुन्छ भन्दा दुई मत नहोला ।

तसर्थ आफ्नो कमजोरी सुधारेर मौका परीक्षा दिन पाउने व्यवस्थालाई विद्यार्थीको अधिकारका रूपमा स्थापित गराउनु पर्छ । किनकि कृपाङ्क दिएर उत्तीर्णाङ्क पु¥याई सफल गराउँदा कतिपय अवस्थामा उनीहरुलाई आफ्नो कमजोरी थाहा नहुन सक्छ । त्यसो गर्नुभन्दा उनीहरूलाई आफ्नो विषयगत उपलब्धिको यथार्थता जानकारी गराएर सुधार्न मिहनत गरी पुनः परीक्षाको अवसर दिएर आफ्नै परिश्रमबाट उत्तीर्ण गराउँदा बढी सान्दर्भिक र दिगो हुन्छ । किनकि उनीहरूमा आफ्नो पढाइको धरातलको ज्ञान हुन्छ । परिश्रम गर्ने बानीको विकास हुन्छ ।

कतिपय विद्यालयहरूले एसईई परीक्षामा उच्च श्रेणीमा उत्तीर्ण गराउन तल्लो कक्षाहरूमा विद्यार्थीहरू अनुत्तीर्ण गराउने रणनीति लिएको पाइन्छ । त्यस्तै शुल्क आम्दानीको प्रलोभनका कारणले पनि विद्यार्थीहरूलाई अनुत्तीर्ण गराउने गरेको यदाकदा सुनिन्छ । मौका परीक्षालाई अनिवार्य गर्न सकिएमा यसप्रकारका नकारात्मक प्रवृत्तिको मारबाट विद्यार्थीले छुटकारा पाउनेछन् । जसले सेवाग्राही पक्षलाई मात्र नभएर राज्यको शैक्षिक नीतिको लक्ष्य हासिल गर्न समेत सुगमता प्रदान गर्छ । मौका परीक्षाको हक विद्यार्थीहरूलाई हुन्छ । किनकि असफलताको कारण ऊ मात्रै होइन भन्ने यथार्थतालाई हृदयगम गरेर बाल मनोविज्ञानलाई समेत ध्यानमा राखी सबै कक्षामा मौका परीक्षाको व्यवस्था हुनु विद्यार्थीको लागि न्यायोचित निकाश र राज्यको लगानीको प्रतिफल सुनिश्चित गर्ने निर्विवाद विकल्प हुन सक्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया