Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगरवि लामिछानेलक्षित सिंहको नग्नता

रवि लामिछानेलक्षित सिंहको नग्नता


काठमाडौं । नेपाली कांग्रेसका प्रतिभाशाली तथा प्रखर पूर्वनेता हाल संघीय संसद्मा स्वतन्त्र निर्वाचित सांसद माननीय डा. अमरेश कुमार सिंहले वि.सं. २०८० वैशाख २५ गते आइतबारको बजेट अधिवेशनको पहिलो दिन (अर्थमन्त्री डा. प्रकाश शरण महत) कपडा फुकालेर नाङ्गिनु भएबाट उहाँ ‘गिनिज बुकमा’ नाम लेखाउन सफल हुनुभएको छ । नियति हो कि संयोग हो त्यो त म भन्न सक्दिन तर सिंहको यो नग्नता ‘गिनिज बुक’मै नाम लेखाएर सामयिक राजनीतिक आहालमा पौडी खेल्न हामफालेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष संसद्मा २१ सिटका मालिक रवि लामिछानेप्रति लक्षित रहेको भेटियो ।

त्यो कसरी भने हाम्रो पहाडतिर ‘१२ वर्षमा पाप धूरीबाट कराउँछ’ भन्ने एउटा उखान छ । एउटा मान्छेले ज्यानमारा अपराध गरेको १२ वर्ष बितिसक्दा पनि प्रहरीले पत्तो लगाउन सकेनछ । घर छाउन धूरीमा चढेका बखत ‘आफूले फलानाको हत्या गरेको १२ वर्ष भयो तर पुलिसले समाउन सकेन’ (टोपबहादुर रायमाझी हराएजस्तै) भनेर गफ हाकेछ । संयोगले घर छाउन पर्ममा आएको मानिस गुप्तचर परेछ । झ्याप त्यही धूरीबाटै गिरफ्तार भएर जेल पुगेछ । त्यसै बखतबाट ‘१२ वर्षमा पाप धूरीबाट कराउँछ’ भन्ने उखान जनबोलीमा प्रचलित भएको कथाको सार हो । हो, त्यसैगरी १२ वर्षमा पाप धूरीबाट कराउँछ भन्ने शैलीमा सार्वभौम नेपाली नागरिकलाई पहिले ‘भुटानी शरणार्थी’ (नगरिकता च्युत) बनाएर तिन (आठ सय)बाट १० देखि ५० लाखसम्म असुल गरेर अमेरिका पठाइदिने गरेका अर्बौं कमाइको पोल खोलाखोल भएर एउटा बहालवाला सचिवमा हतकडी लागेर अर्का गृहमन्त्रीसम्म भएका ठूलै पार्टीका ठूलै पदाधिकारी व्यक्तिका पछाडि पुलिस हतकडी लगाउन कुदिरहेका भेटिएका आम जनबोलीका लागि ‘पाप धूरीबाट कराए’जस्तै भएको छ । यसमा हतकडी लाग्नेमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन (राजधानीको शिरमा १२ रोपनी जग्गामा फैलिएको पाँचतारे रिसोर्ट शैलीको घर पनि आम जनमतले खोज तलासी गरुन्)का छोरा, पूर्वगृहमन्त्री (कथित १० वर्षे हिंसात्मक जनयुद्ध (रगतपच्छे दुर्भाग्य)का प्रचण्डजस्तै (लडाकु कमाण्डर भनेपछि प्रचण्डभन्दा अझ शक्तिशाली) नायक रामबहादुर थापा (बादल)का छोरा, पाँचपटक प्रधानमन्त्री भएका सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी विवाहित (श्रीमति) डा. आरजु देउवा (राणा) तरुणदल नेविसंघको अध्यक्ष हुँदै नेपाली कांग्रेसका लामो समयदेखि नेतृत्वपंक्तिमा रहेर गुट गिरोह धन्धामा पोख्त पूर्वगृहमन्त्री बालकृष्ण खाणकी विवाहिता वर्तमान संघीय संसदकी सांसद पनि (उनको नाम अहिले सम्झनामा आएन) जस्ता नामहरु पनि त्यस्तो ‘पाप धूरीबाट कराएको’ शैलीको जघन्य अपराध (जुनसुकै सजाय दिँदा पनि त्यो थोरै नै हुने)मा मुछिएका ‘भिडियो रिकर्ड’ समाजिक सञ्जालमा छ्यापछ्याप्ती भएपछि त्यसले वर्तमान सर्वदलीय (कांग्रेस, एमाले, माओवादी, उपेन्द्र—बाबुरामको पार्टीहरु) भ्रष्टाचारको सम्राज्यमा ठूलैखालको भुइँचालो आएको छ । आठ रेक्टरसम्मको भुइँचालो त सायद नेपाली जनमतले झेली भोगिसकेका छन् । यो नौ रेक्टर १० रेक्टरको हुनुपर्छ । निकै हल्लियो ।

त्यसबखत संसद्मा रवि लामिछानेलाई लक्षित गरेर नांगिनुभएका सांसद आफ्नो चुनाव क्षेत्रमा भ्रष्टाचारविरोधी आन्दोलनमा मतदातालाई जगाउने उठाउने अभियानमा पसिना चुहाइरहनुभएको थियो । ‘जुन दिन मैले नेपाली कांग्रेस त्यागेर गत चुनावमा स्वतन्त्र उम्मेदवारी दिएँ’ त्यस दिन त्यसअघिको अमरेश कुमारको श्राद्ध गरे हुन्छ । अब म हिजोको भारतको दलाल, फोहोरी राजनीतिमा कुनै समय गिरिजा, प्रचण्ड, सुशील, देउवालाई उठबैठ गराउने हैसियतको नेता (अकूत सम्पत्तिका मालिक) भनेर अब म छैन । अब मलाई मारिदिए मारिदेऊ न । तर अब दाजु—भाउजू, बाउ—छोरी, सासु—सम्धी आदि इत्यादि नेपालको अर्थतन्त्रलाई टाट पल्टाउने सोच समझ नियतको सर्वदलीय भ्रष्टाचारको भण्डाफोर गर्न नङ्ग्याउन छोड्दिनँ । अब तपाईंहरु मलाई हिजोको डा. अमरेश कुमार नठान्नु होस् ।’ उहाँ यस्ताखालका कुराहरु गर्दै चुनाव क्षेत्रमा रमाइरहेका वखत (आध्यात्मिक भावनामा पुगिसकेपछि सबै काम आनन्ददायक हुन्छ) राजधानीको यो पाप धूरीबाट कराएको भुइँचालोको रिङ्गटा लगाउने धक्काले हान्निएर काठमाडौं आइपुग्नुभयो ।

डा. अमरेशजीले सिमरा एयरपोर्टबाट काठमाडौं उड्दै गर्दा पत्रकारजगत्लाई ‘सदनमा पुगेको पहिलो दिन नै नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिकालाई बेचेर अर्बौं कमाएका जघन्य (राष्ट्रघाती) अपराधीहरुको कालो कर्तुत जनसमक्ष उदाङ्गो (नङग्याउनु) पारेरै छाड्छु’ वचन दिनुभएको थियो । अर्को तथ्य अबदेखि उहाँ गर्न नसक्ने या नहुने वचनचाहिँ कसैलाई पनि कुनै पनि हालतमा न गर्ने प्रतिज्ञा पनि लिनुभएको थियो । त्यसो हुँदा संसद् पुगेको पहिलो बैठकमै भुटानी शरणार्थी मुद्दा उठाउन उहाँ बाध्य हुनुहुन्थ्यो ।

यता संविधानमा व्यवस्था भएको वार्षिक बजेट (बिचौलियाले निर्देशन गर्ने, दलालले लेख्ने अर्थमन्त्रीले पढ्ने) १५ जेठमा प्रस्तुत गर्नैपर्ने ‘बजेट अधिवेशन बोलाउन’ (बाध्यात्मक) ढिला भइसकेको थियो । उता संसद् अधिवेशनमा ‘भुटानी शरणार्थी मुद्दा’ले प्रवेश पाउने हो भने बजेटमा बहस हुने सम्भावना हुन्नथ्यो । यस्तै अवस्थालाई चिनियाँ क्रान्तिका महानायक माओत्सेतुङले ‘एउटा सलाईको काँटीले सारा जंगलमा आगो लगाइदिन्छ’ भन्नुभएको हो । यस्तो स्थिति आउनु ‘सर्वदलीय भ्रष्टाचार सञ्जाल’लाई ठूलो चुनौतीको समय आइलागेको थियो । यस चुनौतीबाट बच्न एउटा अचम्मको उपाय निकालियो । अचम्मकै भन्नुप¥यो किनभने संविधानमा त्यस्तो उपायको कुनै उल्लेख छैन । सर्वदलीय भ्रष्टाचार सञ्जालका संसद्मा प्रतिनिधित्व गर्ने सबै पार्टीका संसदीय दलका प्रमुख सचेतकहरुले हस्ताक्षर गरेर ‘संसद् बैठकमा भुटानी शरणार्थी घोटाला विषयमा प्रश्न उठाउन नपाइने’ बैठक सञ्चालन कार्यविधि पारित गरिसकेका रहेछन् । यो पारित कार्यविधिबारे थाहा नपाउनुभएका सांसद सिंहले त्यस्तो कार्यविधिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रवि लामिछाने)का प्रमुख सचेतकले पनि हस्ताक्षर गरेको भेट्दा उनी छक्क पर्नुभयो । रवि लामिछानेलक्षित लुगा फुकालेर नाङ्गिनुभन्दा त्यसबखत प्रतिकारको अर्को उपाय सुझेन । धन्न गन्जी मात्र फुकाल्नुभयो । कट्टुतर्फ हात गएन ।

संविधानले नै हक दिएको सांसदले संसद्मा जुनसुकै समयमा पनि (शून्य समय निकालेर भए पनि) बोल्न पाउने अधिकार कुण्ठित हुने त्यस्तो ‘प्रतिबन्धित’ कार्यविधिमा के सोच राखेर रास्वपाको प्रमुख सचेतकले हस्ताक्षर गरेको पत्रकारको प्रश्नमा त्यस पार्टीका अध्यक्ष रवि लामिछानेले दिएको जवाफ खोटो नियत र बेइमानीपूर्ण त म भन्दिन । तर राजनीतिक अज्ञानता र केटाकेटीपन युक्त भने अवश्य हो । ‘अस्थिरतालाई बल पुग्ने असहयोग किन गरौँ भनेर सजिलो भइदिनका लागि मानिदिएका हौँ’ लामिछानेको कथन हो । त्यस्तो मानिदिएबाट कस्तो प्रवृत्ति र चरित्रलाई बल पुग्यो ? आगामी दिनमा रास्वपाका २१ भाइहरुले ख्याल पु-याउनुहुनेछ भन्ने पंक्तिकारको सल्लाह छ ।

लउडा, धमिजा, वाइडबडी, क्यान्टोनमेन्ट, एनसेल, करछली र विनोद चौधरी राजस्व ठगी आदि इत्यादि अनगिनत धाँधली भ्रष्टाचार पृष्ठभूमिमा प्रधानमन्त्री मिष्टर प्रचण्डले ‘भुटानी शरणार्थी’ काण्डलाई फिल्मको ट्रेलर मात्र भएको पूरा फिल्म देखाउन बाँकी रहेको गुड्डी हाँकेका सामाजिक सञ्जालमा देखिएको भेल त दुई तीन दिनको घामले बालुवा मात्र देखिने निश्चित नै छ । ‘क्यान्टोनमेन्ट घोटाला’ फिल्मका नायकले ‘भुटानी शरणार्थी काण्ड’को फिल्म देखाउने भन्ने कसैले पत्याउने कुरा पनि भएन ।

पूर्वगृहमन्त्रीद्वय रामबहादुर थापा (बादल) र बालकृष्ण खाँडका माथि उल्लिखित चर्तिकला पृष्ठभूमिमा वर्तमान गृहमन्त्री नारायणकाजीको चिनारी र छवि पनि उस्तै उस्तै धमिलो नै भेटिनु अर्को दुर्भाग्य नहोस् !

नारायणकाजीका बारेमा मेरो कहिल्यै पनि जम्काभेट चिनजान नभएको नाताले मलाई उहाँप्रति कुनै आग्रह पूर्वाग्रह राख्नुपर्ने कारण नै केही छैन । माओवादीका एक जना मन्त्रीसम्म हुनुभएका कर्मठ र प्रखर राजनीतिक नेतृत्व हुनुहुँदो रहेछ :-गोपाल किराँती ।

माओवादी जनयुद्ध (रगतपच्छे दुर्भाग्य)का बखत हालको कोशी प्रदेश (ओल्लो किराँत, पल्लो किराँत, माझकिराँत)का पार्टी हाइकमान इन्चार्ज समहाल्नुभएका त्यसबखत त नारायणकाजी माओवादी पार्टीमै हुनुहुन्नथ्यो । यस दृष्टिले त्यस पार्टीमा गोपाल किराँती नारायणकाजीभन्दा सिनियर हुनुभएको अहिले त उहाँले पार्टी नै परित्याग गरेर आफ्नो छुट्टै पार्टी चलाइरहनुभएकाले यो सिनियर जुनियरको कुनै सवाल नै भएन । हो किराँतीजीले नै नारायणकाजीका बारेमा खोज अनुसन्धान चियो चर्चा गरेर पत्ता लगाएअनुसार बहुचर्चित (दुर्भाग्यपूर्ण) मिटरब्याजी शोषणकाण्डका सबैभन्दा ठूला नायक स्वयं नारायणकाजी श्रेष्ठ नै हुनुहुन्छ । किराँतीजीले सामाजिक सञ्जालमा भाइरल गर्नुभएअनुसार नारायणकाजीको घरजम मोजमस्तीको मुख्य स्रोत नै बैंकबाट दुई प्रतिशत ब्याजमा ६२ करोड रु. ऋण लिएर त्यही पैसालाई ३६ प्रतिशत ब्याजमा लगाएर राजनीतिक धन्धा फस्टाउने । नारायणकाजी सन्दर्भमा गोपाल किराँतीको यो ठहरलाई पंक्तिकार किन शंकाको सुविधा दिन चाहन्छ भने उहाँ पनि त डा.अमरेश कुमार सुध्रिनु भएजस्तै सुध्रिने सम्भावना रहन्छ । यतिखेर सार्वभौम नेपाली जनतालाई भुटानी शरणार्थी बनाएर अमेरिकालाई बेच्ने जघन्य अपराधीलाई आजिवन जेलको कालकोठरीमा पु¥याउने नपु¥याउने निर्णायकत्व नारायणकाजी (गृहमन्त्री)को हातमा छ ।

अन्त्यमा अपराधीका भिडियो रेकर्डहरुमा सक्कली नक्कली के हो भनेर बौद्धिक इमानदारिता स्थापित गरिसक्नुभएका लोकप्रियताको शिखरमा पुग्नुभएका मुलुकका एक पाको प्रोफेसर डा. सुरेन्द्र के.सी. जस्ता होसियार व्यक्तित्व पनि अलमलिएको पाउँदा मलाई छक्क पर्नुजस्तो विषय भएको छ । डा. आरजु देउवा, ढाकप्रसाद, गोकुल बास्कोटा आदि इत्यादिका भिडियो रेकर्ड भ्वाइसमा सक्कली नक्कली के हो भन्ने एउटा प्रविधिमा प्रवेश गर्नेबित्तिकै एकै मिनेटमा साँचो झुठो छर्लङ्ग भइहाल्छ । अस्तु ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया