Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपारिवारिक समृद्धिमा : व्यावहारिक शिक्षाको महत्व

पारिवारिक समृद्धिमा : व्यावहारिक शिक्षाको महत्व


काठमाडौं । सन् १९९३ देखि हरेक वर्ष मे १५ लाई अन्तर्राष्ट्रिय परिवार दिवसको रूपमा संयुक्त राष्ट्रसंघको आह्वनमा मनाएको पाइन्छ । वातावरण, सहरीकरण, हाम्रो संसार र विश्वव्यापी परिवारको गुणस्तर जीवन बनाउनु परिवार दिवसको उद्देश्य हो । यस वर्षको नारा परिवारहरू र सहरीकरण सहरीकरण रहेको छ । सो क्रममा परिवारको प्रभाव प्रगति विकासले हाम्रो समाजमा पार्नसक्ने प्रभाव आवश्यकताबारे सम्पूर्ण मानवमा थाहा हुनुपर्दछ । सो कारण समुदायलाई परिवार सँगसँगै महत्वपूर्ण पक्ष बनाएर अगाडि बढाउन आवश्यक छ । सो क्रममा विश्वका विभिन्न देशबीच परिवारिक विकास र सोचमा एकरूपता होस् र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एकतामा वृद्धि होस् भन्ने विचारका साथ यो दिवस मनाउने गरेको पाइन्छ । विश्वका सबै राष्ट्रमा सामाजिक लाभका लागि परिवारको प्रयोग, परिवारको उपयोगमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू नवीकरण होस्, परिवारले सामना गरिरहेको महत्वपूर्ण चुनौतिमा जानकारी होस् र पारिवारीक विकासको लागि अन्तर्राष्ट्रिय परिवार दिवस मनाउने मूल उद्देश्य हो ।

परिवार र विकासको स्रोत नै गुणस्तरीय, व्यावहारिक र शान्ति शिक्षा हो । हाम्रो देशको शिक्षा आधारभूतदेखि उच्चसम्म आम जनताका लागि शान्तिमय व्यावहारिक र वैज्ञानिक हुनु पर्दछ । नेपालको शिक्षा विगतदेखि हालसम्मकोे अवधिलाई हेर्दा नेपाल र नेपाली जनताको मूल स्वार्थ इच्छा र आवश्यकताभन्दा राजनीतिक परिवेशमै अल्मलिएको देखिन्छ । नेपालको शिक्षा आधारभूतदेखि उच्चसम्म नै देशसुहाउँदो छ भन्न सकिँदैन । गुणस्तर, व्यावहारिक र वैज्ञानिक नहुँदा लाखौँ शिक्षित बेरोजगारहरू खाडी मुलुकमा रोजगारको लागि जान बाध्य भएका छन् भने आफ्नो देशमा गाउँघरका कृषियोग्य जमिन सबै बाँझो छन् ।

नेपाल र नेपालीको पारिवारिक विकासको लागि आधारभूत शिक्षादेखि उच्च शिक्षा शान्तिमय वैज्ञानिक, व्यावहारिक र राष्ट्रिय हितको लागि हुनु पर्दछ । पारिवारिक शान्तिको लागि र अशान्ति हटाउन सबैभन्दा पहिले आफ्नो परिवार, समुदाय, समाज, संस्कृति, मानव अधिकार आदिमा विशेष ध्यान दिनुपर्ने हुन्छ । संघर्ष तथा द्वन्द्वले शान्ति कहिल्यै आउँदैन, अतः सदैव बन्धुत्वको भावनाको विकास गरी वैज्ञानिक शान्ति शिक्षाको सञ्चार गर्नु आवश्यक छ । प्रत्येक देशमा पारिवारिक सांस्कृतिक, सामाजिक एवं आर्थिक विकासको सुनिश्चित गर्ने मार्गमा सबै समुदाय, वर्ग एवं धर्मको संयुक्तरूपले वैज्ञानिक शान्ति संस्कृतिको विकास गर्न नितान्त आवश्यक भएको छ । आज सम्पूर्ण विश्व नै विभिन्न बहानामा अशान्तिको छाल मडारिएको सन्दर्भमा सबै वैज्ञानिक शान्तिमय संस्कृतिको विकास गर्नु नै आजको आवश्यकता हो । परिवारको माध्यमबाट गुणस्तरीय जिवनको सुरुवात भई देश नै समृद्धिको बाटोमा अगाडि बढ्दछ ।

महान् दार्शनिक मार्टिन लुथरका भनाइअनुसार ‘शान्ति केबल युद्धबाट आउने होइन, आपसी पारिवारिक मेलमिलापबाट नै आउँछ’ आजको सन्दर्भमा माथि उल्लिखित वाक्यांशहरू धेरै महत्वपूर्ण छन् । विश्वयुद्ध, अन्याय एवं आपसी वैमन्यस्ताको कारण शान्ति भङ्ग भई शान्तिको ज्योति टाढा भएकोले हामी सबै परिवार मिली शान्ति संस्कृतिको विकासबाट नै शान्ति ल्याउनु आवश्यक छ । शान्ति संस्कृतिको विकासबाट मानव मूल्य मान्यताको विकास सम्भव छ । शान्ति विकासको लागि विद्यालय तहको पाठ्यक्रममा नै शान्ति शिक्षाका राख्नुपर्ने आजको आवश्यकता हो । शिक्षण पद्धतिको माध्यमबाट शिक्षकद्वारा सदैव उच्च नैतिकतासाथ शान्ति शिक्षा व्यापक बनाउन आवश्यक छ । युनेस्कोले मानव मूल्य मान्यता र शान्तिबारे यसरी आफ्नो भाव व्यक्त गरेको छ, ‘उचित आचरण शान्ति प्रेम र अहिंसा सबै परिवारमा सार्वभौमिक मूल्य छ शान्तिको लागि’, जुन शान्ति आधारित परिवारमा वैज्ञानिक शिक्षाको कार्यक्रमको निर्माण सबैले गुर्नपर्छ ।

परिवार विकासको शान्तिको लागि मुख्य तीन प्रकारको आयाममा विशेष ख्याल राख्नुपर्दछ : सार्वभौमिक शान्ति, सामाजिक शान्ति, प्राकृतिक शान्ति । आज हाम्रो देश नेपालमा पनि शान्ति शिक्षासम्बन्धी पाठ्यक्रम राख्ने बहस नचलेको भने होइन, यो बहसमा मात्र सीमित भएको छ । शान्ति शिक्षाको लागि निम्न उद्देश्य राखी विद्यालयका विद्यार्थीहरूलाई शान्तिको मार्ग दिनसक्ने सशक्त पाठ्यक्रम बनाउन आवश्यक छ । शान्ति संस्कृति स्थापना गर्न अध्यापक अर्थात् गुरुहरूले पनि सोसम्बन्धी विभिन्न कार्य गर्न पर्ने समय आएको छ । सोको लागि विविध छलफल एवं कार्यशाला आयोजना गरी विस्तृत पाठ्यक्रम बनाई शान्ति स्थापना गर्न सहयोग गर्ने, व्यावहारिक तथा वैज्ञानिक तरिकाबाट शान्तिसम्बन्धी कार्य एवं प्रशिक्षण दिने, पाठ्यक्रम निर्माण, विशिष्ट स्थानीयसहित विकास मापन गर्ने मानवीकृत मूल्यांकन प्रक्रियाको निर्माण तथा उपयोग गर्नु पर्दछ ।

शान्ति शिक्षा परिवारको व्यक्तित्व तथा चरित्र निर्माणको लागि पाठ्यक्रम हुन आवश्यक छ । शान्ति स्थापना शिक्षा उत्पादनको लागि जिम्मेवार एवं संवेदनशील नागरिकको भूमिकामा जोड दिनु आवश्यक छ । शान्ति शिक्षाको कार्यक्रमको लागि विभिन्न पाँच स्तरको एकीकृत पाठ्यक्रम शान्ति शिक्षा दिन सक्ने क्षमतावान शिक्षाको विकास गर्नु आजको आवश्यकता हो । यो निम्न प्रकारको हुन सक्छ ः शान्ति शिक्षको सिद्धान्तबारे उचित पाठ्यक्रम बनाउनु पर्ने, सबै सैद्धान्तिक पाठ्यक्रम एवं शिक्षण पद्धतिको सम्बन्धित पाठ्यक्रममा नै शान्ति शिक्षाको बारे एकीकृत तरिकाबाट ज्ञान दिने, शान्ति शिक्षा अध्यापन अभ्यास तथा अन्य विद्यालय अनुभव आदानप्रदानमा ध्यान दिने, सांस्कृति साहित्यिक तथा अन्य पाठ्य सहभागी कार्यक्रमको सहयोगको माध्यममा शान्ति शिक्षाको विशिष्ट गतिविधि अयोजना गर्ने, शिक्षक, शिक्षण संस्था तथा सबै परिवार एवं समुदायमा शान्ति शिक्षाको सन्देश प्रसारित गर्नु पर्दछ ।

हाम्रो शिक्षा क्षेत्रको मूल समस्यालाई हेर्ने हो भने क्षेत्र र परिधिबारे स्पष्ट नहुनु, सरकारको विभिन्न शैक्षिक योजनाले पनि शिक्षाको लागि स्पष्ट मार्गचित्रण गर्न नसक्नु, नीति–निर्माणको राष्ट्रप्रतिको ठूलो तिरस्कार नै हो । जसको परिणाम स्वरूप नेपालमा शिक्षा अन्यौल अवस्था, शिक्षक, विद्यार्थी, अभिभावकबीच समन्वय नभई विद्यमान समस्याहरू देखापरेको, शिक्षा क्षेत्र राजनीतिकरण, शैक्षिक संस्थालाई सम्बन्धन दिने नीति स्पष्ट र पारदर्शी नभएको, शैक्षिक तथा भौतिक पूर्वाधारको कमी, यसको परिणामस्वरूप अन्तर्राष्ट्रिय जगतमा नै हाम्रो शैक्षिक उपाधिको विश्वसनीयतामा नै प्रश्नचिह्न उठ्ने गरेको, उचित शैक्षिक पाठ्यक्रम लामो समयदेखि समयअनुसार देशको आवश्यकताअनुसार परिवर्तन नभएको, पाठ्यभार, पाठ्यअवधि, गुणस्तरीय मापदण्डको अभाव, विदेशी विश्वविद्यालयहरूसँगको सम्बन्धनमा सञ्चालित शैक्षिक नियन्त्रण र समन्वयको अभाव, निजीस्तरबाट खोलिएका शैक्षिक संस्थामा बढ्दो व्यापारीकरण भई शिक्षक, अभिभावक, विद्यार्थीलाई थप आन्दोलित बनाएको, उचित कार्यनीतिको अभाव, क्षमतामा कमजोर प्रशासन, नातावाद, राजनीतिकरण, भ्रष्टाचारीलाई राजनीतिक तथा प्रशासनिक संरक्षण, व्यक्तिगत स्वार्थ, अक्षम राजनीति नियुक्ति, अनुशासनको कमी, न्यून आर्थिक स्थिति, विज्ञलाई पाखा अनविज्ञलाई प्रशासन, पुरानै स्वार्थपूर्ण कार्य व्यावसायिक शिक्षाको अभाव, वास्तविक योजनाको अभाव, उचित पुरस्कार र दण्डको व्यवस्था नहुनु अक्षम व्यवस्थापन आदिबाट नेपालको शिक्षा खासै वैज्ञानिक, व्यावहारिक भएको छ भन्न सकिँदैन कि ।

सो समस्या हल गर्न शिक्षा क्षेत्रमा आधारभूत शिक्षा र प्राविधिक वा व्यावसायिक शिक्षाबीच सरकारले स्पष्ट नीति ल्याउनुपर्ने, आधारभूत शिक्षा सबै नागरिकलाई प्रदान गर्नुपर्ने, गुणस्तरीय मूल्यांकन, समय सुहाउँदो पाठ्यक्रमको विकास हुनुपर्ने, शिक्षा क्षेत्रमा व्यापारीकरण रोकी शिक्षक, विद्यार्थी र अभिभावकको मैत्रीपूर्ण वातावरण श्रृजना गर्नुपर्ने, सक्षम व्यवस्थापन, नातावाद, राजनीतिक प्रदूषण, भ्रष्टाचारीलाई प्रश्रय नदिने, पारिवारिक जनसहभागितामा जोड, वैज्ञानिक तथा व्यावहारिक शिक्षा, दीर्घकालीन शैक्षिक योजना, पूर्वाधारको विकास, आवश्यक उपकरण प्रयोग, वास्तविक देशअनुसारको शिक्षा, प्रशासनमा राजनीतिक हवि रोक्ने, हाम्रो मान्छे होइन, गुणस्तरीय मान्छेलाई पदमा राख्ने आदि कार्य गरेमा हाम्रो शिक्षा गुणस्तर र व्यावहारिक, नेपाल र नेपालीको हितमा भई वैज्ञानिक शान्ति संस्कृतिको विकास हुने थियो । तब मात्र हरेक वर्ष मे १५ मा मनाइने अन्तर्राष्ट्रिय परिवार दिवसले सार्थकता पाउँछ । (डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि ।)


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया