Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालबाट झण्डै पाँच हजार विदेशी फर्किए

नेपालबाट झण्डै पाँच हजार विदेशी फर्किए


प्रवीण राउत
काठमाडौं, वैशाख २४
नोवल कोरोनाभाइरस (कोभिड १९) का कारण मुलुक लकडाउन भएसँगै नेपालमा रहेका विदेशी आफ्ना मुलुक फर्किन थालेका छन् । सोही क्रममा हालसम्म नेपालमा रहेका विदेशीहरुमध्ये झण्डै पाँच हजार विदेशी पर्यटक तथा नागरिकहरु आआफ्नो मुलुक फर्किएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ । यसरी नेपालबाट फर्किने विदेशी नागरिकहरुमा युरोप, एसिया र दक्षिण अफ्रिकाका गरी ५० भन्दा बढी मुलुकका रहेको बताइएको छ ।

काठमाडौं हुँदै आफ्नो मुलुक फर्किनेमा युरोपेली मुलुक, अमेरिका, दक्षिण अफ्रिका, इजरायल, क्यानडा, अष्ट्रेलिया, बेलायत, रसिया, जापान, कोरिया, बंगलादेश, माल्दिभ्स, भुटानलगायतका छन् । बोर्डका अनुसार गत शनिबार तीन सय नौ जना पर्यटकहरु कतार एयरवेजको वाइडबडी विमानमार्फत आआफ्नो मुलुकमा फर्किएसँगै नेपाल छाड्ने विदेशी नागरिकको संख्या चार हजार आठ सय ६४ जना पुगेको हो ।

बोर्डका अधिकृत एवं संकट व्यवस्थापन र सञ्चार एकाइ (सीएमसीए)का सदस्य कविन्द्र भट्टले पछिल्लो समय अर्थात् शनिबार ५४ मुलुकका तीन सय नौ जना विदेशी नागरिक काठमाडौं हुँदै आफ्नो गन्तव्यस्थलतर्फ लागेसँगै नेपाल छाड्ने विदेशीको संख्या पाँच हजार पुग्न लागेको बताए । उनले भने, ‘विभिन्न मुलुकका नेपालस्थित दूतावासले समन्वय गर्दै आफ्ना नागरिकहरु लैजाने क्रम निरन्तर चलेको छ ।’

त्रिभुवन विमानस्थलका अनुसार नेपालमा रहेका ५४ देशका तीन सय नौ जना नागरिक लिनको लागि कतार एयरवेजको वाइडबडी विमान आएको थियो । विमानस्थलका एक अधिकारीका अनुसार नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको सो जहाज काठमाडौंबाट कतारको दोहा हुँदै पेरिसको लागि उडेको थियो ।

गत शनिबार मात्रै फ्रान्ससहित युरोपेली मुलुक, अमेरिका, दक्षिण अफ्रिका, इजरायल, क्यानडा, अष्ट्रेलिया गरी ५४ मुलुकका नागरिक आफ्ना मुलुक फर्किएका थिए । त्यसअघि बेलायत, रसिया, जापान, कोरिया, बंगलादेश, माल्दिभ्स, भुटान लगायतका मुलुकका नागरिकहरु स्वदेश फर्किएका थिए । बोर्डका अधिकृत भट्टले फर्किने नागरिकहरुमा सबै विदेशी नागरिक भएको बताए । नेपाल आउने विदेशी नागरिक घुम्न, भेटघाट गर्नका लागि नेपाल आएका उनको भनाइ छ । जसमा नेपाली मुलुका गैरआवासीय नेपाली समेत छन् ।

अप्रिल २४ मा ७६ जना श्रीलंकन तथा अप्रिल २० मा एक सय १० जना रसियन नागरिकहरु नेपालबाट आफ्नो मुलुक फर्किएका थिए । उनीहरु क्रमशः श्रीलंकन एयर र रोयल फ्लाई विमानमार्फत स्वदेश फर्किएका हुन् । यस्तै अप्रिल १९ मा १८ जना माल्दिभियन, १४ अप्रिलमा ३४ जना ब्राजिलियन तथा १३ जना बंगलादेशी, १७ अप्रिलमा दुई सय २८ जना ब्रिटिश र १८ अप्रिलमा दुई जना भुटानी नागरिक आफ्नो मुलुक फर्किएका थिए । उनीहरु क्रमशः नेपाल एयरलाइन्स, ड्र्युक एयरलाइन्स, टाइटन एयरलाइन्स, बुद्ध एयरबाट आफ्नो देश फर्किएका हुन् ।

यस्तै अप्रिल ११ मा दुई सय सात जना क्यानेडियन, १० अप्रिलमा दुई सय ८६ जना जापनिज, एक सय ७५ जना कोरियन, दुई सय सात जना बेलायती तथा ८ अप्रिलमा दुई सय ८६ जना जर्मनी र दुई सय ५० जना बेलायती नागरिक रहेका थिए । उनीहरु क्रमशः कतार एयरलाइन्स, टाइटन एयरलाइन्स, कोरियन एयरलाइन्स र नेपाल एयरलाइन्समार्फत आफ्नो मुलुक फर्किएका हुन् ।

यस्तै ५ अप्रिलमा तीन सय तीन जना अमेरिकी नागरिक आफ्नो मुलुक फर्किएका थिए भने सोभन्दा अघि एक हजारभन्दा बढी विदेशी आफ्नो मुलुक फर्किएको बोर्डले जनाएको छ । अप्रिल ४ अघि नै छ सय छ जना जर्मन, तीन सय पाँच जना फ्रेन्च, तीन सय दुई जना अमेरिकी, दुई सय ५७ जना अष्ट्रेलियन र एक सय २२ जना डच नागरिक गरेर कुल एक हजार पाँच सय ९२ जना विदेशी स्वदेश फर्किएका थिए ।

अध्यागमन विभागले भने हाल गैरआवसीय नेपाली (एनआरएन)सहित नेपालमा करिब १७÷१८ हजार जना पर्यटक नेपालमा रहेको जनाएको छ । विदेशबाट आएका एनआरएन तथा विशुद्ध पर्यटक गरी हाल नेपालमा उक्त संख्यामा पर्यटक रहेको विभागको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार लकडाउनको अवधिमा हालसम्म अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० भन्दा बढी उडान भएको छ । विदेशी नागरिकहरुलाई गन्तव्यस्थान पु-याउन तथा विदेशबाट मेडिकल सामग्री लिनको लागि सो उडान भएको हो । लकडाउनसँगै सरकारले मुलुकका विभिन्न स्थानमा रहेका विदेशी नागरिकलाई विभिन्न मुलुकका दूतावाससँग समन्वय गरी काठमाडौं ल्याई स्वदेश फर्काउने काम गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया