उत्कृष्ट पाँच इन्टेग्रिटी आइकन नेपाल सार्वजनिक
काठमाडौं । अकाउन्टबिलिटी ल्याब नेपालले उत्कृष्ट पाँच इन्टेग्रिटी आइकन नेपाल २०२३ सार्वजनिक गरेको छ । यस वर्षको उत्कृष्ट पाँचमा हेमा थापा, नीरा अधिकारी, पद्मनाथ आत्रेय, प्रतिक राई र रबिना महर्जन परेका छन् ।
संस्थाले विगत १० वर्षदेखि इन्टेग्रिटी आइकनमार्फत सार्वजनिक संयन्त्रभित्रका उत्कृष्ट कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्दै आइरहेको छ । यस वर्ष इन्टेग्रिटी आइकनका लागि देशभरिबाट ४६६ मनोनयन प्राप्त भएको आयोजकले जनाएको छ । प्राप्त मनोनयनहरूबाट निर्णायक समितिले यस वर्षका पाँच जना इन्टेग्रिटी आइकनको छनौट गरेका थिए । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशीराज दाहाल, पूर्र्वसचिव जीवनप्रभा लामा र प्राध्यापक तथा आईआईडीएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा सुचेता प्याकुरेल रहेका थिए ।
इन्टेग्रिटी आइकन २०२३ का लागि छनौट भएकी हेमा थापा नारायणी अस्पताल, वीरगञ्जकी अस्पताल नर्सिङ निरीक्षक हुन् । उनले २८ वर्षदेखि सो अस्पतालमा काम गरिरहेकी छन् । हेमालाई चिन्नेहरू कसैले उनलाई असहायको सहारा ठान्छन् । उनको कामको मूल्याङ्कन गर्दै उनलाई एनआईसीयूको जिम्मेवारी दिइएको थियो । उनले सरकारी मापदण्ड पूरा हुनेगरी दुई वर्षमा अक्सिजन पाइपलाइनदेखि कंगारु आमा हेरचाह इकाईसम्म स्थापना गरेर एनआईसीयूमा हुनुपर्ने सबै मापदण्ड पूरा गरेकी थिइन् । २०७८ सालदेखि उनी एकद्वार संकट व्यवस्थापन केन्द्रको फोकल पर्सनको रूपमा पनि काम गरिरहेकी छन् । उनले नेतृत्व लिएको सात महिनामा वीरगञ्ज अस्पताल स्थित एकद्वार संकट व्यवस्थापन केन्द्रले सरकारले तोकेको मापदण्ड पूरा गरेको थियो ।
यस्तै, नीरा अधिकारी महिला तथा बालबालिका विभागकी निर्देशक हुन् । उनले अपाङ्गमैत्री नीति तथा अपाङ्गता अधिकार ऐनमा महिलाको अधिकार स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । अहिले विभागलाई उनी कागजरहित कार्यालय बनाउने अभ्यासको नेतृत्व आफैँ गरिरहेकी छन् । विभागले ल्याउने कार्यक्रमहरूका लागि सार्वजनिक परीक्षणको ढाँचा परिवर्तन गरेकी छन् ।
यसैगरी पद्मनाथ आत्रेय शितोष्ण बागवानी विकास केन्द्र, मार्फा, मुस्ताङका बागवानी विकास अधिकृत हुन् । उनी सेवाग्राहीका प्रिय सरकारी कर्मचारी बन्न सफल भएका छन् । दुई कारणले सेवाग्राहीले उनलाई पच्छ्याउने गरेका छन् । एउटा, उनी कृषकलाई उपयोग सामग्रीहरू सबैले बुझ्ने भाषामा भिडियो, पुस्तक र सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक गरिदिन्छन् । अर्को कारण, सेवाग्राहीलाई आवश्यक पर्दा सकेसम्म जुनसुकै माध्यमबाट जुनसुकै समयमा सहजै उपलब्ध भइदिन्छन् । यस्तै, उनी नेपालमा उच्च उत्पादन दिने स्याउका गुणस्तरीय बिरुवा टिस्युकल्चर प्रविधिबाट नेपालमै पहिलोपटक मुस्ताङमा उत्पादन गर्दैछन् ।
अर्का आईकन प्रतिक राई, जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत हुन् । उनी सकेसम्म सेवाग्राहीले सरल सेवा पाउन र सेवा प्रवाहमा नियम कानुनको पालना होस् भन्ने चाहन्छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा
- कागेश्वरी मनहरा घटना: मृतक कृष्णका छोरा चिरेन घाइते अवस्थामा फेला
- फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान
- बजार परिसुचक २१ सय १५ बिन्दुमा
- मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए
- कान्तिलोकपथ एक हप्ताभित्र सञ्चालन गरिने
- हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति रायसीसहित नौ जनाको मृत्यु
- सरावल गाउँपालिकाको भौतिक प्रगति ८० प्रतिशत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया