Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगठमेल, टुर गाइड र लिली

ठमेल, टुर गाइड र लिली


काठमाडौं,भदौ १९
लक्ष्मण सिटौला
म पहाडको छोरो । पहाडमा जन्मी हुर्केको । मेरो सालनाल पहाडमै गाडिएको हो । पहाडसँग म परिचित र मसँग पहाड परिचित । कहिलेकाहीँ त यस्तो लाग्थ्यो बर्खाको भेलमा बगेको पहिरो म देखेसी चुपचापले बस्छ । मेरा बाबुआमा, दाजुभाइ, दिदीबहिनी सबैथोक पहाड हुन् । पहाड देउता मेरा लागि । भुमे, सिमे पुज्नुहुन्थो आमाले अनि पहाडलाई पूजा गर्नुपर्छ भन्ने कुरो मैले आमाबाट सिकेको थिएँ । मेरो घरभन्दा अलि पर ठूलो महादेव डाँडा थियो । त्यहाँ वर्षको दुई पटक पञ्चबली पूजा लाग्थ्यो । म बिहान ब्युँझेदेखि ननिदाएसम्म पहाडसँगै खेल्ने, बोल्ने, चल्ने, दगुर्ने गर्थेँ ।

एक दिन एकाएक पहाडबाट पढ्न भनेर मेरा बाबुले मलाई सहर ल्याउनुभो । पहाडबाट छुट्टिएर आएँ । सहरमा पहाड छैन । सहरमा पहाडको स्नेह र जुनेली रात पनि छैन । सहरमा पहाडको शीतलता र शान्ति छैन । सहरमा छिमेकीको माया र न्यानोपन छैन । सहरमा कसैसँग अपनत्व छैन । सहर एक्लो छ । सहर दुःखी छ । सहरमा म एक्लो । पहाडमा पहाड एक्लो । हामी दुई कहिलेकाहीँ बिहानको उज्यालोमा परैबाट वार्ता गथ्¥योँ । हुस्सु फाटेपछि शिवपुरी हेरेर म बेस्सरी रुन्थेँ ।

ठमेलको उकालोमा मेरो कोठा । हरि साहुले घरमा थुप्रै परेवा पालेका थिए । पहाड छोडेर आएपछि हरि साहुको छतमा भएका परेवाको हुलसँग मेरो मन रमाउन थाल्यो । गाउँबाट एक महिनालाई भनेर बोकेर ल्याएको चामल पन्ध्र दिनमै स्वाहा ! शान्ति विद्यागृह लैनचौरमा ९ कक्षामा अध्ययन गर्थेँ ।

हरि साहुको घरमा एकजना ट्राभल एजेन्सी चलाएर बसेका दाइ थिए कृष्ण लामिछाने । फुर्सद मिलेको समयमा म ठमेल चाहार्थेँ । त्यहाँ खुकुरी बेच्ने एकजना बिनोद दाइसँग मेरो दोस्ती थियो । तिनले खुकुरी बेचेर दिनकै एक÷दुई सय डलर कमाउथे । मलाई भन्थे, ‘ह्या तँ पनि मसँगै खुकुरी बेच्ने गर, पढ्नेहरूले पनि के लछारपाटो लाएका छन् र ? काठमाडौँ गेस्ट हाउसअगाडि तिनी उभिएर खुकुरी बेच्थे । बाबुले स्कुलमा भर्ना गरेको ६ महिनासम्म त नबिराई स्कुल गएँ । तर पछि स्कुल बङ्क गर्न थालेँ । हप्ताको दुई तीन दिन स्कुल बङ्क गरेपछि सरहरूको गाली खान थालेँ । बाबुआमाको कहिले गाली नखाएको म । सहरको एकिहोरो गालीले आजित भएँ र अन्त्यमा स्कुल सधैंको लागि छोडेँ ।
स्कुल छोडेपछि म तिनै बिनोद दाइसँग खुकुरी बेच्न थालेँ । बिनोद दाइले दिनको दशवटा खुकुरी बेचिस् भने तलाई पाँच सय दिन्छु भने । १५ दिनसम्म खुकुरी बेच्दा मलाई बिनोद दाइले पाँच हजार दिए । म दंगदास हुन थालेँ । घरको आर्थिक अवस्था पनि बिग्रेको थियो । बाबुलाई पैसा पठाइदिएँ । आमा जहिले पनि पुरानो र फाटेको फरियाचोलोमा मेलापर्व गरेको देखेको थिएँ । आमालाई लुगाफाटो र भाइलाई खानेकुरा पठाइदिएँ । गाउँबाट बाबु सहर नआएको धेरै भाथ्यो । म जागीर पनि भएको भन्दिनु भनेर पैसा लुगाफाटो लिएर जाने ढुक्कुर कान्छाको छोरालाई खबर पठाएँ ।

पढ्न छोडेपछि म फुलटाइम ठमेलको गल्लीमा खुकुरी बेच्न थालेँ । खुकुरी बेच्दाबेच्दै मलाई अंग्रेजी पनि अलिक बोल्न आयो । चौध÷पन्ध्र वर्षको खाइलाग्दो पहाडमा हुर्की बढेको लरक्क परेको लोर्के ठिटो म । अलिअलि जुँघाको रेखी बसेको । रातोपिरो अनुहार । पहाडजस्तै अटेरी र जिद्दी स्वाभावको थिएँ म ।

काठमाडौँ गेस्ट हाउस अगाडि उभिएर खुकुरी बेच्थेँ । त्यही अगाडि मनास्लु ट्राभल एन्ड ट्रेक अफिस थियो । त्यहाँका प्रोपाइटर थिए पोखराका जगन्नाथ । त्यहाँ रहँदाबस्दा उहाँसँग मेरो चिनजान भएको थियो । उमेरले मभन्दा उनी दाइ थिए । खुकुरी बेच्दा–बेच्दा वरिपरिका पसलेहरूसँग म परिचित भएको थिएँ । जगन्नाथ दाइले कहिलेकाहीँ बोलाएर कफी पिलाउँथे । पहिलोचोटि कफीको स्वाद चखाउने मलाई जगन्नाथ दाइ नै थिए । जगन्नाथ दाइको पसल कौलअगाडि जितेन्द्रजीले खैरेलाई तन्ना बेच्थे । उनले तन्ना बेचेर घडेरी जोडिसकेका थिए । उनी पनि स्कुल बङ्क गर्दारहेछन् । मसँग राम्रै चिनजान भयो ।

असोजको महिना थियो । ठमेल कुइरेले खचाखच भरिन थालिसकेको थियो । आठ÷दश जना कुइरेकुइरिनीलाई अघिपछि लगाएर ब्रोकन अंग्रेजी बोल्दै हिँड्ने केही टुर गाइडलाई चिनेको थिएँ । तिनले मस्त पैसा कमाउँछन् भनेर मलाई तिनै तन्ना बेच्ने जितेन्द्र दाइले भनेका थिए । अलिक अंग्रेजी बोल्न जानेपछि मलाई पनि ती खैरेखैरिनीको टुरिष्ट गाइड भएर यिनलाई घुमाउन मन लागेको थियो । एकदिन त कसो मनको धोको पूरा नहोला भनेर सोची बस्थेँ ।

टुरिष्ट गाइड बन्न त नेपाल पर्यटन बोर्डले लिने जाँचमा सामेल भएर पास गरेपछि मात्रै टुरिष्ट गाइडको प्रमाण दिनेरहेछ । आफू त ९ कक्षा पनि पास नगरेको परेँ । त्यो सपना मैले त्यागिदिएँ । एक दिन मनास्लुका जगन्नाथ दाइले मनु भाइ तपाईं दशैँअगाडि अन्नपूर्ण बेसक्याम्प जाने दुईटी अमेरिकन केटीहरूको भरिया भएर जानुहुन्छ ? भनेर सोध्नुभयो । उहाँले फेरि दोहो¥याउनुभो, अमेरिकन ती केटीहरूले तपाईंको खुकुरी किनेका रहेछन् मन प¥योरे मिल्छ भने त्यो केटालाई भरिया बनाएर पठाइदेऊन भनेका छन् ल भन के गर्छौ त ?

दाइको कुरा सुनेर म छक्क परेँ । अल्मल परेँ । खोइ कस्तो कस्तो पो अनुभूति भो मलाई । गाइड बन्ने धोको तर भरियाको पो अफर आउँछ । ती केटीहरूलाई खुकुरी बेचेको याद आयो । खुकुरी बेच्दा धेरै बार्गेनिङ गर्नुपरेको थिएन । खुरुखुरु पैसा तिरे तर खुकुरी कहाँ बनेको भनेर सोधपुछ चैँ गरे । मैले भोजपुरमा भन्दिएको थिएँ । दुईचोटि फर्की फर्की आएका थिए ।

‘विल यु बि हेयर टिल दि इभिनिङ ?’ भनेर सोधेका थिए ।
मैले बडा फुर्तिलो भएर ‘एस एस’ भन्देको थिएँ । दुई गोरीहरूले खुब हेरेका थिए । अहिले आएर पो थाहा भो ।
सात दिनको टुर थियो । टुर गाइड नलिकन जाने रे । जगन्नाथ दाइले भाइ तिम्लाई ती केटीहरूले जसरी नि मिलाइदेऊ भनेका छन् । राम्रै पैसा दिन्छु जाऊ भने ।

तिनीहरूले तिम्लाई मनपराका छन् टिप्स पनि राम्रै दिन्छौँ भनेका छन् । जाऊ भनेपछि मैले पनि नाइँ भन्न सकिनँ । सत्ताईस÷अठठाईस वर्षका जवानीले धपक्कै बलेका दुई गोरीहरूबीच बसेँ म । ठमेल गणेशमान चोकबाट बा.अ.च. ११३३ नम्बरको टुरिष्ट बस पोखरातिर हुइँकियो । बाबुले सहर ल्याएर छोडेको ठीक ९ महिनापछि मैले बल्ल पहाड देख्न पाउने भएँ । पहाडको सुगन्ध र खुला आकाशको मजा लिन पाइने भैयो । यही कुरा मनमा सञ्चित थियो मेरो ।

डिएर मनु ! डोन्ट फिल यु आर आवर पोर्टर सोनियाले भनी ।
यस मनु यु आर आवर बेस्ट गाइड, बेस्ट फ्रेन्ड लिलीले बोली ।
यु आर सो इनोसेन्ट ।
यु नो नोथिङ बट यु आर ह्यन्डसम बोइ ।
होप यु विल गाइड अस प्रफेक्टली ।
दुईटी लगातार बोलेपछि मैले पनि केही त बोल्नुपर्छ भन्ने सोचेँ ।
इटिज माइ फ्रस्ट भिजिट टु पोखरा एन्ड अन्नपूर्ण बेसक्याम्प बट नो वरिज आइ क्यान डु ।
वाउ डिएर मनु एस यु क्यान डु ।
पहिलोचोटि केटीहरूको बीचमा बसेर गफिँदै बसको यात्रा गर्दै थिएँ । कतिको जवाफ मैले फर्काएँ । कति त तिनले मेरो आँखामा हेरेर बुझँे । जे बोले पनि उनीहरूले मेरो वाक्य सहजै बुझिहाल्थेँ । मन आत्तिएको पनि छ । आधा खुशी आधा छटपटी अलिकति संकोच अलिक बदमासी मन लिएर थानकोट काटियो । बस सिंगो रिजर्भ थियो । बसचालक र खलाँसी अगाडि बसेका थिए । उसो त चालकलाई पनि अलिअलि अंग्रेजी आउँदोरहेछ ।

गजुरी पुगेपछि चालकले रेस्ट गरु भन्यो । घाम अस्ताउनुभन्दा अगाडिको पहाडी दृश्यले मलाई कस्तो रोमाञ्चक अनुभूत गराएको थियो । लिली र सोनिया क्यामरा झिकेर फोटो लिन थाले । तिनले पहाडभन्दा पनि मेरो फोटो बढी खिचे ।
चालक दाइ आएर मेरा कान फुके, ‘मनु भाइ यिनीहरूलाई यहाँ केही सामान किनाउन लगाउनुस् न तपाईं हामीलाई कमिसन आउँछ ।’
पहिलोचोटि थाहा पाएँ, सँगै गएका टुरिष्टले केही सामान किने भने गाइडलाई कमिसन आउँछ भनेर । मैले केही पनि किनाइनँ । यस्तो गर्नु÷गराउनु वाहियात लाग्यो ।

डिएर मनु लेट्स ह्याभ समथिङ
ओके ? लिली अलिक भोकाएकी देखिन्थी । हामी रेस्टुरेन्टमा खान गयौँ । मलाई वाइवाइ चाउचाउ मन पथ्र्यो । सबलाई त्यही मगाएँ । सोनियाले तीन बोतल बियर मगाई । साहुजीले फटाफट बियर खोल्यो । सोनिया लिली र म भित्री रुममा बसेका थियाँै । विदेशी भनेसी अलिकति राम्रो सम्मान गर्दारेछन् । चालकहरू बाहिर थिए ।

अहिलेसम्म मैले बियर पिएको थिइनँ । संकोच लाग्यो । आइएम बिलोङ्सटु हाइएर कास्ट नो बियर प्लिज । मेरो कुरा सुनेर लिली खित्का छोडेर हाँसी । सोनिया अचम्मित भैरहेकी थिई । यस्तो लाग्यो कि बियर नपिउने मान्छे उनीहरूले पहिलो पटक देखिरहेका थिए ।
मिस्टर मनु थापा बियर इज लाइक वाटर, टेक इट आज मच आज यु क्यान नो प्रोब्लम । गणेशमान चोकमा बस छुटनुअघि जगन्नाथ दाइले भनेको कुरा सम्झिएँ  । मनु बाबु तिमी भरिया होइन टुरिष्ट गाइड भएर जाँदै छौ, कुनै पनि कुराको संकोच नमान्नू । यिनीहरूको मज्जाले सेवा गर्नु केही परे म जिम्मेवार छु । अतिथि देवो भवः ।

बोतलबाट बियर गिलासमा खन्याइदिई लिलीले । म अझै दोधारमा थिएँ । वास्तवमा मैले पो सेवा गर्नुपर्ने थियो तर ती दुईले पो मेरो सेवा गर्न थाले । पानीजस्तै त हो नि भनेसी मैले पनि पिएँ मज्जाले । भोक लाग्याथ्यो बियर र चाउचाउ खाइयो । कस्तो रमाइलो लाग्यो । उनीहरूले पनि मज्जाले पिए । हामी तीनै जनाले मस्त रमाइलो ग¥यौँ ।

मेरो कपाल अलि घुमिर्किएको थियो । मेरो मतलव अलि कर्ली परेको । लिलीले मेरो कर्ली परेको कपाल सुमसुम्याइरही । हामी गाडीमा चढयौँ । चालक दल अघि बसे । सोनियाभन्दा लिली अलिक चञ्चले थिई । हिस्सी परेकी थिई । उसले हाँस्दा गालामा खाल्डा पथ्र्याे । बँैशले मदमस्त थिए दुवै । पूर्णिमाको अघिल्लो दिनको जुनेली आकाशजस्तो पूरै मातले मात्तिएका ।

मैले कहिले पिएको थिइनँ । पिउँदा अर्कै मजा हुँदोरहेछ । मनको संकोच बिस्तारै हराउँदै गयो । रक्सी लागेको बेलामा मान्छेले किन अंग्रेजी बोल्छ भनेको थाहा भो आज ।

असोज महिना यसै त रमाइलो । दशैँ नजिक थियो । झ्यालबाहिर यसो हेरेँ । मुग्लीन बजार आइसकेको थियो । लिलीले रेस्टरुम जान खोजी । ऊ अघिदेखि मसँग निकै नजिकिएर गफ गर्दै थिई । एक होटेलको बाथरुम लिएर गए लिलीलाई ।

बाटो क्रस ग¥यो । लिलीले मेरो हात समाई र भनी, ‘डिएर मनु यु आर रियल्ली काइन्ड हार्टेट म्यान आइ लाइक यु’

मैले केही बोलिनँ । गाडी बाटोमै थियो । रात छिप्पिँदै गयो । त्रिशुली नदीलाई छोडेर अब हामी आँबुखैरीनी हुँदै अगाडि हिँड्यौ । टुरिष्ट गाडी लक्जरियस थियो । लिली मेरो काँधमा भुसुक्कै निदाई । सोनिया मेरो काँधमा निदाएकी लिलीलाई देखेर जेलियस भएको जस्तो लाग्यो । तर मैले उसलाई हटाउन सकिनँ । लिली निदाई । बाटो सुनसान थियो । सोनियाले मलाई हेरेर लामो श्वास फेरी अनि एक्कासी एउटा प्रश्न गर्छे, ‘मनु आर यु भर्जिन गाइ ?’

हुवाट यु मिन सोनिया ? मैले बुझिनँ के भनेकी हो सोनियाले ?
आइ मिन डिड यु हाभ सेक्स बिफोर ?
ओ यु मिन ड्याट ? नेभर एभर
केटीको मुखबाट पहिलोचोटि यस्तो खालको प्रश्नले मभित्रको मनु अचम्मित भयो । यी कुइरिनीहरूलाई यति बोल्नु भनेको चिया पिएजस्तै हो मनु भाइ । चालक धेरै अनुभवी रेछन् । उनी हरेक हप्ता पोखरा आउँदारेछन् ।
डन्ट बि सिरियस मनु टेक इट इजी एन्ड इन्ज्योइ विथ अस ओके ?

लिली ब्यँुझिई । हामी पोखरा पुग्यौँ । रातको करिब दश बजेको थियो । बुकिङ गरेको होटेलमा पार्टी चलिरहेको रहेछ । रुममा गयौँ । उनीहरू नुहाउन गए । म एक्लो सोफामा बसेर खोइ केके सोच्न थालेँ । डबल ब्ल्याक ह्विस्की र तीन सफा गिलासले स्वागत गरिरहेको थियो । अघि बियर पिएको नसा उत्रिसकेको थियो । लिली नुहाएर मुस्कुराउँदै बाथरुमबाट निस्किई ।

हे मनु आर यु लुकिङ सो सिरियस म्यान प्लिज नोनो आइ एम ओके लिली जगन्नाथ दाइले यिनलाई जसरी पनि सेवा पु¥याउनु भन्नुभाको कुरा सम्झिएँ । लिलीले फ्रेस रुमाल मेरो काधमा राखिदिई र भनी, ‘मनु गो फर बाथ, इफ यु निड एनि हेल्प प्लिज कल मी ।’
नुहाउन गएँ । सोनिया पनि नुहाएर निस्की । दुईवटा बाथरुम थियो । ठूलो कोठामै दुई बेड थिए । हतारले नुहाएँ । नुहाएर निस्किँदा ह्विस्की गिलासमा थियो । लिली र सोनिया पिउँदै थिए । चालक दललाई अलि सस्तो होटेल बुक गरिदिएको रहेछ । थकाइ लागेको थियोे । खाना रुममै ल्यायो वेटरले । हामी तीनैजना नसामा झ्याप थियौँ । एकले अर्काको जुठो पनि खायौँ । तर निकै रमाइलो महसुस हुँदै गयो रात । उनीहरू दुवै गीत गाउँदै नाच्न थाले । म पनि के कम थिएँ र कम्मर हल्लाउन थालेँ ।

मैले तिनको सेवा होइन तिनले चै मेरो सेवा गर्न थाले । यस्तो लाग्न थाल्यो कि यिनीहरूसँग मेरो वर्षौँदेखिको चिनारी थियो । उनीहरू एक बेडमा सुते । म अर्को बेडमा कतिबेला निदाएँ थाहै भएन । एकैपटक खुला झ्यालको फक्लेटाबाट छिरेको बिहानी किरणले गालामा म्वाइ खाँदा पो झल्यास ब्युँझिए । गालामा तातो आयो । किन गालामा तातो आयो भनेर छामेको सूर्य पो छ त नजिक ।

डिएर मनु गुड मर्निङ भन्दै लिलीले तातो चिया हातमा थमाइदिई । उनीहरू फ्रेस भैसकेका रहेछन् । चिया पिएपछि लिलीले ब्रस तुथपेस्ट र फ्रेस तौलिया हातमा थमाइदिई र भनी, ‘मनु प्लिज टेक सावर विथ हट वाटर  । तर मलाई तातोपानी निकाल्नै आएन । लिलीले ढोका ढकढक गरी । साबुनले कपाल भिजाइसकेको थिएँ । तर धन्न हाफ पाइन्टमै थिएँ । चुकुल खोलिदिएँ । लिलीले तातोपानी निकालिदिई । कताबाट झुक्किएर लिलीको जिउमा अलिकति साबुन त लागिगो । ऊ हाँस्दै डोन्ट लक योर डोर भन्दै निस्किई ।

पोखरा, हेम्जा, फेदीखोला, पोखरीटोल, कुलडाँडा, अस्ट्रेलियन क्याम्प, नर्थफेस सबै घुमेर हामी अन्नपूर्ण बेसक्याम्पमा रमाउन थाल्यौँ । सेतो हिमालय पर्वतले मुसुक्क हासिरहेको जस्तो भान हुन्थ्यो । म पहाडको थिएँ । मलाई देखेर पहाडी हावा पनि चञ्चलिन थाले । लिली म र सोनिया यति नजिक भयाँै कि फूल र हावाजतिकै नजिक । मैले जिन्दगीमा पहिलोचोटि प्रकृतिसँग प्रेम मिलेको देखेँ । हिमाल देखेपछि लिली र सोनिया त पागल नै हुँदारहेछन् । एउटा हिमाली रुख युरिकेरियाको फेदमा थियौँ लिली, म र सोनिया । हावाको झोक्काले फुरफुर पारिरहेको मेरो कर्ली कपालमा लिलीले छोई । गालामा छोई । चिसोले गाला रातो भाको थियो । लिली जोडले कराई, ‘डिएर मनु वी लभ यु सो मच’ आवाज पारिसम्म पुगेर प्रतिध्वनित हुँदै हामीतिरै फर्केर आयो । सोनियाले मलाई न्यानो नर्थफेसको जाकेट लगाइदिई । लिलीले मेरो निदारमा म्वाइ खाई । प्रकृतिले हामी तीनैलाई मदहोस बनायो । सत्र वर्षको गाउँले केटो पहिलोचोटि प्रेमको अनुभूत गरेँ मैले लिली र सोनियासँग । निदारमा म्वाइ खाएपछि लिलीले भनी, ‘मनु लभ इज नट फर लस्ट, लभ इज नट फर फन, लभ इज नट फर सेक्स, लभ इज नट फर इज्याकुलेसन, इट इज फर टुगेदरनेस एन्ड वे अफ हाभिङ गड’ खोइ कति बुझेँ मैले लिलीको प्रेमको परिभाषा ।

पढ्न छोडेर यो काममा लागेको भनेपछि लिलीले दुःख फिल गरी । यता काठमाडौँ आएपछि लिली आफैँ मेरो स्कुल गई । मेरा सरहरूलाई भेटी र मेरो एक वर्षको फी तिरिदिई । त्यो दिनदेखि मैले मिहिनेतले पढ्न थालेँ । आज मेरो ठमेलमा क्युरियो पसल छ । मलाई प्रेम, सेवा, आनन्द, सम्मान, र आतिथ्यता सिकाउने मेरी गुरुआमा लिली नै हो ।
हाम्रो भेट नभएको धेरै वर्ष भएको थियो । एकदिन मेरो पसलमा अमेरिकाबाट फोन आयो, हेलो इज दिस मनु ?
एस दिस इज मनु स्पिकिङ
ओ दिस इज स्मिथ । सन अफ लिली
प्लिज टु मिट यु स्मिथ
सि इज नो मोर इन दिस वल्र्ड, आइ विल कम टु भिजिट नेपाल सुन
ओ सो सरी एबाउट लिली । प्लिज मिट मि ह्विेन यु कम
फोन राखेपछि बेस्सरी रोएँ । दस वर्षअघि एयर्पोटबाट छुट्टिएर जाँदा लिलीले मलाई एउटा खाम दिएकी थिई । त्यो खाम मैले अहिलेसम्म खोलेको थिइनँ । लिलीको मृत्युको खबरले मलाई साह्रै पोल्यो । के रेछ त्यो खाम खोलेर हेरेँ ।
खाममा लिलीले मेरो स्कुलको हेडसरलाई सम्बोधन गरेर लेखेको पत्र थियो ।
डिएर हेड सर, मनु इज भेरी जेन्टल बोइ । प्लिज टेक किएर हिम एन्ड हि विल नेभर बङ्क हिज क्लास फ्रम नाउ अन’
पत्रभरि आँसु झर्यो र छोप्यो मेरो आसुले, लिलीले लेखेका प्रेमका अक्षरहरूलाई ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया