रोजगारी सृजना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न राष्ट्रपतिको सुझाव
काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग व्यवसायको विकासमार्फत रोजगारी सृजना र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न निजी क्षेत्रलाई सुझाव दिएकी छिन् । राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार शीतलनिवासमा पुगेका नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाईसहित कार्यकाल सफलताको लागि शुभकामना दिँदै उनले भनिन्, ‘हामीसँग पर्याप्त सम्भाव्यता भएर पनि हामी पछि परेका छौँ, प्राकृतिक स्रोत साधनमा हामी धनी छौँ, बजारका लागि कुनै समस्या छैन तै पनि पर्याप्त लगानी आउनसकेको छैन, अहिले पनि हामी अरुकै भर पर्नुपर्ने परिस्थिति छ ।’
रोजगारीका लागि बाध्य भएर बाहिर जानुपर्ने परिस्थितिलाई कसरी अन्त्य गर्न सकिन्छ यसमा गम्भीर भएर लाग्न उनले निजी क्षेत्रलाई सुझाइन् । चुलिँदो व्यापार घाटाप्रति पनि राष्ट्रपतिले चिन्ता व्यक्त गरिन् । ‘हर कुरामा हामी बाह्य देशसँग निर्भर रहनुपर्ने अवस्था छ र यो अवस्थालाई कसरी ब्रेक गरी आफ्ना लागि आवश्यक वस्तु आफैँ उत्पादन गर्न सक्छौँ, त्यसमा सिंगो मुलुक नै गम्भीर हुन जरूरी छ’, उनले भनिन् । स्वदेशी लगानी आकर्षण राज्यको प्रमुख प्राथमिकता हुनुपर्ने र स्वदेशी लगानी आकर्षण हुन सकेमामात्र बाह्य लगानी समेत आकर्षित हुने हुँदा कृषि, ऊर्जा, पर्यटन क्षेत्रको विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकार निजी क्षेत्र सहकार्यमा राष्ट्रपतिले जोड दिइन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचनसहितको पदाधिकारी प्रतिनिधिमण्डलले राष्ट्रपतिसमक्ष महासंघको नयाँ नेतृत्वले सम्मानित निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि महासंघ विशेष लक्ष्यसहितको भिजन पेपर तयारीमा लागेको जानकारी गराएको थियो ।
भेटमा अध्यक्ष गोल्छाले साना तथा मझौला उद्यमलाई कोभिडको प्रभावबाट बाहिर ल्याउन सबैभन्दा बढी सहयोग आवश्यक हुने भन्दै यसका लागि कोभिड पुनरूत्थान विशेष कार्यक्रम आवश्यक भएकोमा जोड दिएका थिए । साना मझौला व्यवसाय चल्नसके भने ठूला उद्योग स्वतः चल्न सक्ने हुँदा सरकार तथा राष्ट्र बैंकले ल्याएका राहतका कार्यक्रमको प्रभावकारी कार्यान्वयन निजी क्षेत्रले खोजेको उनले बताए । साथै उनले महासंघले ल्याउने भिजन पेपरमा एसएमइजको पुनरूत्थानका लागि विशेष सुझाव समेटिने जानकारी गराए ।
लाखौँ युवाहरू बेरोजगार रहेको र उनीहरूको व्यवस्थापन यतिखेर मुलुककै लागि चुनौती रहेको सन्दर्भमा महासंघको भिजन पेपरले वार्षिक चार लाख युवाका लागि रोजगारी सृजना गर्ने र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य लिएको स्पष्ट पार्दै अध्यक्ष गोल्छाले महासंघले विज्ञहरू समेतको सहयोगमा आम सरोकारवाला पक्षहरूसँग छलफल गरी उक्त पेपर सार्वजनिक गरिने र सरकारबाट स्वीकृति लिएर सहकार्यमा लगिने योजना रहेको राष्ट्रपतिसमक्ष जानकारी गराए ।
अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक वृद्धिदर एक प्रतिशतभन्दा कम हुने प्रक्षेपण भइरहेको सन्दर्भमा समग्र अर्थतन्त्रलाई थप बिग्रिन नदिन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेकोमा जोड दिए । भेटवार्तामा महासंघका पदाधिकारीहरूले अहिलेको संकटको अवस्थामा तुलनात्मक लाभका क्षेत्रहरू जस्तो कृषि, पर्यटन, पूर्वाधार निर्माण, ऊर्जा लगायतका क्षेत्रसँग जोडिएका राष्ट्रिय गौरवका आयोजनाहरू छिटो सम्पन्न गर्न पहल हुनुपर्ने, मुलुकभित्र उपलब्ध प्राकृतिक स्रोत साधनको समुचित विकासमार्फत आर्थिक विकास, रोजगारी सृजनामा सरकारको ध्यान जानुपर्ने, संस्थागत सोचअनुरुप विकासका कार्यक्रमअगाडि बढाइनुपर्ने, लगानी सुरक्षा र नीतिगत स्थायित्वलगायतका विषयमा जोड दिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया