कच्चा पदार्थको भन्सार मूल्यांकन गरी स्यानिटरी प्याड आयात
स्यानिटरी प्याड आयातमा उद्योगी सारडाको झेल
काठमाडौं ।
कोभिडको त्रासबाट बिस्तारै लयमा फर्कन थालेको उद्योग व्यवसायलाई केही उद्योगी तथा व्यवसायीले कमाउ धन्दाको रूपमा प्रयोग गरेका छन् । पछिल्लो केही समयदेखि उद्योगी तथा व्यवसायीले भारतमा निर्मित स्यानिटरी प्याडलाई भन्सार मूल्यांकन कम गरी नेपाल भित्र्याउन थालेका छन् ।
सरकारले स्थानीय निकायहरूबाट स्यानिटरी प्याड खरिद गरी निःशुल्क वितरण गर्न भन्दै आर्थिक वर्ष ०७७/०७८ मा ठूलो मात्रामा बजेट विनियोजन गरेको थियो । त्यसपछि उद्योगीहरूले भारतमा निर्मित स्यानिटरी प्याडको आयातमा वृद्धि गरेका हुन् । सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालनमा रहेका स्यानिटरी प्याड उद्योग र केही ट्रेडिङ फर्महरूले विराटनगर भन्सार नाका हुँदै कच्चा पदार्थको भन्सार दररेटमा तयारी स्यानिटरी प्याड आयात गरिरहेका छन् ।
स्रोतका अनुसार प्याड आयात गर्ने व्यवसायीहरूले भन्सार जाँचपासमा कच्चा पदार्थ वा तयारी स्यानिटरी प्याड के हो भन्ने कुरा प्रज्ञापनपत्रमा समेत उल्लेख नगरी आयात गर्ने गरेका छन् । त्यसकै सिको गर्दै स्वयं उद्योगीले समेत उद्योगलाई आवश्यक कच्चा पदार्थको सुविधा भन्दै सुविधाको दुरूपयोग गर्न थालका छन् । तर ती उद्योगीले आफूले आयात गरेको स्यानिटरी प्याडको प्रज्ञापन पत्रमा कच्चापदार्थ वा तयारी प्याड के आयात गरेको हो भन्ने कुरा समेत नखोली २० प्रतिशतको भन्सार सुविधामा तयारी प्याड नै आयात गरेको दाबी समाचारस्रोतले गरेको छ ।
उद्योगीले कच्चा पदार्थ आयात गर्दा उद्योगले तोकिएको भन्सार महसुलको २० प्रतिशत मात्रै राजस्व तिरे पुग्ने व्यवस्था सरकारले गरेको छ । सोही कारण उद्योगीले यही प्रावधानमा टेकेर तयारी स्यानिटरी प्याडलाई नै कच्चा पदार्थ भन्दै धमाधम आयात गरेको भन्सार प्रज्ञापन पत्र फेला परेसँगै अनधिकृतरूपमा भारतबाट स्यानिटरी प्याड आयात भएको रहस्य खुलेको छ ।
भारतमा निर्मित होस् वा चीनमा निर्मित होस् तयारी स्यानिटरी प्याड आयात गर्दा प्रतिगोटा चारदेखि छ रुपैयाँसम्म भारतीय मुद्रा भन्सार दर कायम गरिएको छ । तर विराटनगरमा सञ्चालन रहेको जस्मीन हाइजिन प्रोडक्टले भारतमा बनेको स्यानिटरी प्याडलाई प्रतिकेजी एक रुपैयाँ १२ पैसा मूल्य कायम गरी प्याड आयात गरेको पाइएको छ । भारतको के.ए. इन्टरप्राइजेजले विराटनगरमा सञ्चालित जस्मीन हाइजिन प्रोडक्टलाई बिक्री गरेको टेक्स इन्भ्वाइस बिल सार्वजनिक भएपछि उक्त रहस्य खुलेको हो । जस्मीन हाइजिन प्रोडक्टले उक्त आयात प्याड भन्सार जाँचपास गर्दा प्रयोग गरेको एचएस कोड ९६१९००१० को प्रयोग प्रज्ञापनपत्रमा भरिएको छ ।
उक्त एचएस कोडअनुसार प्रतिगोटा चार रुपैयाँदेखि छ रुपैयाँसम्म (भारु) भन्सार मूल्यांकन कायम गरिएको छ । उक्त उद्योगले औद्योगिक कच्चा पदार्थको घोषण समेत प्रज्ञापनपत्रमा नगरी एक रुपैयाँ १२ पैसामा भन्सार जाँचपास गरी लाखौँ राजस्व छली गरेको दाबी समाचारस्रोतले गरेको छ । उक्त एचएस कोडअनुसार आयात वस्तुमा औद्योगिक कच्चा पदार्थको आयात नै हुन नसक्ने दाबी स्रोतले गरेको छ । औद्योगिक कच्चा पदार्थ आयातका लागि अरु नै एचएस कोड प्रयोग हुने कुरा उच्चस्रोतले बताएको छ ।
नेपालमा भारत र चीनबाट तयार गरिएका स्यानिटरी प्याड भित्रिने गरेको दाबी व्यवसायीको छ । तयारी सामग्रीलाई कच्चा पदार्थ देखाउँदा फाइदा हुने भएपछि उद्योगीले पछिल्लो समय उत्पादनभन्दा पनि आयातलाई नै प्राथमिकता दिएर आयात गरिरहेका छन् । विराटनगरको विशाल ग्रुपले दर्ता कायम गरेको ट्रेडिङ फर्म युनाइटेड डिस्ट्रिव्युटर र सारडा समूहको जस्मीन हाइजिन प्रोडक्टले अपेक्षा गरेको भन्दा बढी नै स्यानिटरी प्याडको आयात गरिसकेको दाबी समेत स्रोतले गरेको छ ।
आन्तरिक राजस्व कार्यालय विराटनगरमा अनिल सारडा र मधुसुदन सारडाको नाममा ३०१६४५४४१ मा दर्ता गरी सञ्चालन गर्दै आएको जस्मीन हाइजिन प्रोडक्टको प्याड आयात प्रज्ञापनपत्र र भारतीय कम्पनीसँग खरिद गरिएको बिल सार्वजनिक भएपछि स्यानिटरी प्याड आयातमा भएको कमाउ खेल सार्वजनिक भएको छ । उद्योग दर्ताका लागि आफ्नै सहोदर भाइको नाम उल्लेख गरेको भए पनि त्यसका मुख्य सञ्चालकमा पुनित सारडा रहेको कुरा बताइएको छ ।
उद्योग सञ्चालक मधुसुदन सारडा लामो समयदेखि भारतको दिल्लीमै बसेर काम गर्दै आएको कुरा थाहा भएको छ । उद्योग सञ्चालनमा अनिल सारडा र पुनित सारडा हावी हुनेगरेको कुरा जानकार व्यवसायीले बताएका छन् । अझ सेटिङ र स्यानिटरी प्याड आयातका लागि अग्रपङ्क्तिमा पुनित सारडाकै सेटिङ चल्ने गरेको कुरा केही स्यानिटरी प्याड व्यवसायीले नै जानकारी दिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया