कतारले बढायो सबै कामदारको न्यूनतम तलब, नेपाली श्रमिकलाई पनि फाइदा
दोहा ।
कतारमा रहेका सबै कामदारले अबदेखि प्रतिमहिना तलब न्यूनतम दुई सय ७५ अमेरिकी डलर पाउने भएका छन् । यो भनेको नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको प्रतिडलर ११५.७२ रुपैयाँ विनिमय दरअनुसार नेपाली ३१ हजार आठ सय २३ रुपैयाँ हो । सोही विनिमयअनुसार यसअघि श्रमिकले २३ हजार आठ सय ३८ रुपैयाँ ३२ पैसा हाराहारीमा न्यूनतम तलब पाउँदै आएका थिए ।
खाडी देश कतारले शनिबारदेखि प्रस्तावित उक्त न्यूनतम तलब कार्यान्वयनमा ल्याएको स्थानीय मिडियालाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएका छन् । कतारले श्रमसम्बन्धी कानुन संशोधन गर्दै न्यूनतम तलबको सीमा बढाएको हो । कतारमा सन् २०२२ मा विश्वकप फुटबल आयोजना हुँदै छ । एएफपीका अनुसार कामदारमाथि श्रम शोषण गरेको भन्दै अन्तर्राष्ट्रिय रुपमा आरोप लागिरहेका बेला कतारले न्यूनतम तलब बढाएको हो । यो तलब अगस्ट ३० बाट नयाँ श्रम सम्झौता भएका सबै कामदारको हकमा अनिवार्य लागू हुनेछ भने अहिले रोजगार सम्झौता भएकाहरुको हकमा पनि अनिवार्य भएको छ ।
नयाँ तलबमानअनुसार घरेलुसहित सबै कामदारलाई पूर्णकालीन कामको प्रतिमहिना तलब एक हजार रियाल अर्थात् दुई सय ७५ अमेरिकी डलर रोजगारदाताले दिनुपर्नेछ । पूर्णकालीन काममा कामदारले प्रतिघण्टा कामको लागि १.३० अमेरिकी डलर पाउनेछन् । यसबाहेक रोजगारदाताले श्रमिकलाई कि ओछ्यान (सुत्ने सुविधा) कि भने थप आठ सय रियाल प्रतिमहिना अतिरिक्त रकम खानालगायतको लागि दिनुपर्नेछ ।
यसअघि अस्थायी न्यूनतम तलब प्रतिमहिना सात सय ५० रियाल अर्थात् दुई सय छ अमेरिकी डलर रहेको थियो । कतारी सरकारी समाचार संस्थाले जनाएअनुसार त्यहाँको श्रम मन्त्रालयले नयाँ न्यूनतम तलबमान शनिबारदेखि कार्यान्वयनमा आएको घोषणा गरेको हो । तर श्रमिकको पक्षमा वकालत गर्दै आएको समूह माइग्रेन्ट राइट्सले भने नयाँ तलबमान पनि निकै कम भएको र यसले कतारको उच्चस्तरीय जीवनयापनलाई नदेखाउने भन्दै आलोचना गरेको छ । यता कतारको श्रम मन्त्रालयले भने तलबमानमा भएको परिवर्तनले स्थानीय अर्थतन्त्रमा लगानी बढाउने र आर्थिक वृद्धिमा योगदान पुग्ने बताएको छ ।
‘यस क्षेत्रमा गैरभेदभावपूर्ण न्यूनतम तलबमान लागू गर्ने कतार पहिलो देश हो जुन देशको श्रम कानुन संशोधनको ऐतिहासिक शृंखलाको एक भाग हो’, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले कतारी सरकारको निर्णयलाई स्वागत गर्दै भनेको छ, ‘चार लाखभन्दा धेरै अर्थात् निजी क्षेत्रको २० प्रतिशत श्रमिकले यसबाट प्रत्यक्ष फाइदा पाउनेछन् ।’ सन् २०२२ मा विश्वकप फुटबल गराउन छनोट भएयता कतारले शृंखलाबद्ध रुपमा रोजगार कानुन संशोधन गर्दै आएको छ । कतारमा लाखौँको संख्यामा विदेशी आप्रवासी श्रमिकले काम गर्ने गरेका छन् । नयाँ तलबमानले त्यहाँ रहेका हजारौँ नेपाली श्रमिक पनि प्रभावित हुनेछन् । – एजेन्सी
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पर्यटन क्षेत्रका नीतिगत व्यवस्थालाई सुधार गरी लगानीमैत्री बनाउछौं: मन्त्री तामाङ
- महोत्तरीमा दिनहुँजसो आगलागी
- शुन्य दशमलव शुन्य सात अंकले उक्लियो सेयर बजार
- धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै
- आगामी बजेटले जोखिममा परेका महिला, बालबालिकालाई समेट्छ : मन्त्री चौधरी
- बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
- काठमाडौं महानगरद्वारा मटिहानीका आगलागी पीडितलाई १० लाख सहयोग
- छिमेकको छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया